जाजरकोटका स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन
जाजरकोटका स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिइएको छ ।
महामारी फैलन सक्ने मौसम शुरु भएकाेले स्वास्थ्यकर्मीलाई बिदामा नबस्न परिपत्र गरिएकाे प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
विगत वर्षहरुमा याे माैसममा झाडापखाला, 'सिजनल फ्लु' लगायतका रोगका कारण जाजरकोटमा २०५० जनाको मृत्यु भएको थियो ।
२०६६ मा झाडापखालाका कारण १५३ जना, २०७१ को चैत र २०७२ वैशाखमा 'सिजनल फ्लु'का कारण २७ जना र २०७४ माघमा रुघाखोकीबाट १२ जनाको मृत्यु भएको तथ्यांक छ ।
अत्यावस्यक कामबाहेक बिदामा नबस्ने र बिदा लिनैपर्ने अवस्था आएमा वैकल्पिक व्यवस्था गरेर मात्र बिदा बिदा स्वीकृत गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।
जाजरकोटका धेरै गाउँमा मानिसहरु बिरामी हुँदा स्वास्थ्य संस्थाको साटो धामीझाँक्रीकहाँ जान्छन् ।
२०७१ मा खुल्ला दिशामुक्त घोषणा गरिएकाे भएपनि जाजरकाेटमा धेरैले शौचालय प्रयोग गर्दैनन् ।
सरकारी तथ्यांकमा जाजरकोटका ८७ प्रतिशत जनताको पहुँचमा शुद्ध खानेपानी पुगेको भनिएकाे छ तर ७५ प्रतिशत मानिसले दूषित पानी पिउने गरेको विभिन्न संघसंस्थाहरुको अध्ययनमा देखिएको छ । दूषित पानीकै कारण धेरैजसो सरुवा रोग फैलिने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
भौगोलिक रूपमा निकै विकट रहेको जाजरकोटमा ७७ वडा छन् । सरकारले एक वडा एक स्वास्थ्य संस्था बनाउने नीतिगत निर्णय गरिसकेको भए पनि ४२ वडा स्वास्थ्य संस्थाविहीन छन् ।
भएका ३५ स्वास्थ्य संस्थामा पनि दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएको वर्षौं भएको स्थानीयवासीको गुनासो छ।