देश सर्वमतले चल्ने भारतीय प्रधानमन्त्री मोदीको आश्वासन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार बहुमतले बने पनि देश सर्वमतले चल्ने बताएका छन् ।
भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन नेशनल डेमोक्रेटिक फ्रन्ट (एनडीए) लोकसभा निर्वाचनमा पुनः बहुमत हासिल गरे लगत्तैं पार्टी मुख्यालयमा आयोजित विजय सभालाई सम्बोधित गर्दै मोदीले उक्त आश्वासन दिएका हुन् ।
“हामीलाई अगाडि हेर्नु छ, सबैको साथ लिएर हिडनु छ”, मोदीले भनेका छन्, “आज कोही विजयी भएको छ भने हिन्दुस्तान विजयी भएको छ, लोकतन्त्र विजयी भएको छ, जनता जनार्दन विजयी भएका छन् ।”
उनले अब सम्पूर्ण विश्वले भारतको लोकतान्त्रिक शक्तिलाई बुझ्नुपर्ने बताए । उनले भने , “नयाँ जनादेशका लागि गएको थिएँ । जनताले यस फकिरको झोला भरिदिएका छन् ।”
पार्टी अध्यक्ष अमित शाहले पार्टिका लागि ज्यान दिने सबै कार्यकर्तालाई श्रद्धाञ्जली दिएका छन् । उनले यस जितलाई प्रधानमन्त्रीको लोकप्रियताको जित भएको बताएका छन् ।
कांग्रेस नेता राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निर्वाचनमा पाएको सफलताका लागि बधाई दिएका छन् ।
उनले (सन् २०१४) मा करीब एक लाख मतका साथ विजय हासिल गरेको अमेठी निर्वाचन क्षेत्रमा आफ्नो हार स्वीकार गरेका छन् ।
उक्त क्षेत्रमा प्रतिस्पर्धामा रहेकी विजेपी नेत्री स्मृति इरानीलाई मतगणनाको अन्तिम परिणाम आउनुपूर्व नै गान्धीले ट्वीट मार्फत बधाई दिएका हुन्।
भारतमा सत्रौं लोकसभा २०१९ को मतपरिणाम आएको छ । प्रारम्भिक मतगणनामा सत्तारुढ गठबन्धन एनडीएले अग्रता हासिल गरेको छ । निर्वाचन भएको कूल ५४२ स्थान मध्ये एनडीएले ३४६ स्थानमा अग्रता बनाएको छ भने विपक्षी गठबन्धन यूपीएले पनि ८७ स्थानमा अग्रता बनाएको छ ।
मतगणना अनुसार भारतीय जनता पार्टीलाई अत्यधिक बहुमत आउने प्रष्ट संकेत देखिएको छ । अन्य १०२ स्थानमा अन्य साना तथा क्षेत्रीय दलको अग्रता रहेको छ ।
भाजपाले बहुमत आउनेभएपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका प्रधानमन्त्री के पी शर्मा ओली, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, चीन र श्रीलंका लगायतबाट पनि बधाई ज्ञापन गरेका समाचारहरू भारतीय सञ्चारमाध्यमले प्रसारण गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू, आफ्नो दल र आफू नेतृत्वको गठबन्धनलाई मतदान गरी विजयी गराउने भारतीय समर्थक, शुभचिन्तक, कार्यकर्ता तथा जीतका लागि अनवरत लाग्ने नेतृत्वलाई बधाई दिएका छन् ।
उनले निर्वाचनका लागि तय गरेको नारा सबको साथ, सबको विकास, सबको विश्वासको निष्कर्ष समग्र भारत र भारतीयहरूको विजय भन्ने वाक्यांश दोहोराउँदै भाजपाले आगामी दिनमा सवैलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन् ।
भाजपाले कमजोर प्रदर्शन गर्ने अपेक्षा गरिएका उत्तर प्रदेश, मध्यप्रदेश, राजस्थान जस्ता केही राज्यमा पनि भाजपाले नै अग्रता कायम गरेको छ । भाजपाले पश्चिम बंगालमा व्यापक सुधार देखिएको छ ।
अप्रिल ११ मा शुरु भएको निर्वाचन विभिन्न सात चरणमा गरी मे १९ मा सम्पन्न भएको थियो । चुनावको नतिजा आजै सार्वजनिक गर्नेगरी भारतीय निर्वाचन आयोगले तयारी गरेको छ ।
उत्तर प्रदेशमा विपक्षी गठबन्धनको स्थिति राम्रो भनिए पनि सत्ता गठबन्धन एनडीकै बोलवाला रहने देखिएको छ । बिहारमा पनि एनडीएले अभूतपूर्व नतिजा हासिल गर्ने स्थिति देखा परेको छ । राजस्थान, मध्य प्रदेश, पश्चिम बंगाललगायत स्थानमा पनि एनडीएको अवस्था राम्रो देखिएको छ ।
प्रधानमन्त्री मोदी, स्मृति इरानी, अमित शाह राजनाथ सिंह, साक्षी महाराज हेमामालि बरुण गान्धी मेनका गान्धी नितिन गटकरी रविशंकर प्रसाद शाहलगायत एनडीए नेता अगाडि रहेका छन् । यसैगरी यूपीएबाट सोनिया गान्धी, अखिलेश यादवलगायत नेता अगाडि रहेको समाचारमा बताइएको छ ।