व्यक्तित्वशनिबार, ११ जेठ , २०७६

एक ‘पुस्तकालय’को अवसान

सम्झना : शान्ति मिश्र

हिमालखबर

– राजेश काेइराला

नेपालकी पहिलो महिला लाइब्रेरियन शान्ति मिश्रको गत १ जेठमा अमेरिकाको इन्डियानापलिस राज्यमा निधन भएको छ ।

राजेश काेइराला

उपचारका क्रममा अमेरिकामा रहेकी मिश्रलाई पित्तथैलीमा क्यान्सर भएको थियो । तर, अन्तिम क्षणमा हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

शान्ति मिश्र त्रिभुवन विश्वविद्यालयमा पूरा समय पढाउने पहिलो महिला प्राध्यापिका, त्रिवि केन्द्रीय पुस्तकालयको संस्थापक लाइब्रेरियन, अमेरिकाबाट पुस्तकालय विज्ञान (लाइब्रेरी साइन्स) मा एमए गर्ने पहिलो नेपाली महिला, र विशिष्ट श्रेणीमा रहेर सरकारी सेवा पुर्‍याउने पहिलो महिला हुन् ।

वि.सं. ७ असार १९९५ मा काठमाडौंको झोँछेमा जन्मिएकी शान्तिका पिता जानकीलाल श्रेष्ठ र माता कृष्णदेवी श्रेष्ठ हुन् । तीन दिदीबहिनी र एक भाइमध्ये शान्ति जेठी छोरी हुन् ।

शान्ति मिश्र

तत्कालीन सरकार र अमेरिकी सहयोग नियोग यूएसएआईडीका (त्यसबेला यूएसओएम भनिन्थ्यो) का केही शुभेच्छुकले त्रिभुवन विश्वविद्यालय देखे, पुस्तकालय देखेनन् । सहयोगका लागि मन खोले । करीब १ हजार २ सय किताब राखेर सन् १९५९ मा पुस्तकालय खुल्यो ।

उनले यही पुस्तकालयको विकासका लागि अमेरिकामा लाइब्रेरी साइन्स पढ्ने मौका पाइन् । २ वर्षको पढाइ एक वर्षमै सकेर नेपाल फिरिन् । त्यसअघि उनले कोलकाता विश्वविद्यालयबाट इतिहासमा एमए गरिसकेकी थिइन् ।

शान्ति पुस्तकालय प्रमुख भएका बेला सन् १९६९ मा ब्रिटिश बुक डेभलपमेन्ट ग्रुप आयो, र समूहले भन्यो, “यो पूर्वी एशियाका राम्रा पुस्तकालयमध्ये एउटा हो”, जसलाई बीबीसीले पनि प्रसारण गरेको थियो ।

त्यसपछि मुलुकका विशिष्ट पाहुनालाई घुमाउने ठाउँमध्येमा थपियो, त्रिवि पुस्तकालय । भारतका राष्ट्रपति जाकिर हुसैन, जापानी सम्राट अकिहितो, साम्राज्ञी मिचिको आदिलाई पुस्तकालय देखाइएको शान्तिका पति नारायणप्रसाद मिश्र सम्झन्छन्– राजा महेन्द्र, रानी रत्न, राजा वीरेन्द्र, रानी ऐश्वर्य आफैं पनि घुमेर हेरे ।

नारायण शान्तिका सहकर्मी थिए । विसं १५ वैशाख २०१७ मा नारायणप्रसाद मिश्रसँग उनको विवाह भयो । नारायण बाह्मण र शान्ति नेवार परिवार, त्यसबेला त्यो समाजमा अन्तर्जातीय विवाह सजिलो थियो ? भन्ने प्रश्नमा नारायणप्रसाद भन्छन्, “दुवैतिरको परिवार रिझाउन हामीलाई ७\८ वर्ष लागेको थियो ।”

विवाहमा अमेरिका, चीन, कोरिया, फ्रान्स, बेलायत आदिका राजदूत स्वयं उपस्थित हुनाले समाजले यो जोडीलाई सहर्ष स्वीकारेको, त्रिविका उपकुलपति रूद्रराज पाण्डे, रजिस्टार त्रैलोक्यनाथ उप्रेती आदिको गतिलो अभिभावकत्वमा विवाह भएको नारायणप्रसाद सम्झन्छन् । सन् १९७१ जनवरीमा छोरी जन्मिइन् । छोरी उनीहरूकी एकमात्र सन्तान हुन् ।

उनले करीब ३ दशक त्रिविमा काम मात्र गरिनन् । पति नारायणप्रसादसँग मिलेर ‘पुस्तकालय विज्ञानको रुपरेखा’ (वि.सं. २०३८) नामक पुस्तक लेखिन् ।

