ब्लगआइतबार, १२ जेठ , २०७६

बीपी–विचार र मदन–विचारको दोभान

कनकमणि दीक्षित

मुलुक अस्थिर बन्दै गएको खतरासामु ‘लेफ्ट’ र ‘डेमोक्र्याट’ संवादमा आउन ढिला भयो ।

बीपी कोइरालाको निधन भएको ३७ र मदन भण्डारी वितेको २६ वर्ष भइसक्यो । दुवै देशका राजनीतिक मार्गदर्शक हुन् । तर हाम्रो बौद्धिक धरातल तथा राजनीतिक धु्रवीकरण यस्तो छ, कोइरालालाई कांग्रेसी अगुवा र भण्डारीलाई एमाले नेतामै सीमित गरिने गर्छ ।

२००७ सालको राजनीतिक परिवर्तनमा केन्द्रीय भूमिका, धेरै वर्ष कारागार र प्रवास, तथा अन्तर्राष्ट्रिय छविका कारण एक हदसम्म पार्टीभन्दा माथि राखिन्छ नै, तर थोरै मात्र ।

मदनले रुढिवादी ‘कम्युनिजम्’ लाई मिल्काएर वाम शक्तिलाई लामो दूरीको यात्रामा लगे र नेपालको प्रतिस्पर्धी राजनीतिलाई ऊर्जा दिए, तर पनि उनको मूल्यांकन पार्टीकै नेताको सेरोफेरोमा छ ।

राणाशासनको अन्त्यदेखि आधुनिक युगको लोकतान्त्रिक सार्वभौम नेपाल निर्माणको काम विश्वेश्वरप्रसाद कोइरालाबाट भयो । सामाजिक न्याय र लोकतान्त्रिक समाजवादमा नेपाली राजनीतिको समर्पण उनकै देन मान्न सकिन्छ । यतिसम्म कि पंचायत, वाम र आजका दक्षिणपन्थी शक्ति समेत यही विचारधारा बोक्ने भए ।

मदन भण्डारीले कांग्रेसको खिलाफ र प्रतिक्रियामा उभिएको वाम जमातलाई ‘जनताको बहुदलीय जनवाद’ (जबज) दर्शन मार्फत आवधिक निर्वाचन, मानवअधिकार, व्यक्तिगत स्वतन्त्रता तथा दलको आन्तरिक लोकतन्त्रबाट बाँधे ।

एशियाका ‘कम्युनिष्ट’ पार्टीहरूको लागि नौलो कुरा थियो यो, र यसरी नेपालको मूलधार वाम शक्ति आयातित दर्शन नभई आफ्नै अभ्यासको आधारमा लोकतन्त्रीकरण भयो ।

दक्षिण एशियामा असान्दर्भिक भएका वाम दलहरूमाझ मदनकै कारण नेपालको लोकतान्त्रिक वाम बलियो गरी उभिएको छ । गत हप्ताको भारतको लोकसभा निर्वाचनको नतिजामा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) को लाजमर्दो परिणाम नियाले पुग्छ ।

बीपी–विचार र मदन–विचारको उत्पत्ति नितान्त फरक हुँदाहुँदै दुवैले नेपालको लागि लोकतान्त्रिक समाजवादको अपरिहार्यता दर्शाउँछन् । संविधानमा ‘समाजवाद उन्मुख’ लेखिनु तथा एमाले–माओवादी एकीकरणले नेकपा बनेपछि कसैको मनमा लागेको हुँदो हो — दार्शनिक मार्ग त अब छुट्टिसके ।

तर गतांकको हिमाल खबरपत्रिकाको आवरण सामग्रीले नै प्रष्ट पार्दछ कि संविधानको ‘समाजवाद उन्मुख’ ले लोकतान्त्रिक समाजवाद दर्शाउँछ, जहाँ राजनीतिक प्रतिस्पर्धा, खुला अर्थतन्त्र तथा सामाजिक न्याय रहन्छन् । ‘समाजवाद उन्मुख’ लाई अरू कुनै अर्थ लगाउनु बीपी र मदन दुवैको बाटो त्याग्नु हो ।

अहिले नेपाली कांग्रेसभित्र ‘बीपीको सपना’ प्रति ओठे प्रतिबद्धता मात्र छ र पनि बीपीको दर्शन त्याग्ने हो भने ऊ खोक्रो जमघटमा परिणत हुनेछ । उता, ‘नेकपा’ भित्र नेतृत्वको लडाइँ त होला, तर पार्टी ‘जबज’ को पथबाट बाहिर जानै सक्तैन, किनकि रुढिवादी, अपरिवर्तित कम्युनिष्ट दर्शन देशको लागि अशुभ हो भने पार्टीको लागि पतनको बाटो ।

