समाचारमंगलबार, ७ जेठ , २०७६

यही अवस्थामा अमेरिकासँग वार्ताको सम्भावना छैन : रौहानी

हिमालखबर

इरानका राष्ट्रपति हसन रौहानीले वर्तमान राजनीतिक अवस्थामा संयुक्त राज्य अमेरिकासँग वार्ता हुनसक्ने सम्भावना नरहेको बताएका छन् ।

अमेरिकासँगको विवादास्पद विषयमा इरानी कूटनीतिक पहल जारी राखेको बताउँदै इरान अमेरिकासँग यही अवस्थामा वार्ता गर्ने पक्षमा नरहेको राष्ट्रपति रौहानीले बताएको तस्निम न्यूज एजेन्सीले मंगलबार बताएको छ ।

“आजको वातावरण वार्ताका लागि अनुकूल छैन । अहिलेको अवस्थामा हाम्रो स्थिति ‘प्रतिरोधी र दृढ’ रहने छ,” राष्ट्रपति रौहानीले भने ।
“सम्पूर्ण इरानी जनताबीचको एकता र धीरताले मुलुककमा वासिङ्टनका कारण सिर्जना भएको आर्थिक चुनौतीलाई परास्त गर्नुपर्छ,” उनले भने ।

गत हप्ता इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले पनि विवादास्पद विषयमा तत्काल अमेरिकासँग वार्ता नहुने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा अमेरिका लगायत विश्व शक्ति राष्ट्रहरूबीच भएको इरानसँगको आणविक सम्झौताबाट फिर्ता हुने घोषणा र प्रतिबन्धको घोषणापछि अमेरिका र इरानबीचको तनाव बढेको हो ।

वासिङ्टनले इरानसँग चार वर्ष पहिले भएको सम्झौता अमेरिकी हितमा नभएको निष्कर्षसहित इरानी हतियार नियन्त्रणका लागि पुनः सम्झौता गर्नुपर्ने अडान प्रस्तुत गर्दै आएको छ भने इरान लगायत सम्झौताका अन्य हस्ताक्षरकर्ता राष्ट्रहरू पुरानै सम्झौतालाई जोगाउनुपर्ने बताउँदै आएका छन् ।

अमेरिकाले इरानी हतियारप्रतिको मोहका कारण मध्यपूर्वमा सुरक्षा चुनौती बढेको बताउँदै आएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाबीच विवाद भयो भने इरान बर्बाद हुने ट्वीट मार्फत बताएका छन्, “अमेरिकालाई अबदेखि धम्की नदिनू ।” इरानका विदेशमन्त्री मोहम्मद जवाद जारीफले प्रतिउत्तर दिदै भनेका छन्, “यस्ता धम्कीले इरान समाप्त हुँदैन ।”

अहिले खाडी क्षेत्रमा अमेरिकाले बमवर्षक विमान र विमानवाहक युद्धपोत तैनात गरेको छ ।

–एजेन्सी

प्रतिकृया दिनुहोस