कला/साहित्यबिहिबार, ९ जेठ , २०७६

आदिवासी अभिलेख

पुस्तक समीक्षा

कमल मादेन

नेपाली आदिवासी, जनजाति र तिनको पहिचानका विविध आयामबारे अनुसन्धनात्मक कृति हाे 'समन्वेषणः नेपाली आदिवासी पहिचान' । 

कमल मादेन

ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटा– लिम्बू जातिको पुरानो थातथलो हो । अघिल्ला तीन जिल्लामा लिम्बू जातिको जनसंख्या पहिलो स्थान सहित कुल जनसंख्याको ३९।७ प्रतिशत छ । यो जातिको भेषभुषा, भाषा, लिपि, खानपान, धर्मसंस्कार, रीतिरिवाज अन्य जातजाति भन्दा पृथक् छ । 

समन्वेषणः नेपाली आदिवासी पहिचान (२०७५) लिम्बू जातिका साथै विभिन्न जनजातिका पृथक् पहिचानलाई अभिलेखीकरण गर्ने प्रयास हो । पुस्तकमा ४६ लेखकका अधिकांश लेख अनुसन्धानमा आधारित छन् ।

पुस्तकमा समावेश प्रा.डा. रमेश ढुङ्गेल लिखित ‘सिरिजङ्गा हाङ् र लिम्बू जातीय पुनरुत्थानमा धार्मिक–सांस्कृतिक प्रभुत्ववादको प्रश्न’ ले सिरिजङ्गाको यथार्थ पहिल्याएको छ ।

इमानसिंह चेम्जोङले दुई वटा सिरिजङ्गा पाइएको लेखेकोमा ढुङ्गेलले पहिलो सिरिजङ्गाबारे कुनै प्रमाण नभेटिएको बताउँदै १८औं शताब्दीको सिरिजङ्गा मात्र तथ्य भएको निष्कर्ष निकालेका छन् । लिम्बू सभ्यता–संस्कृति, शिक्षा र ज्ञानका क्षेत्रमा अग्रज सिद्धहस्त सिरिजङ्गाको जन्म ताप्लेजुङमा सन् १७०४ र हत्या सन् १७४१ मा सिक्किममा बौद्धमार्गीबाट भएको बताइन्छ । 

तिलविक्रम नेम्बाङ (बैरागी काइँला) को ‘माध्यमिककालको लिम्बू बिहेको दस्तुर’ लेखले लिम्बू जातिभित्रका अवयवहरू झल्काउँछ । लिम्बूमा एउटै कुलवंश, रगतको साइनो लाग्ने वा एउटै चूलोमा खाने सदस्यहरूले बनेको समूहभित्र मात्र होइन तथा दूधको साइनोले बाँधिएका स्वजन नाता–सम्बन्ध भित्रकासँग समेत निश्चित कालवधि (हाडपट्टि सात पुस्तासम्म र दूधपट्टि पनि चार पुस्ता) सम्म यौनसम्बन्ध वा बिहेबारी निषेधित हुन्छ । बिहेबारीमा विभिन्न किसिमका रीतभात र दस्तुर (चारकलम) कन्यापक्षलाई केटापक्षले बुझाउनुपर्दछ । 

‘द लिम्बूज् डाउन द एजेज् इन सिक्किमः अ हिष्टोरिकल रेट्रोस्पेक्सन’ लेखमा डा. सुब्बा, डा. बुद्धि एल. सुब्बा (खाम्धाक) ले सिक्किम राज्य उद्भव अघि नै लिम्बूहरू त्यहाँ बसेको दाबी गरेका छन् । उनी सिक्किमका लिम्बू नेपालबाट गएका नभई परापूर्वकालदेखि त्यहीं बस्ने गरेको र उनीहरू हिन्दू नभएको तर्क गर्छन् । सिक्किम राज्य सन् १६४२ मा उदय भएको हो । 

पुस्तकमा थारु जातिसँग सम्बन्धित अर्को लेख पनि छ–‘लोकसाहित्यमा सजना’ । जसलाई डा. कृष्णराज सर्वहारीले लेखेका हुन् । तराईका पुराना बासिन्दा थारु जनसंख्यामा क्षेत्री, बाहुन र मगरपछि सबैभन्दा बढी छन् । थारुभित्र राना, कथोरिया, दंगरुवा, कोचिला, लाम्पुच्वा, चितौनिया, पुश्चुहान, रौतार, सोन्हा थारु छन् । लेखमा सर्वहारीले थारु लोकसाहित्य अन्तर्गत प्रेमी–प्रेमिकाको विरह, मिलनका गीतहरूका अतिरिक्त खेतीप्रणाली, शिकारी संस्कार, पौराणिक पात्रका गाथाका केही गीत उद्धरण गर्दै नेपालीमा भावानुवाद समेत गरेका छन् । 

पुस्तकमा प्रविन बेघाले बेघावंशको इतिहास र थातथलो लगायत बेलायतबाट भिक्टोरिया क्रस (भीसी) पदक प्राप्त रामबहादुर लिम्बू (बेघा) को जीवनी प्रस्तुत गरेका छन् । सन् १९६५ नोभेम्बर २१ मा लान्स कर्पोरल रामबहादुरले मलेशिया र इन्डोनेशियाबीचको युद्धमा वीरता देखाए वापत ब्रिटिश सेनाको सर्वोच्च सम्मान भिक्टोरिया क्रस उपाधि प्राप्त गरेका थिए । 

