समाचारसोमबार, ६ जेठ , २०७६

प्रधानमन्त्री ओलीले गरे सूचना महामार्ग शिलान्यास

हिमालखबर

धादिङको गल्छीस्थित मासटारमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गरिएको छ ।

सोमबार दिउँसो धादिङको गल्छी गाउँपालिकाको मासटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना महामार्गको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश विकास र समृद्धितर्फ अगाडि बढिरहेको बताए । अहिलेको सरकार गफभन्दा पनि काम गर्ने सरकार भएको भन्दै ओलीले काम र विकास गर्ने कार्यलाई अहिलेको सरकारले गम्भीरताका साथ लिएको उल्लेख गरे ।

साथै उनले सुखी नेपाली र समृद्ध नेपालको परिकल्पनालाई साकार गरेरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे । धादिङको विकासप्रति आफूलाई राम्रो हेक्का रहेको भन्दै ओलीले सम्मृद्ध धादिङ बनाउनका लागि सबै लाग्न आग्रह गरे ।

सरकारले १ वर्षको अवधिमा ४ सय झोलुङ्गे पुल विस्थापित गरेको भन्दै उनले सरकारले गरेको कामप्रति केही व्यक्तिहरू अत्तालिएको बताए ।
अर्को एक प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकार र स्थानीय तह सार्वभौम निकाय नभएको स्पष्ट पारेका छन् ।

केन्द्र सरकारको कामलाई सहज बनाउनका लागि प्रदेश र स्थानीय तह भएको भन्दै प्रदेश र स्थानीय तह आफैमा सार्वभौम स्वतन्त्र निकाय नभएको विचार व्यक्त गरे ।

धादिङको गल्छी गाउँपालिकास्थित मासटारमा शिल्यान्यास गरिएको अप्टिकल फाइबर नेटवर्क कार्य निर्माण भए पश्चात द्रुतगतिको इन्टरनेट सेवा प्रवाह हुनेछ ।

कार्यक्रम दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौड्याल, प्रतिनिधि सभाका सदस्यहरु खेमप्रसाद लोहनी, भूमिप्रसाद त्रिपाठी, प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलको उपस्थिति रहेको थियो ।

पाँचथरको चिवाभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने गरी नेपाल टेलिकमले उक्त योजना सुरु गरेको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यो योजना दुई वर्षभित्र पूरा हुने बताए । त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि आज नै फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात भएको छ ।

यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पुर्याउनेछ ।

अप्टिकल फाइबर बिछ्याएपछि मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम राजमार्ग सहायक मार्गमा उच्च गतिको इन्टरनेट सेवा पुग्ने अधिकारीले जानकारी दिएका छन् ।

–सानुबाबु तिमिल्सिना

प्रतिकृया दिनुहोस