आफ्नो जीवन र संघर्षबारे उनको अंग्रेजी पुस्तक ‘भ्वाइस अफ ट्र्युथ : द च्यालेन्जेज एन्ड स्ट्रगल्स् अफ ए नेप्लिज वुमन’ भारतको दिल्ली बुक फेथ नामक प्रकाशनले निकाल्यो । महिलाको आत्मकथा भएको यति मोटो किताब त्यसअघि नेपालमा कसैको छापिएको थिएन । सन् १९९४ मा प्रकाशित भएको यो पुस्तक त्यो वर्ष सर्वाधिक बिक्री हुने दशमध्ये एक भएको थियो ।

उनले रुद्रराज पाण्डेको बहुचर्चित सामाजिक उपन्यास ‘रुपमती’ (सन् १९९९) को अंग्रेजी अनुवाद गरिन् । उनको अंग्रेजी उपन्यास ‘ए विडोज गिफ्ट’ (बनारसको पिल्ग्रिम्स पब्लिसिङ, सन् २००८) छापियो भने हालै पति नारायणप्रसादसँग लेखेको ‘त्रिवि केन्द्रीय पुस्तकालयको गौरवशाली कहानी र हाम्रो सेवा’ प्रकाशित भएको छ । शान्तिका पुस्तकहरू अनलाइन बिक्रेता ‘एमाजन’, ‘एबबुक्स’ मा अझै बेच्न राखिएका भेटिन्छन् ।

वि.सं. २०४९ मा सेवाबाट शान्तिले अवकाश लिइन् । मिश्र दम्पतीले सामाजिक काममा भाग लिइरहे । सन् २०१० मा पत्रकारिता र पुस्तकालय विज्ञानमा त्रिविमा स्नातकोत्तर तहमा प्रथम हुने विद्यार्थीलाई पुरस्कृत गर्न क्रमशः नारायण–शान्ति मिश्र स्वर्ण पदक र शान्ति–नारायण मिश्र स्वर्ण पदकका लागि ४ लाख ३३ हजार रुपैयाँको कोष स्थापना गरेका छन् ।

उनका थुप्रै लेख–रचना विभिन्न पुस्तक एवं पत्रपत्रिकामा प्रकाशित छन् । श्रीमती मिश्रले बंगलादेश, भारत, थाइल्यान्ड, फिलिपिन्स, सिंगापुर, मलेसिया, हङकङ, इरान, इजरायल, स्वीट्जरल्यान्ड, इटाली, फ्रान्स, बेलायत, अमेरिका, रुस, कोरिया, चीन, पोर्चुगल, भूटान, स्पेन, अष्ट्रेलिया आदि भ्रमण गर्ने अवसर पाइन् ।

धेरै देशी–विदेशी कार्यशालामा विभिन्न कार्यपत्र प्रस्तुत गरेकी श्रीमती मिश्र विभिन्न पुरस्कारबाट सम्मानित भइन् । नेपालमा पुस्तकालय निर्माण वा स्थापनामा मिश्र दम्पतीलाई अनुकरणीय व्यक्तिका रूपमा लिइन्छ ।

शान्तिले सन् १९७५ को अन्तर्राष्ट्रिय नारी वर्ष समिति नेपालको सदस्य–सचिव, अन्तर्राष्ट्रिय राइटर्स एशोसिएसन (पेन) को नेपाल शाखाको संस्थापक अध्यक्ष, मार्टिन चौतारीको अध्यक्ष, सञ्चारिका समूहको सल्लाहकार, सन् १९७७ मा संरासंघ साधारणसभामा नेपाली प्रतिनिधि मण्डलको सदस्य, भूटानमा आधुनिक पुस्तकालय निर्माणका लागि युनेस्कोको सल्लाहकार (सन् १९८५), रूद्रराज पाण्डे साहित्य सेवा समितिको उपाध्यक्ष आदिका रूपमा सामाजिक भूमिका पनि निर्वाह नगरेकी होइनन् ।

मिश्र संयुक्त राष्ट्रसंघीय महिला संगठन र एक्टिभ वुमन अफ नेपालको सम्मानार्थ सदस्यसमेत भएकी थिइन् । शान्तिको उपचारका लागि गत वर्ष जूनमा नारायण अमेरिका आए । तीन महीना भनेर आएका उनीहरूको बसाइँ लम्बियो ।

नारायण केही सयको संख्यामा नेपाली बस्ने इन्डियानापलिस राज्यको वेस्टफिल्डस्थित यतै बस्दै आएकी छोरीसँग शान्तिलाई सम्झदै दिन काट्दै छन् । ‘नेपाल फर्कनु’ उनका लागि पहाड भएको छ ।

(कोइराला अमेरिकामा निस्कने अक्षरिका नेपाली न्युजलेटरका सम्पादक हुन्।)

प्रतिकृया दिनुहोस