पाँचथर हत्याकाण्डः प्रहरीकै चूक
- लक्ष्मी गौतम, पाँचथर
३० वैशाखमा धनराज सेर्माको घरमा खाजा खाएर बिरामी परेका ८ जनामा सिसा मिसिएको नून खाएको पत्ता लाग्यो । बिडम्बना प्रहरीले घटनाको अनुसन्धान आवश्यक ठानेन ।
भनिन्छ– ‘श्रीमान् श्रीमतीको झगडा परालको आगो' हो । तर, पाँचथरमा यही परालको आगो परिवार विनाशको दावानल बन्यो ।
पाँचथरको मिक्लाजोङ गाउँपालिका–३ आरुबोटेका धनराज सेर्मा र उनका ससुरा बमकुमार फियाकका घरमा ६ जेठ राति ४ बालिकासहित ९ जनाको हत्या भयो ।
हत्यारा आशंका गरिएका बमकुमारका ज्वाइँ मनबहादुर माखिम भोलिपल्ट बिहान घटनास्थलदेखि ५ घण्टाको पैदल दूरीमा झुण्डिएको अवस्थामा भेटिए ।
धनराज सेर्मा (४१) को परिवारमा उनकी श्रीमती जस्मिता (३६), छोरी इक्सा (६), भाइकी छोरी (१३) योवना र मुना (८) को टाउको र शरीरका विभिन्न भागमा हतियार प्रहार गरी हत्या गरेपछि बाहिरबाट ढोका लगाइएको थियो ।
बमकुमार फियाक (७४) को घरमा उनीसहित श्रीमती फर्सीमाया फियाक (७१), छोरी मनकुमारी फियाक (२६) र बमकुमारकै नातिनी श्रेया (आशिका) खजुमको टाउको र शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरियो भने सोही घरमा सुतेकी बमकुमारकी अर्की नातिनी सीता खजुम (१२) मात्रै भागेर बाँच्न सफल भइन् ।
मुख छोपेर आएका व्यक्तिले सबैलाई खुकुरी हान्न थालेपछि भागेर काकी हजुरआमाको घरभित्र लुकेर बाँचेको सीताले बताइन् ।
सीता मध्यरातमा हस्याङ फस्याङ गर्दै आएर ढोका खोल्न भनेको छिमेकी कान्छीमाया फियाक बताउँछिन् ।
“ढोका खोल्नुस् बोजु सबैलाई सखाप पारिसक्यो, मलाई पनि सिध्याउँछ भनेपछि ढोका खोलेँ, पानी माग्दा माग्दै बेहोस भइन् । त्यसपछि रातभर एक्लै रुँगेर बसेँ ।”
सधैँ सबेरै उठ्ने छिमेकी पाँच बज्दासम्म नउठेपछि हेर्न जाँदा घरमा शव देख्दा गाउँलेलाई बोलाएको अर्की छिमेकी बुद्धमाया फियाक बताउँछिन् ।
रिसइबीको कारण
बमकुमारका चार छोरीमध्ये जेठी धनकुटाको राजारानीमा र कान्छी मोरङमा बस्छन् । हत्यामा संलग्न भनिएका मनबहादुर बमकुमारकै साइँला ज्वाइँ हुन् ।
मनबहादुर र बमकुमारकी साइँली छोरी मनकुमारीको ५ वर्षअघि प्रेमविवाह भएको थियो । विवाहपछि उनीहरूका दुई छोरी जन्मेर मरे । त्यसपछि मनकुमारी माइत आएर घर फर्किनन् ।
“श्रीमती माइत बसेको साढुभाइलाई मन परेको थिएन, पटक पटक आएर घर जाऊँ भन्थे, उनले मानिनन् । एक वर्षअघिदेखि सम्बन्ध विच्छेदको कुरो पनि चलेको थियो ।
त्यो कुरा पनि सालीनानीले स्वीकार गरिनन्, सायद यही कारण यत्तिका ठूलो घटना भएको हुन सक्छ”, बमकुमारका जेठा ज्वाइँ रणबहादुर तुम्सा भन्छन् ।
सुनियोजित हत्या
३० वैशाखमा हत्या गरिएका धनराज सेर्माको घरमा खाजा खाएका ८ जना बिरामी परेका थिए । बिरामी भएर उनका छोरीहरू मुना र योवना सहित ८ जनालाई सदरमुकाममा उपचार गरेर फर्काइयो ।
उनीहरूले खाएको खाजामा हालेको नूनमा सिसाको धुलो मिसाइएकाले बिरामी परेको तथ्य पत्ता लाग्यो । नूनमा सिसाको धुलो मिसाउने मनबहादुर नै हुन सक्ने पनि बमकुमारका आफन्तको आशंका छ ।
नूनमा सिसाको धुलो खाएका बिरामी घटना हुनुभन्दा दुई दिन अगाडि मात्रै डिस्चार्ज भएका थिए ।
बिरामी हुनासाथ जस्मिताको परिवारले वडा कार्यालय र प्रहरीलाई जानकारी पनि गराए तर प्रहरीले घटनालाई अनुसन्धान गर्न तत्परता देखाएन ।
“नूनमा सिसाको धुलो मिसाइएको विषयमा जानकारी आएको थियो, मैले प्रहरीलाई राम्रोसँग अनुसन्धान गरेर मुद्दा दर्ता गर्नुस् पनि भनेको थिएँ”, प्रमुख जिल्ला अधिकारी मुरारी बस्ती भन्छन् ।
“बिरामीले उपचारपश्चात फर्किने बेला मनबहादुरलाई नै लक्षित गर्दै सिसा मिसाएको पनि भनेका थिए । सायद उक्त घटनालाई गहन ढंगले अनुसन्धान गरेको भए यति ठूलो घटना हुने थिएन”, मिक्लाजोङ गाउँपालिका अध्यक्ष अमर माखिम भन्छन् ।
सिसा मिसाइएको काण्डमा प्रहरी चुकेकाले नै यति ठूलो घटना भएको भन्दै सर्वत्र आलोचना हुन थालेको छ ।
के हत्यारा मनबहादुर मात्रै हुन् ? कि उनले हत्यामा अरु कसैको सहयोग लिएका छन् ? आत्महत्या नै गर्नु थियो भने किन दुई घरका नौजनाको हत्या गर्थे ? भन्ने टिप्पणीसँगै आम नागरिकको सुरक्षाको प्रत्याभूतिको पनि प्रश्न पनि उठिरहेको छ । घटनापछि सिंगो गाउँ त्रासमा छ ।
यसअघि २०४९ सालमा पाँचथरको साविक लुङरुपा गाविसका कुवेरनाथ दुलाल सहित परिवारका ९ जना सदस्यको यसरी नै हत्या भएको थियो ।
उक्त घटनामा कुवेर परिवारका ५ जनाले ज्यान गुमाएका थिए ।