मिडियासम्बन्धी विधेयकबारे पार्टीमा छलफल भएन : नेता नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संसदमा दर्ता गरिएको मिडियासम्बन्धी विधेयकका विषयमा पार्टीमा छलफल नभएको बताएका छन् ।
उनले पार्टीमा छलफलविना नै विधेयक संसदमा दर्ता गरिएको हुँदा विवाद सिर्जना भएको बताए ।
प्रेस सङ्गठन दाङको आयोजनामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विधेयकलाई लिएर पत्रकारले असन्तुष्टि जनाइरहेकाले पत्रकारको हित विपरीत भए सच्याइने पनि उल्लेख गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का नेता झलनाथ खनालले पनि मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति असहमति जनाएका छन्।
पत्रकारले गरिरहेको आन्दोलन जायज भएको र उक्त आन्दोलनले प्रेस स्वतन्त्रतालाई स्थापित र प्रेसलाई मर्यादित बनाउन बहस सिर्जना गरेको उनको भनाइ छ ।
झापाको बिर्तामोडमा पत्रकारसँग कुरा गर्दै नेता खनालले नेपालको संविधानले दिएको हक कुनै पनि बहानामा कसैले कुण्ठित गर्न नसक्ने बताएका छन्।
यसैगरी नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पनि संसदमा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् ।
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले विधेयकका बारेमा विभिन्न देशका नीतिबारे जानकारी लिनुपर्ने उल्लेख गरे । उनले नेताहरूको अदूरदर्शी सोच नियन्त्रण गर्न नसक्दा देशमा सङ्घीयता कार्यान्वयनमा जटिलता देखापरेको बताए ।