समाचारमंगलबार, ७ जेठ , २०७६

कीर्तिमानी पर्वतारोही कामीरिता २४ औं पटक सगरमाथा शिखरमा

हिमालखबर

कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पा २४ औं पटक सगरमाथा आरोहण गरेका छन् । 

आज बिहान ६ः३८ मा सगरमाथा आरोहण गरेको बेस क्याम्पमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनी २६ वैशाखमा सगरमाथा आरोहणका लागि बेस क्याम्पबाट हिँडेका थिए ।

२४ औं पटक सगरमाथा आरोहण गरेसँगै कामीरिताले सबैभन्दा धेरै पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने आफ्नै कीर्तिमान तोड्दै नयाँ किर्तिमान राखेका छन् ।

४९ वर्षीय कामीरिताले १ जेठमा मात्रै २३ औं पटक सगरमाथा आरोहण गरेका थिए । एकै सिजनमा दुई दुई पटक आरोहण गरेको यो चौथो हो ।

सोलुखुम्बुको खुम्बु–पासाङल्हामु–५ थामेका कामीरिता सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम थालेका हुन् । सन् १९९८ मा पहिलोपटक गाइडकै रुपमा सगरमाथा आरोहण गरेका उनले २००९, १० र १३ मा उनले एकै सिजनमा तिनपटकसम्म सगरमाथाको शिखर टेके ।

थामे प्राविमा कक्षा ४ सम्म पढेका कामरिता अहिले बौद्धमा डेरा गरि बस्छन् ।

उनले २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने घोषणा यसअघि गरिसकेका छन् ।

एक्काइस पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्न्यास लिइसकेका छन् भने ३८ वर्षिय ङिमा नुरु शेर्पा अझै सक्रिय छन्।

कामीरिताका दाजु लाक्पारिताले पनि १७ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।

आरोहण शुरु गर्नुभन्दा एक महीना अगाडि गुम्बाहरुमा पूजापाठ गर्ने शेर्पाले प्रत्येक हिमालमा देवीको बास हुने भएकोले चुचुरोमा पाइला टेक्नुअगावै तलबाटै तीन पटक ढोगेर माफी माग्ने गरेको बताउँछन् ।

उनले आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए ।

पढ्नुहाेस् 

कामीरिता शेर्पा २३औं पटक सगरमाथा शिखरमा, नयाँ कीर्तिमान कायम

कीर्तिमानी कामीरिता भन्छन् – देशलाई रेकर्ड चाहिन्छ तर रेकर्ड राख्ने मान्छे चाहिंदैन 

 

 

प्रतिकृया दिनुहोस