बैतडीमा एकसातामा १० जनाको मृत्यु
विभिन्न घटना तथा दुर्घटनामा परी बैतडीमा एक हप्ताको अवधिमा १० जनाको मृत्यु भएको छ ।
४ देखि ९ जेठ सम्म दुर्घटना, आगलागी र आत्महत्याका कारण उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सबैभन्दा बढी पाँच जनाको सवारी दुर्घटनामा ज्यान गएको बैतडीका प्रहरी प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए ।
तीन जनाको आगोमा जलेर मृत्यु भएको छ भने दुई जनाले आत्महत्या गरेका छन् ।
९ जेठमा गुडिरहेको जीपबाट हाम फाल्दा पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोलीको मृत्यु हो ।
८ जेठमा राति आगोमा जलेर पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती बिन्दा र आठ वर्षीय छोरा मनोजको मृत्यु भएको प्रहरीले जनाएको छ ।
६ जेठमा रुखमा झुण्डिएर दशरथचन्द नगरपालिका–१ गुरुखोलाकी २२ वर्षीया रञ्जु भट्टले आत्महत्या गरेका थिए ।
त्यसअघि ५ जेठमा दशरथचन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा जीप दुर्घटनामा दशरथचन्द नगरपालिकाका ६० वर्षीय हीराबल्ल भट्ट, ५३ वर्षीय लालमणि, ५० वर्षीय नारुली भट्टको घटनास्थलमै मृत्यु भएको थियो ।
४ जेठमा पाटन नगरपालिका–१० हतासका ७५ वर्षीय प्रमानन्द भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बैतडीमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढी छ । सवारी दुर्घटना बढीजसो चालककै लापर्वाहीले हुने गरेका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आत्महत्याका घटना पनि बैतडीमा बढी देखिएका छन् ।