खेलकुदसोमबार, ६ जेठ , २०७६

घुम्तीमा ‘बलियो महिला’

निरञ्जन राजवंशी

कठिन संघर्षबाट अघि बढेर भारोत्तोलनमा लगातार १७ वर्ष अपराजित रहेकी तारादेवी पुन (३७) पछिल्लो समय खेलयात्राको भविष्यसँगै व्यक्तिगत जीवनको लेखाजोखा गर्न थालेकी छन्।

एउटा खेलाडीले लगातार कति वर्ष पदक जित्न सक्छ ? आफ्नो उच्च ‘फर्म’ कति समयसम्म जोगाउन सक्छ ? विश्व खेललाई हेर्दा औसत १० वर्षसम्म खेलाडीहरू उच्च फर्ममा हुन सक्छन् । थोरै खेलाडीले मात्र त्यसलाई लम्ब्याउन सकेको देखिन्छ । भारोत्तोलन खेलाडी तारादेवी पुन त्यस्तै उदाहरण हुन् ।

उनी भारोत्तोलनमा लगातार १७ वर्ष अपराजित रहिन् । त्यति नै वर्ष ‘नेपालको सर्वाधिक बलियो महिला’ को ताज पहिरिइन् । नेपाली खेलकुदमा यो अनुपम सफलता हो । फलामको गह्रुँगो भार उचाल्नुपर्ने भारोत्तोलनलाई कठिन खेल मानिन्छ । तर उनले यतिका वर्षसम्म जीवनमा थकानलाई ठाउँ दिएकी छैनन् । बरु, खेलमै डटेर सफलता हासिल गर्ने यात्रा जारी राखेकी छिन् ।

गएको वैशाखमा नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पुनः बलियो महिलाको ताज सहितको स्वर्ण जितिन्, तारादेवीले । जितपछि खेलमा अझ दृढ भएको बताउँदै सामाजिक सञ्जालमा लेखिन्— ‘अझै थाकेकी छैन ।’

तारादेवी भित्र यो दृढता यत्तिकै जागेको होइन । उनले जीवनमा यस्ता भारहरू बोकेकी छन्, जसको अगाडि भारोत्तोलनको भार मामुली हुन्छ । अभावले घेरेका यस्ता दिनहरू सामना गरेकी छन्, जसले उनलाई खेलकुदमा दिलोज्यानले डटिरहन बल दिएको छ ।

अभाव र अफापको विगत
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुर्गम बस्ती हिस्तानमा जन्मिएकी हुन्, तारादेवी । जसको विकटताबारे खुलाउँदै उनी ‘गाउँभित्रको पनि गाउँ’ भन्छिन् । उनको घर बेनी बजारबाट १० घण्टा पैदल हिंडेपछि पुगिन्छ ।

गोठ जस्तो घरमा जन्मिएकी उनको बाल्यकाल चरम अभावमा बित्यो । दुई दाजु र एक दिदी सहित उनको छाक टार्न अभिभावकलाई हम्मे पथ्र्यो । “भात त परको कुरा, खोले पनि हामी बाक्लो खान पाउँदैनथ्यौं । सबैलाई पुर्‍याउन पातलो बनाइएको हुन्थ्यो”, उनी ती दिन सम्झिन्छिन् । यस्तै, विद्यालय जान–आउन दुई–दुई घण्टा घना जंगलको बाटो छिचोल्नुपथ्र्यो ।

गरीबी आफ्नो ठाउँमा थियो, तारादेवीमा खेल कौशल भने सानैदेखि भरिएको थियो । विद्यालयमा भलिबलकी राम्रो लिफ्टर थिइन् । २०५४ सालको चौथो बृहत् राष्ट्रिय खेलकुदमा वडा, जिल्ला, क्षेत्रीय छनोटमा छानिंदै उनी पश्चिमाञ्चलको टीममा परेर खेल्न नेपालगञ्ज पुगिन् । पश्चिमाञ्चल टीमले भलिबलमा उपाधि नै उचाल्योे, उनले ‘बेस्ट लिफ्टर’ को उपाधि पाइन् ।

त्यो राष्ट्रिय खेलकुद नेपालमै हुने आठौं साफ गेम्सको छनोट प्रतियोगिता पनि थियो । त्यसमा तारादेवी छानिइन् । तर, उनी आफ्नो गाउँ फर्किसकेकी थिइन् । खोजी हुँदा उनको ठेगाना कसैले पत्ता लगाउन सकेन । उनी छनोटमा परेको चिठी बेनी बजारमा आएको रहेछ । तर, त्यसबारे उनले ढिलो खबर पाइन् । “मैले थाहा पाउँदासम्म आठौं साफ गेम्स नै सम्पन्न भइसकेको रहेछ”, विकटताले खोसेको अवसर सम्झँदै उनी भन्छिन् ।

आठौं साफ गेम्समा नेपाली महिला भलिबल टोलीले काँस्य जित्यो । खेलाडीहरूले तत्कालीन राजाबाट प्रतिष्ठित विभूषण ‘गोरखा दक्षिण बाहु’ पाएका थिए । त्यतिबेला १६ वर्षकी रहेकी उनी उक्त प्रतियोगिताबारे बेलैमा थाहा पाएको भए आफ्नो खेल जीवनले अर्कै मोड लिने ठान्छिन् ।

तर, ताराले हिम्मत हारिनन् । २०५८ सालमा पाँचौं राष्ट्रिय खेलकुदको लागि फेरि पश्चिमाञ्चलबाट छानिएर काठमाडौंमा खेल्न आइन् । तर बाटोमा आउँदै गर्दा प्रतियोगिताको अघिल्लो रात दरबार हत्याकाण्ड भयो । उनको खेल यात्रामा अर्को ब्रेक लाग्यो ।

