रिपोर्टसोमबार, ६ जेठ , २०७६

एसीसीएः अवसरको ढोका

मस्त केसी

१८० देशमा एउटै पाठ्यक्रम र अन्तर्राष्ट्रिय मान्यता पाइने कारणले मात्र होइन, अध्ययन पूरा गरेपछि राम्रो माग हुने भएकाले एसीसीए प्रोफेसनल कोर्सलाई अवसरको ढोका मानिन्छ।

सन् १९०४ मा बेलायतबाट शुरू भएको एशोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) प्रोफेसनल कोर्स अहिले विश्वका १८० देशमा पठनपाठन भइरहेको छ । एसीसीए ग्लोबलका अनुसार अहिले विश्वभर ४ लाख ८६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । आफ्ना दुई लाखभन्दा बढी सदस्य विभिन्न देशका झण्डै ७ हजार २०० कम्पनीमा आबद्ध रहेको एसीसीए ग्लोबलको भनाइ छ ।

नेपालमा एसीसीएको परीक्षा पहिलो पटक सन् १९७७ (२०३४ साल) मा भएको थियो । ब्रिटिश काउन्सिलले लिने यो परीक्षामा सहभागी हुने परीक्षार्थी त्यसबेला एक जना मात्रै थिए– सुरेशराज शर्मा । त्यसपछि करीब १५ वर्ष रोकिएर पुनः शुरू भए पनि नियमित हुन नसकेको एसीसीए परीक्षा सन् २००४ (२०६१ साल) देखि भने नियमित भइरहेको एसीसीएका नेपाल प्रमुख रविन कटवाल बताउँछन् ।

त्यसअघि एसीसीएका विद्यार्थीले स्व–अध्ययन गरेर परीक्षामा सामेल हुनुपर्थ्याे । अहिले नेशनल कलेज अफ एकाउन्टेन्सी (एनसीए) का साथै द ब्रिटिश कलेज, सीसीए स्कूल अफ एकाउन्टेन्सी, सिड फाइनान्सियल एकेडेमी लगायतका संस्थाहरूले एसीसीए पढाइरहेका छन् । ब्रिटिश काउन्सिलले भने कोर्स सञ्चालनको सहजीकरण गरिरहेको छ ।

बढ्दो आकर्षण
पाँच वर्षयताको तथ्याङ्कले नेपालमा एसीसीए पढ्ने विद्यार्थीको संख्या बढिरहेको देखाउँछ । आर्थिक वर्ष २०७१/७२ मा २३६ जना विद्यार्थी भर्ना भएका थिए भने २०७५/७६ मा यो संख्या ५३५ पुगेको एसीसीए ग्लोबलको तथ्यांक छ । विश्वभरि एउटै पाठ्यक्रम, परीक्षा प्रणाली, शिक्षण विधि र अन्तर्राष्ट्रिय मान्यता लगायतका कारणले एसीसीएप्रतिको आकर्षण बढिरहेको एसीसीएका नेपाल प्रमुख कटवाल बताउँछन् ।

“एसीसीएका सदस्यहरूले पाएको अवसर र ख्यातिकै कारण यसको माग बढ्दो छ”, उनी भन्छन् । एसीसीए ग्लोबल डिग्री भएका कारण यो कोर्स पढेका विद्यार्थी संसारभर कामका लागि योग्य हुन्छन् ।

आर्थिक गतिविधि व्यवस्थित सञ्चालनका लागि दक्ष जनशक्तिको माग दिनहुँ बढिरहेको छ । यस्तै, ब्याङ्क तथा वित्तीय र गैरसरकारी संस्थाहरूको बढ्दो संख्यासँगै यी संस्थाको आर्थिक कारोबार व्यवस्थापनका लागि पनि एसीसीएको माग बढ्दो छ ।

वित्तीय अनुशासन कमजोर भएका संस्थालाई चुस्त बनाउन र गतिशील वित्तीय प्रणालीको स्थापनामा एसीसीएको भूमिका महत्वपूर्ण हुने कटवाल बताउँछन् ।

पढ्दै गर्दा काम गर्न सकिने, पाठ्यक्रममै इन्टर्नसिप अनिवार्य गरिएको, पढाइ सकिएपछि खाली बस्नु नपर्ने, आकर्षक तलब र अन्तर्राष्ट्रिय बजारमा समेत बढ्दो मागका कारण एसीसीएप्रति विद्यार्थी आकर्षित भएको एसीसीए कलेज सञ्चालकहरू बताउँछन् ।

सिड फाइनान्सियल एकेडेमीका एकेडेमिक डाइरेक्टर अनन्त गौतमको भनाइमा देश–विदेशमा रोजगारीको राम्रो अवसर र प्रतिष्ठाका कारण विद्यार्थीको रोजाइमा एसीसीए पर्न थालेको हो । “व्यावहारिक पाठ्यक्रम र व्यावसायिक जीवनमा आवश्यक पर्ने ज्ञानका कारण यसतर्फ विद्यार्थीको झुकाव बढेको छ”, उनी भन्छन् ।

सीसीए स्कूल अफ एकाउन्टेन्सीका प्रबन्ध निर्देशक गोविन्दराज पन्त व्यावहारिक पाठ्यक्रम भएकै कारण एसीसीएले व्यावसायिक जीवनमा सफल हुन उत्प्रेरकको भूमिका खेल्ने बताउँछन् । उनी भन्छन्, “एसीसीए पढेका विद्यार्थीको प्रगति देखेर पनि अन्यको आकर्षण बढेको छ ।”

