याे साता / गत साता
तातोपानी नाका खुल्दै
१२ वैशाख २०७२ को भूकम्पपछि बन्द भएको चीनसँगको प्रमुख व्यापारिक मार्ग तातोपानी नाका संचालनमा आउने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले ९ जेठमा दूतावासमा पत्रकार सम्मेलन गरी भूकम्पले क्षति पु¥याएका संरचनाहरुको मर्मत पूरा भएकाले एक साताभित्रै नाका खुलाउन लागेको बताइन् ।
राजदूत यान्छीले ढिलोमा एक सातासम्ममा नाका खुलिसक्ने जानकारी दिइन् । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीले सहभागिता जनाउने क्रममा दुई देशबीच भएको सम्झौताबारे जानकारी दिंदै उनले भनिन्, “तातोपानी नाका नेपाल र चीनलाई जोड्ने महत्वपूर्ण सेतु हो, यसैले सक्दो छिटो खोल्ने हाम्रो प्रयास छ ।”
चीनले भूकम्पलगत्तै उक्त नाका बन्द गरेको थियो । नेपालले पटक–पटक आग्रह गरे पनि भूकम्पका कारण जोखिम रहेको भन्दै चीनले नाका खोल्न आनाकानी गर्दै आएको थियो ।
सगरमाथामा ४५० आरोही
यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण खुला भएको १०औं दिनसम्म ४५० आरोहीले सर्वोच्च शिखरको सफल आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार ९ जेठसम्म कम्तीमा ४५० आरोहीले सगरमाथाको आरोहण गरेको जनाएको छ ।
यो सिजनमा ३८१ पर्वतारोहीले आरोहणको अनुमति लिए पनि आरोहीका साथै शेर्पा गाइडसहित साढे ४०० ले आरोहण गरेको सगरमाथा आधारशिविरमा रहेका विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । ८ जेठमा मात्रै २०० हाराहारीले आरोहण गरेका थिए भने भोलिपल्ट झण्डै १२० ले चुचुरोमा पाइला टेकेका थिए ।
सफल आरोहीको यकिन संख्या भने २९ मेमा यो सिजनको आरोहण समाप्त भएर सबै ४६ जना सम्पर्क अधिकृतले पर्यटन विभागमा तथ्यांक बुझाएपछि सार्वजनिक हुने बताइएको छ ।
यसैबीच, कीर्तिमानी आरोही कामिरिता शेर्पाले २४औं पटक सगरमाथाको चुचुरो टेक्दै नयाँ कीर्तिमान रचेका छन् । सोलुखुम्बुको थामे गाउँका ४९ वर्षीय शेर्पाले एकै सातामा दुई पटक आरोहण गर्दै कीर्तिमान बनाएका हुन् ।
शेर्पा दोस्रो पटक ७ जेठमा चुचुरोमा पुगेका थिए । यसअघि उनले १ जेठमा आफ्नै कीर्तिमान तोड्दै २३औं पटक सर्वोच्च शिखरमा पाइला टेकेका थिए ।
भामको फिल्मलाई ६० हजार ग्रान्ट
फ्रान्सको पेरिसमा भएको ‘कान्स फिल्म फेस्टिभल’ मा नेपाली फिल्म निर्देशक मीनबहादुर भामले आफ्नो नयाँ फिल्मका लागि सहयोग रकम जितेका छन् ।
विश्वभरका फिल्ममेकरले निवेदन दिएका ५२ वटा फिल्मी परियोजनामध्ये उत्कृष्ट ६ भित्र पर्दै भामको ‘द इयर अफ कोल्ड’ (चिसो वर्ष) ले नर्वेजियन साउथ फिल्म फन्ड (सरफन्ड) बाट ६० हजार डलरको अनुदान सहयोग जितेको हो ।
उत्कृष्ट ६ प्रोजेक्टमा चार कथानक फिल्म र दुई वृत्तचित्र छन् । नेपालका साथै अफगानिस्तान, दक्षिण अफ्रिका, इजिप्ट, चीन र जर्जियाको फिल्मले अनुदान पाएका हुन् ।
यसअघि ‘कालो पोथी’ फिल्मको निर्देशन गरेका भामको आगामी फिल्म ‘द इयर अफ कोल्ड’ मा हराएका श्रीमान् खोज्न गर्भवती पेमा बौद्ध भिक्षुको साथमा एउटा लामो यात्रामा निस्किन्छन् ।
अन्ततः यात्राकै क्रममा उनीहरूको जीवन बदलिन्छ । कष्टपूर्ण यात्रालाई केन्द्रविन्दुमा राखेर पितृसत्तात्मक समाजमा महिलाको स्थान र जीवन संघर्ष कथामा समेटिएको छ ।
नर्वेजियन फिल्म इन्ष्टिच्यूटबाट सञ्चालित सरफन्डको मुख्य उद्देश्य विकासोन्मुख देशका फिल्म निर्माणका लागि सहयोग रकम जुटाउनु हो ।
कांग्रेसले बनायो छायाँ सरकार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार पार्टी सभापति शेरबहादुर देउवाले छायाँ सरकारको रूपमा काम गर्न मन्त्रालयस्तरीय समन्वय समिति बनाएका हुन् ।
ऊर्जा समितिको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्का, अर्थमा मिनेन्द्र रिजाल, गृहमा दिलेन्द्रप्रसाद बडू संयोजक तोकिएका छन् ।
यस्तै, शिक्षामा गगन थापा, शहरी विकासमा उमाकान्त चौधरी, खेलकुदमा किशोरसिंह राठौर, उद्योगमा मीन विश्वकर्मा, खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला संग्रौला, सञ्चार समितिको संयोजकमा बहादुरसिंह लामालाई तोकिएको जनाइएको छ ।
यसैगरी भूमिसुधारमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानून मन्त्रालयको समितिको संयोजकमा राधेश्याम अधिकारी तोकिएका छन् ।
छायाँ सरकारका मन्त्रीहरूले वर्तमान सरकार र मन्त्रीहरूले गरेका काम–कारबाही नियालेर खबरदारी गर्ने कांग्रेसले जनाएको छ ।