भाेलि देशभरका अदालत बिदा
सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आइतबार सबै अदालतमा बिदा दिने निर्णय गरेको छ ।
सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले आइतबार शोक बिदा दिने निर्णय गरेको हो ।
बैठकपछि मुख्य रजिष्टार नृपध्वज निरौलाले जारी गरेको प्रेस विज्ञप्तिमा भोली देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा बन्द रहने जनाइएको छ ।
अल्जाइमर रोगका बिरामी खत्रीको ९ जेठमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।
मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधनभएका खत्रीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
ललितपुर जिल्लामा मेजर दिलबहादुर खत्री र आमा अप्सरादेवी खत्रीको सन्तानका रुपमा १९८० असोज ३ गते जन्मेका खत्री २०३३ साल साउन २४ गतेदेखि २०४२ मङ्सिर २५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर काम गरेका थिए ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश हुँदा उनको कार्यकालमा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्दै समग्र न्यायपालिकाको श्रीवृद्धिको उल्लेखनीय योगदान पुर्याएको चर्चा गरिन्छ ।
विस २००४ मा मुलुकी अड्डा ऐसवाल फाँटबाट सरकारी सेवामा प्रवेश गरेका पूर्वप्रधानन्यायाधीश खत्रीले २००९ सालमा कानून मन्त्रालयको सचिव हुँदै प्रधानन्यायाधीश भई न्यायको क्षेत्रमा योगदान दिएका थिए ।
२०३१ देखि २०३२ सम्म प्रेस काउन्सिल नेपालको अध्यक्ष भएका खत्री २०४३ सालमा चीनको लागि नेपाली राजदूत, २०५७ सालमा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष लगायतका महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरेका थिए ।
पढ्नुहाेस्