पुस्तकमा अमृत योन्जन–तामाङको ‘पहिचानको दृष्टिमा तामाङ जाति, साहित्य र संस्कृति’ लेख पनि समावेश छ । लेखमा तामाङ जातिमा सहथरलाई राङ्‍रुई र कुटुम्ब चल्ने थरलाई स्याङ्‍रुई भन्दा रहेछन् । योन्जनका सहथर बोम्जन, लोप्चन, डुम्जन र मिक्चन मानिंदो रहेछ । यो लेखबाट समग्र तामाङ र तिनका संस्कृति संक्षेपमा बुझ्न सकिन्छ । 

यता डा। अगिब बनेपालीले भने ‘नेवारः नेपालको एक सभ्यताको मानक’ लेखमा नेवार जाति लिच्छवि कालभन्दा अघिदेखि नेपालमा बस्दै आएको भन्ने प्रमाण विभिन्न शिलालेख, ऐतिहासिक र वाङ्मयहरूबाट पाइने ठोकुवा गरेका छन् ।

‘किराती–कोंइचश्याँदरमा डिस्कोर्स र दर्शन’ लेखमा डा। लाल–श्याँकारेलु रापचाले किराँत जाति अन्तर्गतको सुनुवार, खिन्ची हाङका सन्तति कोंइच सुनकोशीवारि बसोबास गरेपश्चात आर्यकरण भई उनीहरूलाई सुनुवार वा सुनवार भनिएको तर्क गरेका छन् । लेखमा मुखिया पदवीकै कारण कोंइच शब्द मासिएको बताइएको छ । 

कतिपय किराती–कोंइचहरूले राई, सुब्बा, देवान, जिम्मावाल, जिमी, जिमिनदार जस्ता पदवी नपाएपछि ठालु हुने अभिप्रायले मुखिया लेखाए । अतित मुखिया (कवि), मन मुखिया (नाटककार), टेकवीर मुखिया (कलाकार), सुरेन्द्र मुखिया (गायक), सुमन मुखिया (गायिका), रोशिता मुखिया (कम्प्युटर इन्जिनियर), आरबी मुखिया (प्रशासक) त्यही होडका केही उदाहरण भएको लेखकको भनाइ छ ।

‘लिम्बू समाजमा मर्चा महिमा’ शीर्षकको लेखमा डा. हुमा बखिमले मर्चा बनाउने विधि र बनाउन प्रयोग गरिने वनस्पति सहित यसका अवयवबारे लेखेकी छिन् । लिम्बू जातिमा अक्सर माङ्गेना र माङ्गेना यकबारे चर्चा हुन्छ । माङ्गेना लिम्बू जातिले गर्ने पारिवारिक धार्मिक अनुष्ठान हो भने माङ्गेना यकले लिम्बूका थरहरूको उद्भव थलो बुझाउँछ ।

दिलसिं मेन्याङ्बो र जशराज सुब्बा लिखित ‘लिम्बूज् अराउण्ड द वर्डः लिम्बू थर्स्, सव–थर्स् एण्ड इट्स माङ्गेना लुङ्धुङ्स् (यक)’ लेखमा लिम्बू जाति अन्तर्गतका विभिन्न थरले मान्दै आएका पवित्र स्थल अर्थात् माङ्गेना यक र लिम्बू थरहरूबारे चर्चा छ । लेखमा ९२२ वटा लिम्बू थर रहेको भन्दै ५० वटा माङ्गेना यक सूचीकृत गरिएको छ ।

र ती माङ्गेना यकलाई कुन कुन थरका लिम्बूले पूजाआजा गर्छन् भन्ने पनि जनाइएको छ । झण्डै आधाजति माङ्गेना यक ताप्लेजुङमा रहेको बताइएको छ । माङ्गेना यक र सम्बद्ध लिम्बू थरबारे बृहत् रुपमा लेखिएको यो नै पहिलो आलेख हो । सिक्किममा बसेर पनि यति गहन लेख तयार पार्ने मेन्याङ्बो र सुब्बाले लिम्बू जातिका लागि खास योगदान गरेका छन् । 

तर, यति भन्दाभन्दै पनि केही माङ्गेना यकबारेका कतिपय जानकारी भने त्रुटिपूर्ण छ । मादेन फेन्दुवाको उद्भव थलो लुम्बाङलुङव यक हो । तर, पुस्तकमा अन्यको उद्भव थलो पनि त्यसैलाई मानिएको छ ।

यस अतिरिक्त पुस्तकमा प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. नोबेलकिशोर राई, बिक्रम सुब्बा, विजय सुब्बा, शारदा सुब्बा, झुमा लिम्बू, अमृता थेवे, प्रा.डा. जगदीशचन्द्र रेग्मी, राजेन्द्र महर्जन लगायतले जनजातिको साहित्य, भाषा, संस्कृति, संगीत, विद्यमान कानूनी व्यवस्थामा कलम चलाएका छन् ।

नेपाली आदिवासी, जनजाति र तिनको पहिचानका विविध आयामबारे यस्ताखाले अनुसन्धानात्मक कृति विरलै छापिएका छन् । दायित्व सरकारको हो, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल आदिवासी जनजाति महासंघको हो ।

तर, यस कार्यमा इक्साहाङ इक्मसो बेघा थोबोजुम, काठमाडौंले जुन रुचि देखाएको छ, त्यो स्तुत्य छ । सँगै यस्तो कठिन काम फत्ते गरेकोमा अमर तुम्याहाङ, डी।बी। आङ्बुङ र प्रविन बेघाको सम्पादनमण्डललाई साधुवाद । 

पुस्तक समन्वेषणः नेपाली आदिवासी पहिचान 

सम्पादक अमर तुम्याहाङ, डी.बी. आङ्बुङ र प्रविन बेघा 

प्रकाशक इक्साहाङ इक्मिसो बेघा थोबोजुम, काठमाडौं

पृष्ठ ४७२,

मूल्य रु.७००

प्रतिकृया दिनुहोस