भारोत्तोलनको यात्रा
त्यसबेलाको प्रतियोगिता रोकिए पनि ताराको खेल यात्रा थामिएन । उनले काठमाडौंमै बसेर भलिबल सिक्ने निर्णय गरिन् । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा पुगेर प्रशिक्षण लिंदै थिइन् । मोटो ज्यान भएकी तारादेवीलाई देखेर तेक्वान्दो खेलाडी प्रमिला थापाले सुझाइन्, “तिमीलाई त भारोत्तोलन खेल उपयुक्त हुन्छ, त्यतातिर लाग ।”

कस्तो खेल, कसरी खेल्ने भन्ने थाहै नपाएकी उनी सुझाव अनुसार दशरथ रंगशाला पुगिछन् । लगातार पाँच दिनसम्म धाएपछि उनलाई भारोत्तोलनका प्रशिक्षक राजेन्द्र प्रधानले भेटे । प्रधानले उनको परीक्षा लिंदै २० किलोको रड उचाल्न लगाएछन् । “जोश थियो, सजिलै उचालें । त्यसपछि मलाई प्रशिक्षणमा बोलाइयो”, खेल जीवनमै मोड आएको २६ पुस २०५८ को दिन सम्झिन्छिन्, उनी ।

भारोत्तोलनमा खेलेको पहिलो प्रतियोगिता पनि ताराको सम्झनामा अमिट छ । सिक्न थालेको दुई महीनापछि उनलाई प्रतियोगिता खेल्न वीरगञ्ज लगियो । त्यहाँ प्रशिक्षक जगदीश प्रधानले ‘स्ट्रोङ्गेस्ट ‌वुमेन’ को ट्रफी देखाउँदै उनलाई भनेछन्, “तिमीले राम्रो ग¥यौ भने यो ताज र ट्रफी तिम्रो हुनेछ ।”

नभन्दै उनले स्वर्ण नै जितिन् र ताज पहिरिइन् । पुरस्कारबापत नगद रु.५ हजार पनि पाइन् । उनी खुशी साट्छिन्, “जीवनमा पहिलो पटक त्यति धेरै पैसा पाएकी थिएँ, त्यो रकम कति समयसम्म साँचेर राखें भनेर मलाई अझै पनि याद छ ।”

त्यसपछि तारा भारोत्तोलनमै समर्पित भइन् । हरेक प्रतियोगितामा उनले कीर्तिमान रच्दै गइन् । स्वर्ण मुनिका पदकमा नझरेकी उनले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदसम्म खेल्दा कीर्तिमानकै ओइरो लगाइन् ।

‘ढिलो भइयो कि !’
२०६० सालमा नेपाल प्रहरीमा जागिर पाएपछि ताराको काठमाडौं बसाइले आर्थिक भरथेग पायो । तर जीवनमा केही कुरा छुट्नुको पीडाले उनलाई बिझाइरहन्छ । आफू खेलकुदबाट राष्ट्रिय चर्चामा आएको खबर उनले बुबासँग कहिल्यै साट्न पाइनन् ।

कमाउन खाडी पसेका बुबा आठ वर्षपछि घर फर्केपछि उच्च रक्तचापका कारण बिते । यसमा तारा सधैं थक्थक् मान्छिन्, “मलाई खेलकुदमा लाग्न स्वतन्त्र छोड्ने बुबालाई आफ्नो सफलता देखाउनै पाइनँ ।”

ताराले अन्तर्राष्ट्रिय मौका निकै ढिलो मात्र पाइन् । खेलयात्राको १७ वर्षे करिअरमा उनले जम्मा ६ वटा मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाइन् । खेल्न थालेको १० वर्षपछि मात्र उनले २०६८ सालमा नेपालगञ्जमा पहिलो सार्क भारोत्तोलन खेलेकी हुन् ।

त्यसपछि थाइल्याण्डमा दुई वटा प्रतियोगिता खेलिन् । सन् २०१६ मा भारतको गुवाहटीमा भएको १२औं सागमा काँस्य जितिन् । सन् २०१४ र २०१८ गरी उनले दुई वटा एशियाली खेलकुदमा खेलेकी छन् ।

पछिल्लो समय भने उनी जीवनको लेखाजोखा गर्न थालेकी छन् । आठौं साफ गेम्समा छानिएको पत्र ढिलो पाए जस्तै जीवनको दौडमा कतिपय कुरामा ढिलो भइएछ कि जस्तो उनलाई लाग्न थालेको छ । प्रहरीमा बढुवा हुन ढिलो भइरहे जस्तै पैसा कमाउन ढिला भए जस्तो लाग्छ । ३७ वर्षमा हिंडिरहेकी उनलाई खेलमा लाग्दालाग्दै विवाह गर्न ढिला भयो जस्तो पनि लागेको छ ।

यसका साथै, खेल यात्रालाई निरन्तरता दिने कि सन्न्यास लिने भन्ने दोधारमा छिन्, उनी । तर देशमै हुन लागेको १३औं दक्षिण एशियाली खेलकुद (साग) नछुटाउने सोच छ । त्यसपछि तीन वटा विकल्पबाट रोज्ने बताउँदै उनी भन्छिन्, “बढुवा भए असई हुन्छु र खेलयात्रा लम्ब्याउँछु । विदेश गएर पैसा कमाउने वा विवाह नै गर्ने भन्ने विकल्प पनि सोचिरहेकी छु ।”

प्रतिकृया दिनुहोस