समाचारमंगलबार, ७ जेठ , २०७६

पाँचथरमा दुई परिवारका नाै जनाको हत्या

कमल रिमाल

पाँचथरमा गए राति दुई परिवारका नाै जनाको धारिलाे हतियार प्रयाेग गरी हत्या भएको छ । एकजना घाइते भएका छन् । 

मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेका  धनराज शेर्मा र बमबहादुर फियाकका परिवारका नाै‌ं जनाकाे हत्या भएकाे इलाका प्रहरी कार्यालय रबिका निरीक्षक तेजनारायण यादवले बताए ।  

धनराजको परिवारमा पाँच जना र बमबहादुरको परिवारका चार जनाको शव विभत्स अवस्थामा भेटिएको उनले बताए । 

“लासहरु घर भित्र छन् हामी बाहिरै छौँ । बाहिरी अनुसन्धान सकेर मात्रै लास भएको ठाउँमा जान्छौं” यादवले भने । 

हत्या भएका मध्ये दुईजना पुरुष र सातजना महिला छन् ।  धनराज र बमबहादुर ज्वाइँससुरा रहेकाे वडाध्यक्ष हस्तराज फियाकले बताए ।

फियाकका अनुसार मृतकहरुमा  बमबहादुर फियाक (७४), जस्मिता फियाक (३६), मनकुमारी फियाक (२६), धनराज शेर्मा (४१), इक्सा शेर्मा (६), योवना शेर्मा (१३), मुना शेर्मा (८), आशिका खजुम लिम्बू (१२)  र नाम खुल्न नसकेकी बमबहादुरकी श्रीमती छन् । 

१२ वर्षीया सीता खजुम भने भागेर बाँचेकाे वडाध्यक्ष हस्तराजले बताए । गम्भीर घाइते सीताले दिएको जानकारी अनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो ।  

प्रदेश प्रहरी कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरिक्षक किशोर दाहालले राति भएको हत्याको घटनाका बारेमा आज बिहान मात्रै प्रहरीलाई जानकारी भएको बताए । 

घटनाकाे जानकारी पाएलगत्तै दशमीबजारमा रहेको प्रहरी चौकीको टोली बिहान ६ बजे घटनास्थल पुगेको छ भने जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरको नेतृत्वमा सुरक्षाकर्मी घटनास्थल तर्फ लागेको उनले जानकारी दिए । 

कुकुर नलगेसम्म प्रहरी प्रवेश नगर्ने

हत्यारा पत्ता लगाउनका लागि तालिमप्राप्त कुकुर नपुञ्जेल घटनास्थलमा प्रहरी पनि प्रवेश गरेको छैन । विराटनगरबाट प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक दाहालको नेतृत्वमा कुकुर सहितकाे सुरक्षाकर्मीको टोली  हिँडेकाे छ । 

घटनाको अनुसन्धान गर्न काठमाडौबाट पनि केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी) बाट एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको पनि हिँंडेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले बताए ।  

संघीय प्रहरी इकाई कार्यालय धरानका वरिष्ठ प्रहरी उपरिक्षक शरदकुमार खत्रीको टोली पनि अनुसन्धानका लागि पाँचथर तर्फ लागेको छ ।

घटनास्थल झापाको सिमाना नजिकै  भएकाले झापाबाट पनि प्रहरी अनुसन्धानका लागि त्यस तर्फ गएको छ । 

सदरमुकाम फिदिमबाट करिव ७० किलोमिटर दक्षिणमा घटनास्थल रहेकाले इलाका प्रहरी कार्यालय रबिको प्रहरी बाहेक अन्यत्रका सुरक्षाकर्मी दिउँसो मात्रै पुग्न सक्ने बताइएको छ ।  

जिल्लाका सम्पूर्ण नाका बन्द गरेर अभियुक्तको खोजिकार्य शुरु गरिएको एक नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी केदार रिजालले जानकारी दिए ।

 

 

 

प्रतिकृया दिनुहोस