समाचारबुधबार, ८ जेठ , २०७६

प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ताको मृत्यु

हिमालखबर

भोजपुरमा प्रहरीको गोली लागेर नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कार्यकर्ताको मृत्यु भएको छ । 

गोली लागेर घाइते भएका षडानन्द गाउँपालिका-२, कुदाककाउलेका ३२ वर्षिय तीर्थराज घिमिरेको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताए ।

७ जेठमा टेम्केमैयुङ्ग गाउँपालिका- १ को धोद्रे जंगलमा प्रहरीको गोली लागेर उनी घाइते भएका थिए । तिघ्रामा गोली लागेर घाइते भएका घिमिरेको  धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको राजवंशीले बताए । 

ज‌ंगलमा हतियार सहितकाे समूह रहेकाे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय भोजपुर र एक नम्बर प्रदेशबाट आएको प्रहरी टोली संयुक्त गस्तीमा गएकाे थियाे । 

“१५/१६ जनाको समूहमा रहेकामध्ये एकजनाले प्रहरीमाथी बम जस्तो बस्तु फालेको र घिमिरेले पेस्तोल निकाल्न थालेपछि गोली प्रहार भएको हो ”, निरीक्षक राजवंशीले भने "घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ ।" 

जिल्ला प्रहरी कार्यालयदेखि ७० किलोमिटर टाढा रहेको घटनास्थलबाट घाइतेलाई पाँच घण्टा बोकेर ल्याउँदा धेरै रगत बगेकोले मृत्यु भएको उनले बताए। 

“पाँचघण्टा बोकेपछि स्थानीय स्वास्थ्यचौकीमा उपचार गरेर एम्बुलेन्समार्फत धरान लगिएको थियो” उनले भने ।

भेरी ब्यूरो सदस्य पक्राउ

यसैबीच विप्लव समूहका भेरी ब्यूरो सदस्य हरिचन्द्र जैशीलाई प्रहरीले पक्राउ गरेकाे छ । 

कुशे गाउँपालिका–२ घर भएका जैशीलाई ७ जेठमा पक्राउ गरिएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए ।

जैशीले जिल्लाको शान्ति सुरक्षामा दक्खल पुर्‍याएको खत्रीको भनाइ छ ।

यसभन्दा अगाडि विप्लव समूहका तीन कार्यकर्ता जाजरकोटमा पक्राउ परिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस