सुमार्गीले ४ अर्ब ३२ करोड कर तिर्न मानेनन्
व्यवसायी अजेयराज सुमार्गीले चार अर्ब ३१ करोड ९५ लाख रुपैयाँ कर तिर्न अस्वीकार गरेको भन्दै आन्तरिक राजश्व कार्यालयले विज्ञप्ति जारी गरेको छ ।
सुमार्गीले ७ वर्षअघि ‘नेपाल स्याटेलाइट टेलिकम’को शेयर टेलिया सोनेरालाई बिक्री गर्दा प्राप्त पूँजीगत लाभ वापतको कर नतिरेको कार्यालयले बताएको हो ।
‘हेल्लो नेपाल’ ब्राण्डको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘नेपाल स्याटेलाइट टेलिकम’ को ७५ प्रतिशत स्वामित्व टेलिया सोनेराले रु. ५ अर्ब ६३ करोड ५० लाखमा खरीद गरेको थियो ।
आयकर ऐनले २५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेअनुसार गएको ११ वैशाखमा आन्तरिक राजश्व कार्यालयले उक्त कम्पनीलाई रु. १ अर्ब ४० करोड ८७ लाख कर निर्धारण गरेको र त्यसमा ब्याजसमेत जोड्दा रु. ४ अर्ब ३१ करोड तिर्नुपर्ने जनाएको छ ।
सोही रकम ‘असुल गर्नु नपर्ने ठोस प्रमाण भए पेश गर्न’ अनुरोध गरिएको र त्यसमा कम्पनीले जवाफ दिएपछि ३१ वैशाखमा अन्तिम कर निर्धारण गरिएको जनाइएको छ ।
अन्तिम कर निर्धारण भएपछि रकम भुक्तानी गर्न आग्रह गर्दै पत्राचार गर्दा कम्पनीले पत्र बुझ्न अस्वीकार गरेपछि राजश्व कार्यालयले इमेल र हुलाकमार्फत पत्र पठाएको छ ।