भारतीय लोकसभा निर्वाचनको मतगणनामा सत्तारुढ गठबन्धनलाई प्रारम्भिक अग्रता
भारतीय लोकसभा निर्वाचनको मतगणनाबाट सत्तारुढ गठबन्धन एनडीएले प्रारम्भिक अग्रता लिएको छ ।
भारतीय समाचार अनलाइन द वायरका अनुसार, देशभरिका ५ सय ४३ सिटमध्ये एनडीएले ३ सय ४२ सिटमा अग्रता कायम गरेको छ । सरकार बनाउनका लागि आवश्यक बहुमत २७२ सिट एनडीए गठबन्धनले सहजै पार गर्ने आँकलनहरु गरिएका छन् ।
यसअघि, सार्वजनिक अधिकांश एक्सिट पोलहरुले पनि एनडीए गठबन्धनले नै बहुमत ल्याउने अनुमान सार्वजनिक गरेका थिए ।
विपक्षी कांग्रेस नेतृत्वको यूपीए गठबन्धनले ८८ स्थानमा अग्रता लिएको छ ।
अन्य क्षेत्रीय र साना दलहरुले ११२ स्थानमा अग्रता कायम गरेका छन् । यद्यपि, यो प्रारम्भिक मात्र गणना हो ।
भारतीय समयअनुसार, बिहानदेखि ८ बजेदेखि मतगणना जारी छ ।
यसअघि सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले नेतृत्व गरेको एनडीए बहुमतका साथ बिजयी भएपछि नरेन्द्र मोदी प्रधानमन्त्री बन्न सफल भएका थिए ।
यो निर्वाचनबाट पनि एनडीए विजयी भएमा आगामी पाँच वर्षका लागि मोदी नै प्रधानमन्त्रीमा दोहरिने पक्का छ ।
भारतमा २३ चैतबाट शुरु निर्वाचन १९ मे मा सम्पन्न भएको थियो । निर्वाचन ७ चरणमा भएको थियो ।