समाचारमंगलबार, ७ जेठ , २०७६

नेकपा सांसदले लगाए कुलमानलाई भ्रष्टाचारको आरोप

हिमालखबर

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अमनलाल मोदीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचारको आरोप लगाएका छन् ।

तस्वीरः गोपेन राई

संघीय संसदको सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसद मोदीले लोडसेडिङ अन्त्य गरेको घुम्टो ओडेर घिसिङले भ्रष्टाचार गरिरहेको बताएका हुन् ।

जवाफमा घिसिङले सांसद भएर जथाभावी नबोल्न आग्रह गर्दै भ्रष्टाचार प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको बताएका छन् ।

मोदीलाई जवाफ दिंदै घिसिङले भने, “तपाईले आफ्नो निर्वाचन क्षेत्रमा करीब ६ महिनादेखि ३ किलोमिटर तार तान्न दिनु भएको छैन, यसले गर्दा मोरङको कटहरीमा निर्माण सम्पन्न भएको सब–स्टेसन चार्ज गर्न सकेका छैनौं, जनप्रतिनिधि भएर आफैं विकासको काम रोक्ने अनि मलाई अनावश्यक आरोप लगाउने ?”

लेखा समितिले औद्योगिक तथा व्यापारिक ग्राहकसँग देखिएको डेडिकेडेड र ट्रंक लाइन महुशलमा देखिएको विवादका बारेमा छलफल गर्न ऊर्जा सचिव दिनेशकुमार घिमिरे, घिसिङ लगायतलाई डाकेको थियो ।

घिसिङले शुरुमा डेडिकेडेड र ट्रंक लाइन महशुलका विषयमा देखिएको विवादका बारेमा प्रष्ट पारेका थिए । त्यसपछि सांसदहरुले आफ्नो धारणा राखेका थिए ।

सांसद मोदीले २५ मेगावाटको सोलार प्लान्ट र कोशी करिडोर प्रसारण लाइनको ठेकेदार छनोटमा भ्रष्टाचार गरेको आरोप लगाए । उनले भने “आफ्ना विद्युत्गृहबाट विद्युत उत्पादन नगरी कमिशन खाँदै भारतबाट विद्युत् आयात गरिएको छ ।”

मोदीले घिसिङमा दम्भ बढ्दै गएको भन्दै त्रिशूली ३ बी सब–स्टेसन निर्माणस्थलमा जनतालाई थर्काएको विषयमा विरोध समेत गरे ।

उनले भने– “प्रधानमन्त्रीले समेत बोल्न नहुने कुरा एउटा निकायको प्रमुखले बोल्न मिल्छ ? त्यसरी स्थानीयबासीलाई थर्काउन र थुन्दिन्छु भन्न पाइन्छ ?”

त्यसपछि बोलेका घिसिङले विना प्रमाण जथाभावी नबोल्न र आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिए ।

के हो मोदीको स्वार्थ ?
नेपाल विद्युत प्राधिकरणले मोरङको कटहरी क्षेत्रको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन कटहरी सब–स्टेसन निर्माण सकेको दुई महिनाभन्दा बढी भइसकेको छ ।

सुनसरीको दुहवी सब–स्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयबासीको अवरोध छ ।

यसले गर्दा दुहवीबाट विद्युत् लगेर सब–स्टेसन सञ्चालन (चार्ज) गर्न नसकिएको प्राधिकरणका विराटनगर शाखा प्रमुख राजीव सिंहले बताए ।

“कटहरी औद्योगिक क्षेत्र पनि हो, अहिले त्यहाँ विद्युत आपूर्ति भइरहेको टंकिसिनुवारी सब–स्टेसन थप लोड धान्न सक्ने अवस्थामा छैन”, सिंहले भने “कटहरी सब–स्टेसन तत्काल चार्ज गर्न सकेनौं भने विराटनगरमा फोर्स लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्छ ।”

स्थानीयबासीको अवरोधका कारण गाडिएको पोलमा समेत साढे तीन किलोमिटर तार तान्न सकिएको छैन । ग्रामथाम नेकपाका अमनलान मोदीको निर्वाचन क्षेत्रमा पर्छ ।

मोदीले स्थानीयबासीको मागलाई साथ दिंदै प्रसारण लाइनको तार तान्न दिएका छैनन् । प्रसारण लाइन निर्माण नसकिंदा कटहरी सब–स्टेसन निर्माण सकिएर पनि प्राधिकरणले सञ्चालनमा ल्याउन सकेको छैन ।

प्राधिकरणले बस्ती छल्दै सडकै सडक प्रसारण लाइन लैजाने गरी रुट तय गरेको छ ।

ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्री वर्षमान पुनले केहीअघि तार तान्न दिन मोदीलाई आग्रह गरेका थिए । तर, मन्त्री पुनको आग्रहलाई समेत मोदीले मानेका छैनन् ।

स्रोतका अनुसार, त्यस क्षेत्रका उद्योगीले चुनावमा सहयोग नगरेको भन्दै मोदीले स्थानीयबासीलाई उचालेका हुन् । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय मोरङले पटक–पटक प्रयास गरिरहेको छ ।

सब–स्टेसन सञ्चालनमा आएपछि गुणस्तरीय विद्युत र भोल्टेज सुधार हुने भएकाले त्यस क्षेत्रका उद्योगी व्यवसायीले पनि समस्या समाधानका लागि पहल गरिरहेका छन् । तर, मोदीकै कारण उनीहरुको प्रयास सफल भएको छैन ।

 

प्रतिकृया दिनुहोस