समाचारमंगलबार, ७ जेठ , २०७६

पाँचथर हत्याकाण्ड : अढाइ वर्षदेखि माइतीमै थिइन् मनकुमारी

हिमालखबर

पाँचथरको मिक्लाजुङ हत्याकाण्डमा मारिएका  बमबहादुर फियाक र झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर माखिमको लामो समयदेखि विवाद रहेको खुलेको छ । 

माखिम फियाकका कान्छा ज्वाइँ हुन् ।

मिक्लाजुङ– ७ का माखिमकाे श्रीमती मनकुमारीसँग झगडा भइरहने गरेकाले उनी अढाई वर्षदेखि माइत बस्दै आएकी थिइन् ।  

उनीहरुकाे सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको स्थानीयले बताएका छन् । 

मनकुमारी पनि उक्त हत्याकाण्डमा मारिएकी छन् भने माखिम वडा नं ८ मा झुण्डिएको अवस्थामा फेला परेका प्रहरीले बताएको छ । 

प्रदेश १ प्रहरी प्रमुख डिआईजी केदार रिजालका अनुसार घटनाको प्रकृतिका आधारमा माखिमले हत्या गरेकाे हुन सक्ने श‌ंका प्रहरीकाे छ ।   

दुई परिवारबीच गतवर्ष ठूलै विवाद भएको छिमेकीहरूको भनाइ छ । स्थानीयका अनुसार एक वर्षअघि भएको विवाद प्रहरीमा पुगेपछि प्रहरीको रोहबरमा मिलापत्र भएको थियो । 

गएराति मिक्लाजुङ ३ आरुबोटेका बमबहादुरको घरमा चारजना र उनका जेठा ज्वाइँ धनराज शेर्माको घरमा पाँचजनाको हत्या भएको थियाे । 

मारिनेमा ७४ वर्षीय बमबहादुर, बमबहादुरकी श्रीमती फुर्सीमाया, छोरी ३५ वर्षीया मनकुमारी र नातिनी १० वर्षकी आशाकुमारी छन् । 

त्यस्तै ज्वाइँको घरमा ३४ वर्षीय धनराज शेर्मा, ३५ वर्षकी जस्मिता फियाक, छोरीहरू १२ वर्षकी युहाना, १० वर्षकी मुना र भाइकी छोरी ८ वर्षकी इच्छा शेर्मा छन् । घटना भएका दुई घर १० मिनेटको दूरीमा छ ।

१२ वर्षीया सीता खजुमले घटनामा भागेर ज्यान जोगाएकी छन् । उनी घाइते अवस्थामा रहेकाले अस्पतालमा उपचार भइरहेको छ । खजुमले मुखुण्डो लगाएका मान्छेले खुकुरीले काट्न थालेकाे देखेपछि आफू भागेकाे बताएको प्रहरीले जानकारी दिएको छ । 

एकान्तमा रहेका दुई घरमा भएको हत्याकाण्डको बारेमा गाउँलेले बिहानमात्र थाहा पाएको बताएका छन् । त्यसपछि प्रहरीलाई घटनाको बारेमा जानकारी भएको थियो । 

घटनाको अनुसन्धान गर्न फरेन्सिक सहितको टोलीले घटनास्थल घेराबन्दीमा राखेको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थल पुग्दै छ ।  

 

प्रतिकृया दिनुहोस