भारतीय सत्तारुढ गठबन्धन एनडीएलाई ३५० सिट
लाेकसभा निर्वाचन २०१९ मा भाजपा र उसको गठबन्धन एनडीएले ३५० सिटमा जीत हासिल गरेको छ ।
भाजपाले मात्र ३०३ सिटमा जीत हासिल गरेकाे छ । जवाहरलाल नेहरु र इन्दिरा गान्धीपछि मोदी लोकसभामा लगातार दोस्रोपटक पूर्ण बहुमतका साथ प्रधानमन्त्री बन्नेछन् ।
२०१४ को लोकसभामा चुनावमा भाजपाले मात्र २८२ सिटमा विजय हासिल गरेको थियो । उसकाे गठबन्धन एनडीएले ३३६ सिट ल्याएको थियो ।
यसपालि भारतीय राष्ट्रिय कांग्रेस ५२ सिटमा सीमित भएको छ । २०१४ मा कांग्रेसले ४४ सिटमात्र ल्याएकाे थियाे । अहिले उसको गठबन्धनले ८५ सिटमा जीत हासिल गरेको छ ।
भारतमा यसपालिकाे लाेकसभा सदन पनि प्रमुख प्रतिपक्षविहीन बन्ने देखिन्छ । प्रमुख प्रतिपक्षका लागि १० प्रतिशत सांसद संख्या हुन आवश्यक पर्छ ।
२०१९ को बीजेपीको चुनावीमा लहरमा कांग्रेस अध्यक्ष राहुल गान्धी आफ्नो चुनाव क्षेत्र उत्तर प्रदेशको अमेठीमा पनि टिक्न सकेनन् । यो क्षेत्र उनको पारिवारिक गढ मानिन्थ्यो । उनी केरलको वायनाड क्षेत्रबाट विजयी भएका छन् ।
यो चुनावले ६८ वर्षीय नरेन्द्र मोदीलाई लोकप्रिय नेता बनाइदिएको छ । मोदीले वाराणसी क्षेत्रबाट ४ लाख ७९ हजार ५०५ भोटले जितेका छन् । पार्टी अध्यक्ष अमित शाहले गुजरातमा गान्धीनगर लोकसभा सिटबाट साढे पाँच लाख भोटले जितेका छन् ।
गठबन्धनले उत्तर प्रदेशका ८० सिटमध्ये ६२ सिटमा आफ्नो पकड जमाएकाे छ । मध्यप्रदेशमा पनि २९ सिटमध्ये २८ सिटमा गठबन्धनको जीत भएको छ ।
राजस्थानमा पनि २५ सिटमध्ये २४ मा बीजेपीको जीत भएको छ । गुजरातका २७ सिटमध्ये २३ मा जीत हात पारेको बीजेपीले ३ सिटमा पनि उही नै अगाडि रहेको छ ।
महाराष्ट्रमा २३ बीजेपी, १८ शिवसेनाले जितेका छन् । २०१४ माझैं अहिले बीजेपी र शिवसेनाको सरकार बन्ने देखिएको छ । बिहारमा ४० सिटमा गठबन्धनले ३९ सिट हात पारेको छ । १ सिटमात्र कांग्रेसलाई दिएको छ ।
झारखण्डका १४ सिटमध्ये गठबन्धनले १२ सिटमा विजय हासिल गरेको छ । छत्तीसगढमा ११ लोकसभा सिटमध्ये नौवटामा भाजपाले जीत हासिल गरेको छ ।
पश्चिम बंगालमा पनि बीजेपीले टीएमसीको किल्ला भत्काएको छ । यसलाई पनि बीजेपीले अभूतपूर्व भनेको छ । ४२ सिटमध्ये १८ वटा सिट बीजेपीले खोसेको छ ।
जीत हासिल गर्ने केही वरिष्ठ नेतामा– नरेन्द्र मोदी, राहुल गान्धी (वायनाड क्षेत्र), अमित शाह, सोनिया गान्धी, राजनाथ सिंह, नितिन गडकरी, मुलायम सिंह यादव, स्मृति इरानी, हेमा मालिनी, साक्षी महाराज रहेका छन् ।
यसैगरी अखिलेश यादव बरुण गान्धी, मेनका गान्धी, एमके कनिमोझी, रविशंकर प्रसाद, गौतम गम्भीर, साध्वी प्रज्ञा, जयाप्रदा, सुखवीरसिंह बादल, सनि देवल, हरसिमरतकौर बादल आदिले विजय हासिल गरेका छन् ।