मोटरसाइकल किनबेचका लागि ‘भटभटे एप’
एएम नेपाल प्रालिले सेकेण्ड ह्याण्ड मोटरसाइकल किनबेचका लागि ‘भटभटे एप’ प्रयोगमा ल्याएको छ ।
यसमा मोटरसाइकल बेच्न चाहनेले सजिलै आफ्नो मोटरसाइकलको तोकिएको विवरण सो एपमा ‘पोष्ट’ गर्न सक्नेछन् । किन्न चाहनेले सीधै बिक्रेतालाई अनलाइन सम्पर्क गरेर खरीद गर्न सक्नेछन् ।
‘स्मार्ट एन्ड्रोइड’ फोन हुनेले ‘गुगल प्ले स्टोर’ र ‘आइफोन’ प्रयोगकर्ताले ‘एप स्टोर’मा गएर भटभटे एप जोकोहीले निशुल्क ‘डाउनलोड’ गरी ‘इन्स्टल’ गर्नसक्ने छन् ।
हाल यो निःशुल्क रहेको यो सेवा करीब ३० हजार प्रयोगकर्ताले एप डाउनलोड गरेपछि र दुई हजार बढी बेच्न चाहनेले मोटरसाइकल पोष्ट गरेपछि बिक्रेताले मोटरसाइकल पोष्ट गर्न प्रतिबाइक रु ५०० शुल्क तिर्नुपर्ने छ ।
हाल २० हजार प्रयोगकर्ताले यो एप प्रयोग गरिरहेका छन् । करीब हजारको हाराहारीमा मोटरसाइकल बिक्रीका लागि राखिएको छ । काठमाडौंलाई लक्षित गरिएपनि जहाँकहीँबाट एपको प्रयोग गर्न सकिन्छ ।
बेच्न चाहनेले मोबाइलमा एप डाउनलोड गरी आफ्नो ‘युजर रजिस्ट्रेसन’ गरेपछि ‘भेरिफिकेसन कोड’ मोबाइलमा आउने र ‘कोड एक्टिभ’ गरेर मोटरसाइकलको चारतर्फबाट खिचिएको फोटो आफैँ पोष्ट गर्नुपर्ने छ । त्यसमा मोटरसाइकलको मूल्य, नम्बर प्लेट, माइलेज, गुडेको किलोमिटर राख्नुपर्नेछ ।
किन्न चाहनेले उक्त लिस्ट हेरेर मन परेको मोटरसाइकल ‘क्लिक’ गरेपछि ‘डिस्प्लेमा विवरण देख्नेछ । मोटरसाइकल मन परेको खण्डमा रजिस्ट्रेसन गरेर ‘सेलर इन्फो’मा क्लिक गरेपछि बिक्रेताको विवरण आउने र त्यसबाट क्रेता विक्रेताबीच सम्पर्क भएर किनबेच सहज हुने बताइएको छ ।