व्यावहारिक पाठ्यक्रम
एसीसीए कोर्स अन्तर्गत अप्लाइड नलेज, अप्लाइड स्किल्स् र स्ट्राटेजिक प्रोफेसनल गरी तीन तह हुन्छन्, जुन पूरा गर्न तीन वर्ष लाग्छ । वर्षमा चार वटा परीक्षा हुने यो कोर्समा कुल १३ परीक्षा हुन्छन् । एउटा तह पार नगरी अर्कोमा जान पाइँदैन । विद्यार्थीको लगनशीलता र मिहिनेतले कोर्स पूरा गर्ने समयावधि फरक पर्ने कलेज सञ्चालकहरू बताउँछन् ।

अप्लाइड नलेज तहमा भर्ना हुन १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्छ । सीधै स्किल्स्‌मा भर्ना हुन स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ । एसईई उत्तीर्ण विद्यार्थीले पनि एकवर्षे ‘फाउन्डेसन इन एकाउन्टेन्सी’ कोर्स पूरा गरेपछि एसीसीए पढ्न पाउने प्रावधान छ । तर, सञ्चालकहरू १२ कक्षा पूरा गरेर मात्रै एसीसीएमा भर्ना हुन सुझाव दिन्छन् ।

पढाउने संस्था अनुसार शुल्क फरक–फरक भए पनि रु.५ लाखदेखि रु.६ लाखको लागतमा एसीसीए कोर्स पूरा गर्न सकिने सञ्चालकहरूको भनाइ छ । सिड एकेडेमीका एकेडेमिक डाइरेक्टर अनन्त गौतम विद्यार्थीलाई एक पटकमा कति वटा विषयको परीक्षा दिने भन्ने छूट समेत रहेको बताउँछन् ।

उनका अनुसार विषय छनोट गरी परीक्षा दिन पाइने र सैद्धान्तिक भन्दा व्यावहारिक पाटो बढी भएकोले एसीसीए पढ्न सजिलो छ । “यसका साथै अनुत्तीर्ण विषयको मात्रै पुनः परीक्षा दिनुपर्ने भएकाले एसीसीए विद्यार्थी केन्द्रित कोर्स हो” उनी भन्छन् ।

समयसँगै एसीसीएले कोर्स पनि परिवर्तन गर्ने गरेको छ । समय सुहाउँदो र व्यावहारिक कोर्सको लागि अहिले ‘डिजिटल स्किल्स्’ लाई पनि प्राथमिकता दिइएको छ । भविष्यको बजार कस्तो बन्छ भन्ने विचार गरेर कोर्स परिवर्तन गरिने गरेको एसीसीएका नेपाल प्रमुख कटवाल बताउँछन् । कटवालको भनाइमा एसीसीएले पेपरमा आधारित परीक्षा प्रणाली पनि क्रमशः हटाउँदै लगेको छ ।

एसीसीए सदस्य बन्न तीन वर्षको पढाइ पूरा गरेर मात्रै हुँदैन । तीन वर्षको कामको अनुभव पनि हुनुपर्छ । विद्यार्थीले कोर्स पूरा गरेपछि काममा जान सक्छन् वा पढाइसँगै काम गरेर अनुभव हासिल गर्न सक्छन् । प्रतिस्पर्धा बढेका कारण एसीसीए पढाउने संस्थाहरूको संख्या पनि बढ्दो छ । हालै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) सँग सहकार्य सम्झाैता भएपछि सम्भावना थप फराकिलो भएको एसीसीएका नेपाल प्रमुख कटवाल बताउँछन् ।

फराकिलो सम्भावना
अर्थ, व्यवस्थापन वा लेखा क्षेत्रमा काम गर्न चाहनेहरूका लागि एसीसीए कोर्सले व्यावहारिक दक्षता प्रदान गर्छ । त्यसैले ब्याङ्क, बीमा, होटल, कर्पोरेट हाउस, सरकारी निकाय, निजी कम्पनी आदिको व्यवस्थापकीय नेतृत्व र विज्ञका रूपमा एसीसीए कोर्स उत्तीर्ण गर्नेहरू प्राथमिकतामा पर्न थालेका छन् । “एसीसीए पढेको जनशक्तिले संस्थाको आर्थिक गतिविधि बलियो बनाउनेदेखि मुलुककै अर्थ–व्यवस्थालाई पनि चलायमान बनाउन सक्छ”, एसीसीएका नेपाल प्रमुख रविन कटवाल भन्छन् ।

विश्वव्यापी मान्यता प्राप्त कोर्स भएका कारण एसीसीएको कार्यक्षेत्र फराकिलो छ । विदेशमा आकर्षक तलब र सम्मान पाउने थोरै काममध्ये एसीसीए पनि पर्छ ।

विदेशमा मात्र होइन, पछिल्लो समय देशभित्रकै ब्याङ्क तथा वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले एसीसीए योग्यता खोज्ने गरेको सीसीए स्कूल अफ एकाउन्टेन्सीका प्रबन्ध निर्देशक पन्त बताउँछन् । बजार आफैं सिर्जना गर्न पनि एसीसीएका सदस्यहरू सक्षम भएको उनको बुझाइ छ ।

“संस्थालाई गति दिन र आर्थिक प्रणाली सुधार्न एसीसीएको माग बढ्दो छ” उनी भन्छन्, “राम्रो बजार देखेर स्नातक तथा स्नातकोत्तर पूरा गरेपछि पनि एसीसीए पढ्नेहरूको संख्या उल्लेखनीय छ ।” 

प्रतिकृया दिनुहोस