‘जी–२०’ को बौद्धिक समूह बैठकलाई डा.महतले सम्बोधन गर्ने
विकसित राष्ट्रहरूको अन्तर्राष्ट्रिय मञ्च ‘जी–२०’ को बौद्धिक समूह बैठकलाई डा.महतले सम्बोधन गर्ने भएका छन् ।
बौद्धिक समूह टी–२० को शिखर बैठकमा सहभागी हुन नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत बिहीबार राति जापान गएका छन् ।
जापानको राजधानी टोकियोमा शुक्रबारदेखि चार दिनसम्म सञ्चालन हुने सो शिखर बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा.महतले बौद्धिक समूह बैठकलाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।
जी–२० समूहले दिगो विकासका लागि विश्वव्यापीरूपमा देखिएका चुनौतीहरूको समाधानका लागि आवश्यक सुझावहरू संकलन गर्न सो बौद्धिक समूहको गठन गरेको हो ।
सहमहामन्त्री डा.महतले ती चुनौतीहरूको समाधानका पक्षमा विश्वव्यापी सुशासन लगायत विषयमा नेपालजस्तो अति कम विकसित राष्ट्रहरूका तर्फबाट धारणा राख्नेछन् ।
सो बैठकमा जी–२० समूहका सदस्य राष्ट्रका तर्फबाट विशेषज्ञहरूको सहभागिता हुनेछ ।