धेरै खतरा परेका बेलामा कांग्रेस र वाम पृष्ठभूमिका चिन्तक, बौद्धिक, प्रबुद्ध नागरिक यसअघि पनि सँगै बसेका हुन् — २०४६ र २०६२/६३ सम्झे पुग्छ ।

बीपी र मदनको कुरा उठाउनुपर्ने कारण हो — राजनीतिक अस्थिरताको निकटतम सम्भावना । न्यूनतम राजनीतिक स्थायित्व स्थापित भयो भन्दाभन्दै नेपालको ‘पोलिटी’ लाई विभिन्न राजनीतिक, सामाजिक तथा भूराजनीतिक हावाहुरीले हिर्काउने देखिंदैछ । खतरा सामना गर्न बीपी–विचार र मदन–विचार बोक्ने दुई भँगालोबीच संवाद र सहकार्य आवश्यक भएको छ ।

भित्र र बाहिर मुलुकसामु चुनौती थपिएका छन् । एकातर्फ कम्युनिष्ट पार्टीको अधिनायकत्वमा लम्केको चीन छ, जसतर्फ नेपालले हात बढाएको छ । अर्कोतर्फ नरेन्द्र मोदीको लोकसभा निर्वाचनको दोस्रो पटकको विजयले पनि चुस्त कूटनीति निम्त्याएको छ ।

अन्तर्राष्ट्रिय मामिलामा नेपालको बौद्धिक वर्ग एक हुनुपर्छ जबकि हामी छरपस्ट छौं । नयाँ संविधान अन्तर्गतको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता सबैलाई संस्थागत गर्न पनि न्यूनतम वैचारिक एकताको खाँचो छ ।

रोजगारीको खडेरी, अर्थतन्त्रको मन्दी, समावेशी राज्यप्रणालीको अवहेलना, बसाइँसराइबाट बढ्दो अव्यवस्थित शहरीकरणले जन्माएको उकुसमुकुस, सामाजिक संजालले हुर्किएको उग्र लोकरिझ्याइँमा आधारित राजनीतिक माहोल, आदि कारण नेपालमा सामाजिक र आर्थिक अस्तव्यस्तताले विस्फोट निम्त्याउँदैछ होशियारी नगर्ने हो भने ।

यस्तो अवस्थामा मुख्यतः सँगै उभिनुपर्ने बीपी कोइराला तथा मदन भण्डारीका अनुयायीहरू नै हुन् । पृष्ठभूमि बेग्लै हुँदाहुँदै दुवैको ‘कोर दर्शन’ लोकतान्त्रिक समाजवाद नै भएको र आजको मुख्य खतरा दक्षिणपन्थबाट भएकोले भेटघाट बाक्लिनु पर्‍यो ।

अफसोच, बीपी र मदनका अनुयायीहरू अहिले आफ्नो–आफ्नो खोपामा सीमित छन् । यसको मुख्य कारण हो, दुइटा बौद्धिक वृत्तले आ–आफ्नो पार्टीगत विगत बिर्सन नसक्नु ।

एकातर्फ बीपी कोइरालाबाट दीक्षितहरु वाम बौद्धिकको नजरअन्दाज गर्दछन् भने मदन भण्डारी विचारमा प्रशिक्षित चिन्तकहरू आज ‘विचलित’ छन् । नेकपा माओवादी एकीकरणपछि आफ्नो पूरै राजनीतिक शिक्षा र अभ्यास असान्दर्भिक हुने हो कि भन्ने बुझाइ यिनको छ ।

धेरै खतरा परेका बेलामा कांग्रेस र वाम पृष्ठभूमिका चिन्तक, बौद्धिक, प्रबुद्ध नागरिक यसअघि पनि सँगै बसेका हुन् — २०४६ र २०६२/६३ सम्झे पुग्छ । तर त्यतिबेला निरंकुश राजतन्त्रको टड्कारो खतरा थियो । आजको खतरा राजदरबार जस्तो खुलेआम र केन्द्रीकृत हिसाबले छैन, सुषुप्त गरी नयाँ संविधानले दिएका संभावनाहरूलाई असफल पार्ने बाटोमा छ ।

नेपालको ‘डेमोक्र्याट’ र ‘लेफ्ट’ भनिने बौद्धिक जमातले आफ्नो दार्शनिक धरातल एउटै हो भनिकन एकापसमा संवाद गर्ने बेला भएको छ । एकअर्कालाई पिठ्युँ फर्काएर क्षितिज नियाल्ने हो भने कुनै पनि बेला सुनामी आएर तपाईं हामीलाई सोहोरेर लैजान सक्छ ।

प्रतिकृया दिनुहोस