पूर्वप्रधानन्यायाधीश खत्रीको निधन
पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वअध्यक्ष नयनबहादुर खत्रीको निधन भएको छ ।
अल्जाइमर्सका बिरामी खत्रीको ९९ वर्षको उमेरमा ललितपुरको मेडिसिटी अस्पतालमा बुधबार निधन भएको हो ।
एक्कासि असजिलो भएपछि अस्पताल पुर्याइएका उनलाई निमोनिया भएको डाक्टरहरूले बताएका थिए ।
उपचारका क्रममा उनको बुधबार निधन भएपनि परिवारिक स्रोतले बिहीबारमात्र जानकारी दिएको छ ।
उनी नेपालका छैटाै प्रधानन्यायाधीश हुन् । २०३३ देखि २०४२ सालसम्म ९ वर्ष सात महीना प्रधानन्यायाधीश बनेका उनले राणाकालदेखि नै कानूनी क्षेत्रको अनुभव संगालेका थिए ।
राणा शासनकालमा मुलुकी अड्डा ऐन सवाल फाँटमा काम गरेका उनी २००४ सालमा चीनको ल्हासाका लागि नेपाली वकिल बनेर गएका थिए ।
प्रजातन्त्र स्थापनापछि कानून सचिव भएका खत्री त्यसपछि उनी २०१६ सालमा न्यायाधीशका रूपमा सर्वोच्च अदालत छिरे र १६ वर्षपछि प्रधानन्यायाधीश भए ।
त्यसपछि २०३१ देखि २०३२ सम्म प्रेस काउन्सिल नेपालको अध्यक्ष भएका खत्रीले २०४३ सालमा चीनका लागि नेपाली राजदूत भएर पनि काम गरेका थिए ।
उनी २०५७ सालमा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष लगायतका महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरेका थिए ।