बाल यौन दुराचारीको अन्तर्राष्ट्रिय गिरोह पक्राउ, ५० बालबालिकाको उद्धार
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले बाल यौन दुराचारीहरूको एउटा अन्तर्राष्ट्रिय गिरोह पक्राउ गरेको छ ।
इन्टरपोलले लामो अनुसन्धानपछि गिरोहका नौ जना सदस्यलाई थाईल्यान्ड, अस्ट्रेलिया र अमेरिकाबाट पक्राउ गरेको छ ।
गिरोहका सदस्य पक्राउ परेपछि तिनको कब्जाबाट ५० बालबालिका मुक्त भएका इन्टरपोलले जनाएको छ। सो गिरोहबाट एक सयभन्दा बढी बालबालिका पीडित भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
कसरी पत्ता लाग्यो गिरोह
इन्टरपोलले एउटा गोप्य वेबसाइटमा १३ वर्षमुनिका ११ जना बालकको तस्बिर राखिएको भेटाएपछि सन २०१७ देखि सो बारे अनुसन्धान थालेको थियो ।
प्रहरीका अनुसार दुराचारीहरुले ‘डार्क वेब’ भनिने इण्टरनेटमा आधारित सञ्जालभित्र हप्तैपिच्छे त्यस्ता दृष्य अपलोड गर्थे । झन्डै ६३ हजार प्रयोगकर्ता भएको ‘डार्क वेब’मा भएका वेबसाइट र तिनका सामग्रीलाई प्रचलनमा भएका सर्च इन्जिनहरूले भेट्न सक्दैनन्।
‘अपरेशन ब्ल्याकरिस्ट’ नामक अभियानमार्फत चलाएर शुरु गरिएको अभियानमा अमेरिकाको होमल्यान्ड सिक्युरिटी इन्भेस्टिगेशन्स विभागले दुर्व्यवहार भएकाहरूको तस्बिर र भिडिओ राखिएको सो वेबसाइटको आईपी ठेगाना पत्ता लगाएको थियो।
१४६ वर्ष जेल
आईपी ठेगानाकाे आधारमा इन्टरपाेलले खाेजी गर्दै जाँदा वेबसाइटका प्रमुख एड्मिनिस्ट्रेटर मोन्ट्री सालान्गाम गत वर्ष थाईल्यान्डमा पक्राउ परे ।
त्यसको केही समयपछि रुएचा टोक्पुट्जा नामक अर्का व्यक्ति अस्ट्रेलियामा समातिए ।
आफ्नै नातेदारलाई शोषण गर्ने सालान्गामलाई थाईल्यान्डमा १४६ वर्षको जेल सजाय सुनाइयो। शिक्षण पेसामा संलग्न अर्का अभियुक्तले ३६ वर्षको सजाय पाए ।
अस्ट्रेलियामा शुक्रवार भएको आदेशमा टोक्पुट्जालाई ११ शिशु तथा बालकसँग दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर गर्दै ४० वर्षको जेल सजाय सुनाइयो।
बाल यौन दुराचारको मुद्दामा अस्ट्रेलियामा दिइएको यो सबैभन्दा लामो सजाय हो।
प्रहरीले टोक्पुट्जाका विद्युतीय उपकरणमा थाईल्यान्ड र अस्ट्रेलियामा खिचिएका हजारौँ तस्बिर फेला पारेको छ। तीमध्ये केहीमा उनी आफैँले दुर्व्यवहार गरेको देखिएको थियो।
बालबालिकाकाे पहिचान गर्न गाह्राे
तीनजना बाहेक पक्राउ परेका अन्य व्यक्तिको भने परिचय सार्वजनिक गरिएको छैन।
तर तीमध्ये केही अमेरिकामा भएको र सार्वजनिक पद धारण गरेको व्यक्ति भएको अमेरिकी सरकारका ब्याङ्ककस्थित प्रतिनिधि एरिक म्याक्लक्लिनले बताए।
प्रहरीले फेला पारेका दृष्यहरमा बालबालिकाको अनुहार छोपिएको हुनाले अनुसन्धानकर्तालाई पीडितहरू को हुन् भनेर पत्ता लगाउन समस्या भएको बीबीसीले जनाएको छ ।
पीडितमध्ये १५ महिने शिशु पनि छन्।