ब्लगशनिबार, ११ जेठ , २०७६

औषधि तुलसी

हिमालखबर

तुलसीलाई हिन्दू परम्परामा विष्णु भगवानको प्रतीक मान्दै प्रायः हरेक घरमा रोप्ने गरिन्छ । घरमा तुलसीको मठ राखे सुख–समृद्धि हुने धार्मिक मान्यता त छँदैछ, यसको लाभ वैज्ञानिक रूपमा पनि प्रमाणित छ ।

तुलसीको पात । तस्वीरः जेरनोट काटजेर

तुलसीमा रहेको औषधीय गुण मानव स्वास्थ्यमा बहुउपयोगी मानिन्छ ।

यसै कारण आयुर्वेदमा यसलाई महत्वपूर्ण जडीबुटीको श्रेणीमा राखिएको छ । सामान्य प्रयोगमा गाउँघरमा रुखा–खोकी लाग्दा तुलसीका पात र दाना पकाएर खाने गरिए पनि यसको विविध औषधीय लाभबारे अनभिज्ञ हुने धेरै छन् ।

हामी आँगनको एक कुनामा तुलसी रोपेर यसको लाभ लिन सक्छौं । आँगनमा मठ राख्ने ठाउँ छैन भने कौसी वा छतमा पनि रोप्न सकिन्छ । यो सुगन्धित वनस्पतिले वायुमण्डलमा बहने दूषित हावालाई शुद्धीकरण गर्छ । तुलसी मात्र यस्तो वनस्पति हो, जसबाट आसपासको वातावरणमा विषाक्त कीटाणुनाशक गुण लगातार फैलिरहेको हुन्छ ।

तुलसीका पाँच प्रजाति भए पनि सेतो र कालो तुलसी प्रायः सर्वत्र पाइन्छ । यी दुई प्रजाति स्वास्थ्यका लागि लाभदायक हुन्छन् । वनस्पति विज्ञ डा. खेम भट्टराई तुलसीमा ‘एन्टीअक्सिडेन्ट’ नामक तत्व पाइने र यसले शरीरभित्र खानपान र प्रदूषणबाट उत्पन्न विकारलाई नष्ट पार्ने बताउँछन् ।

अध्ययन अनुसार ‘एन्टीअक्सिडेन्ट’ ले मुटुको समस्या, संक्रमण र कतिपय क्यान्सर हुने जोखिम घटाउन पनि सघाउँछ ।

तुलसीको पात, बीउ, हाँगा, जरा आदि सबैजसो भाग औषधीय गुणले भरिपूर्ण मानिन्छन् । आयुर्वेदमा तुलसीको प्रयोगको कैयौं विधि बताइएको छ । तुलसीको पात काँचै चपाएर पनि खान सकिन्छ । पातको चूर्ण बनाई अदुवा, मरिच आदि मिसाई चिया बनाएर पिउँदा फाइदाजनक हुन्छ ।

तस्वीर: उपकार भण्डारी

यसको उपयोगले पाचनक्रिया सक्रिय पार्ने, भोक जगाउने, झाडाबान्ता रोक्ने काम गर्छ । तुलसीको पत्ता र जिरा पिसेर दिनमा तीन–चार पटक खाँदा पखाला रोकिन्छ । “अजीर्ण, अरुचि जस्ता सामान्य समस्यादेखि मुटु, मिर्गौला, कलेजो जस्ता जटिल समस्यामा तुलसी उपयोगी हुन्छ”, डा. भट्टराई भन्छन् । उनका अनुसार तुलसीको पात सेवनले कलेजोको कार्यक्षमता बढाउँछ ।

तुलसीका चार–पाँच वटा पात चपाएर खाएमा पेटमा भएका कीरा नष्ट हुन्छन् । सासको दुर्गन्ध नियन्त्रणमा पनि तुलसीको पत्ताले फाइदा गर्छ । आयुर्वेद ज्ञाताहरूका अनुसार तुलसीले छालाका सबै प्रकारका समस्या हटाउन मद्दत गर्छ । तुलसीको रसले मालिस गर्दा हड्डीहरू बलियो हुन्छन् भने छालाका दागहरू हटाई चमक समेत बढाउँछ ।

चिसो लागेमा वा हल्का ज्वरो आउँदा तुलसीको पात, मरिच र मिस्री पानीमा राम्ररी पकाएर बनाइएको काढा पिउँदा फाइदा हुन्छ । यसले चिसोका कारण हुने छातीको दुखाइ र कफ घटाउँछ । तपाईं नियमित तुलसी सेवन गर्नुहुन्छ भने चिसो हत्तपत्त लाग्दैन ।

तातोपानीमा तुलसीलाई मिसाएर खाँदा टाउको दुखाइ, चिसोले नाक बन्द हुने समस्याबाट राहत मिल्छ । अध्ययनले खाली पेटमा नियमित दूधमा तुलसी मिसाएर खाँदा दम र श्वास–प्रश्वास सम्बन्धी रोगबाट छुटकारा पाउन सकिने समेत देखाएको छ ।

विभिन्न प्रकारका स्त्री रोगमा पनि तुलसी गुणकारी मानिन्छ । तुलसीको पत्ता र बीजको सेवनले मासिक स्रावको अनियमितता दूर गर्ने प्रमाणित भइसकेको छ । पुरुषहरूमा यौन दुर्बलता हटाउन तुलसीको बीजको नियमित सेवन प्रभावकारी हुने आयुर्वेदको अध्ययनमा उल्लेख छ ।

सुत्ने बेला तुलसीको पाँच ग्राम बीउ तातो दूधसँग पिउँदा शारीरिक कमजोरी हट्छ ।

कपाल झर्नबाट रोक्न पनि तुलसीको पत्ताको धूलो उपयोगी हुन्छ । यसले टाउको चिलाउने समस्या कम गर्छ, शिरको रक्तसंचार बढाउँछ, जसबाट कपालले पर्याप्त पोषण पाउँछ र कपाल झर्न दिंदैन ।

शरीरमा चोट लाग्दा तुलसीको पत्तालाई फिटकिरीसँग मिलाएर लगाउँदा घाउ छिटै निको हुन्छ । किनकि तुलसीमा एन्टी–ब्याक्टेरियल तत्व हुन्छ, जसले घाउ पाक्न दिंदैन । यस बाहेक तुलसीको पातलाई तेलमा मिलाएर लगाउँदा जलन पनि शान्त हुन्छ ।

तुलसीका यिनै बहुआयामिक फाइदाका कारण बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो उत्पादनमा तुलसीको प्रयोग गर्दै आएका छन् ।

 

 

प्रतिकृया दिनुहोस