मन्त्री यादवले जेनेभामा भने, ‘नेपालले समय अगावै खस्रे र रुबेला रोग नियन्त्रण गर्याे’
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालमा खस्रे रोग र रुबेला रोग समयावधि अगावै नियन्त्रणमा ल्याइएको बताएका छन् ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जेनेभामा भइरहेको “स्वास्थ्यमा सर्वव्यापी पहुँच, सेवाबाट कोही पनि वञ्चित नहून्” भन्ने मूल नारा रहेको ७२ औं स्वास्थ्य सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
सोमबारदेखि जेनेभामा शुरु भएको विश्व स्वास्थ्य सम्मेलनमा विश्वका १९४ राष्ट्रका उच्च पदाधिकारी, नीति निर्माता एवं स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।
सो सम्मेलनलाई सम्बोधन गर्दै उपधान तथा स्वास्थ्य मन्त्री यादवले नेपालले खस्रे रोग निवारणमा उपलब्धि हासिल गर्नुका साथै विश्व स्वास्थ्य संघले तोकेको समयावधि भन्दा दुई वर्ष अगावै रुवेला रोग नियन्त्रणमा ल्याइएको जानकारी दिए ।
नेपालले स्वास्थ्य क्षेत्रमा दिगो विकासको लक्ष्य हासिल गर्न स्वास्थ्यमा सर्वव्यापी पहुँचको सुनिश्चितता गर्न महत्वपूर्ण कदम चालेको पनि उपप्रधानमन्त्री यादवले बैठकमा उल्लेख गरे ।
उनले नेपालको सन्दर्भमा स्वास्थ्यसँग सम्बन्धित लक्ष्य हासिल गर्न गरेका कार्यले कसैलाई पनि सेवाबाट वञ्चित हुन नदिइने बताए ।
उनले स्वास्थ्यको अजेन्डालाई मूलधारमा ल्याई प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, औषधिको मूल्यमा नियन्त्रण, नसर्ने रोगको भार कम गर्ने जस्ता कार्य गरी गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक पहुँच बढाउने कुरामा जोड दिए ।
यसैगरी एक कार्यक्रममा चीनका राष्ट्रिय स्वास्थ्य आयोगका मन्त्री म. छिवईसँग मन्त्री यादवको स्वास्थ्यको क्षेत्रमा द्विपक्षीय पारस्परिक हित र सहयोगलाई सुदृढीकरण गर्नेबारे छलफल भयो ।
उक्त सम्मेलनमा भएको एक अर्को सत्रमा नेपाल सहित आठ राष्ट्रले आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउन महिला,बालबालिका तथा किशोर किशोरीको स्वास्थ सम्बन्धी विश्वव्यापी रणनीतिको विषयमा छलफल भएको थियो ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले स्वस्थ जीवनको लागि विश्वव्यापी कार्ययोजनाको बारेमा धारणा राखेकी थिइन् । उनले दिगो विकासको लक्ष्य प्राप्त गर्नका लागि नेपालले प्राथमिकतामा राखेका कार्यक्रम र आगामी दिनमा आउने चुनौतीका बारेमा पनि आफ्नो भनाइ राखिन् ।
सम्मेलनमा नेपालका तर्फबाट उपप्रधान एवंं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको नेतृत्वमा स्वास्थ्य सचिव डा. पुष्पा चौधरी लगायत ७ जनाको सहभागिता रहेको छ ।