मर्यादित महिनावारी दिवस : पुरुष अग्रसरतामा जोड
महिनावारी महिलामाथि चर्काे विभेदको कारण बन्ने गरेकोमा महिलाहरुले दु:ख व्यक्त गरेका छन् ।
विश्व महिनावारी दिवसको अवसरमा आज ललितपुरकाे मंगलबजारमा विश्व महिनावारी दिवशको अवसरमा आयोजित कार्यक्रमका बक्ताहरुले यस्तो विभेद हटाउन पुरुष अग्रसरता अनिवार्य रहेकाे बताए ।
"महिनावारी हामी महिलाले अपमान सहने माध्यम बन्नु नेपाली समाजको ठुलो रोग हो" कार्यक्रमकी मुख्य वक्ता महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भनिन्, "यो त श्रृष्टिको शुरुआत हो ।"
उनले महिनावारी भएको बेला हुने विभेदबाट महिला पीडित भएपनि यस्तो विभेद हटाउन पुरुष अग्रसरता अनिवार्य देखिएको बताइन् ।
महिनावारीकाे बारेका भ्रम र अन्धविश्वास हटाउन पुरुष सहभागितामाथि जोड दिने संस्था एक्सपोज नेपालले आयोजना गरेको जनचेतनामुलक साईकल र्याली आयाेजना गरेकाे थियाे ।
काठमाडौंको बसन्तपुरबाट शुरु भएकाे साइकल र्याली काठमाडौं र ललितपुरका विभिन्न ठाउँ हुँदै पाटन मंगलबजारमा पुगेर सभामा परिणत भएको थियो ।
र्यालीकाे समापन सभालाई सम्बोधन गर्दै मन्त्री थापाले सरकारको विद्यालयहरुका छात्रा शाैचालयमा स्यानेटरी प्याड र परिवर्तन कक्ष राख्ने कार्यक्रम रहेको बताइन् ।
कायर्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाकी उपमेयर गिता सत्यालले महिनावारीलाई महिलाको प्रजनन् सक्षमताको रुपमा मात्र बुझिनुपर्ने बताइन् ।
उनले यसको नाममा हुने विभेदले महिलालाई आम रुपमा पछौटेपनको शिकार बनाएको बताँउदै भनिन्, "यो समाजको रोग हो, यसको समाधान महिलाले मात्र गर्न सक्दैनन् ।"
र्यालीमा सहभागी साईकल यात्रीले महिनावारी सम्बन्धी विभेद हटाउन पुरुष अग्रसरतामा जोड दिइएका प्लेकार्ड बोकेका थिए । सभास्थलमा महिनावारी विभेद विरुद्धका चित्रकला पनि प्रदर्शन गरिएको थियो ।
पश्चिम नेपालका कतिपय ग्रामीण इलाकामा अझै पनि महिलालाई महिनावारी भएको बेला दूध, माछामासु, फलफुल खान र घरभित्र पस्न समेत नदिइ छाउ गोठमा राख्ने कुप्रथा छ । शहरमा समेत महिनावारी भएको बखत महिलालाई सामाजिक र धार्मिक क्रियाकलापमा सहभागी हुन नदिने चलन कायम छ ।
यस्तो चलन विरुद्ध ७ बर्षदेखि अभियान चलाइरहेको एक्सपोज नेपालले महिनावारी स्वच्छताको लागि पुनः प्रयोग गर्न सकिने स्यानिटरी प्याड बनाउने तालिम दिनका साथै त्यस्तो प्याड वितरण समेत गर्ने गरेको छ ।
उक्त संस्थाले पेन्टिङ बिक्रि गर्ने, च्यारिटी पसलबाट भएको आम्दानीले पुन प्रयाेग गर्न सकिने कपडाको स्यानेटरी प्याड बनाएर वितरण गर्ने गरेको संस्थाका अध्यक्ष ज्ञान महर्जनले बताए ।