रिपोर्टसोमबार, ६ जेठ , २०७६

नेपल्स हिंडेका सोमालियालीको नेपाल यात्रा

गोपाल गडतौला

नेपल्स (इटाली) पुर्‍याउने भन्दै मानव तस्करहरूले नेपाल ल्याइपुर्‍याइएका सोमालियाली नागरिकहरूको कथा–व्यथा ।

अब्दी रसिद र खाबोर अब्दुल्ही । तस्वीरः गोपाल गड्तौला

युगाण्डामा दुई वर्षसम्म ग्यारेजमा काम गर्दा जम्माजम्मी ७ हजार अमेरिकी डलर मात्र जोगिएपछि उनी राम्रो कमाइ हुने कामको खोजीमा थिए । त्यहीबेला युगाण्डाकै एक युवकले इटालीको नेपल्स शहर पुर्‍याएर गतिलो कमाइ हुने काम दिलाउने लोभ देखाए ।

गुगलमा खोज्दा भव्य शहर र समुद्री किनारका दृश्य देखेपछि उनी नलोभिने कुरै थिएन । त्यसका लागि दुई किस्तामा गरी १० हजार अमेरिकी डलर तिर्नुपर्ने भयो । उनले तत्काल ७ हजार डलर बुझाए । दोस्रो किस्तामा तिर्नुपर्ने ३ हजार डलर भने थिएन । उनले ग्यारेज मालिकलाई यो कुरा सुनाए ।

दयालु मालिकले अब्दी खाबोरलाई ३ हजार डलर दिंदै भने– “तिम्रो दुःख मलाई थाहा छ, सक्यौ भने तिर्नु, नत्र सहयोग नै भयो ।” अनि उनलाई कम्पाला विमानस्थलबाट युरोपका लागि बिदाइ गरे ।

त्यसअघि कहिल्यै हवाईजहाज नचढेका २५ वर्षीय खाबोर जीवन फेरिएको कल्पना गर्दागर्दै दुबई पुगे । केही घण्टाको ट्रान्जिटपछि दोस्रो विमानमा चढेका उनी करीब चार घण्टापछि १७ अप्रिल २०१४ को साँझ अर्काे विमानस्थलमा उत्रिए ।

अलि टाढा हरिया डाँडा र वरिपरि बाक्लै घर देखिने विमानस्थल सामान्य थियो । गुगलमा हेरेको नेपल्स शहर जस्तो नदेखेपछि आफूलाई लिन आएका व्यक्तिसित सोधे– ‘यो कहाँ हो ?’ जवाफ थियो– ‘काठमाडौं, नेपाल ।’ उनलाई लाग्यो– उच्चारण फरक परेको हुनसक्छ, म नेपल्स नै पुगें । विमानस्थलमा लिन आएका अपरिचित युवकले उनलाई होटलमा पुर्‍याए । दुई दिनसम्मको उडानले लखतरान परेका उनी खाना खाएर सुते ।

भोलिपल्ट मध्याह्नतिर होटलको रुम–ब्वाइले भन्यो– ‘ओ दाइ, निस्कनुस्, नत्र काउण्टरमा गएर पैसा तिर्नुस् ।’ उनले कहिल्यै नसुनेको भाषा बुझेनन्, ‘काउन्टर’ शब्द मात्र बुझेपछि उनी काउन्टरमा पुगे । त्यहाँ बसेको युवकसँग अंग्रेजीमा कुरा गरेपछि पो उनी छाँगाबाट खसेझैं भए ।

इटालीको नेपल्स हिंडेका उनी कहिल्यै नाम नसुनेको देश, नेपाल आइपुगेको थाहा पाएपछि ठमेलको गल्लीमा बसेर धेरैबेर रोए । विमानस्थलमा लिन आएका मानव तस्करका एजेन्टले सुतेकै बेला राहदानी र टिकट समेत लिएर भागिसकेको उनले पत्तै पाएनन् ।

२४ घण्टा भोकभोकै ठमेलको गल्लीमा बिताएपछि अफ्रिकी रूपरङको एक युवकलाई भेटेर उनले विन्ती बिसाए । तिनै युवकले रु.२०० र शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगको कार्यालय (युएनएचसीआर) महाराजगञ्ज, काठमाडौंस्थित कार्यालयको ठेगाना दिए । युएनएचसीआर पुगेको दुई महीनापछि उनले शरणार्थी परिचयपत्र पाए ।

त्यसपछि शुरू भयो, कहिले नामै नसुनेको मुलुकमा गुजाराका लागि उनले गर्नुपरेको संघर्ष । राजधानीका सडकमा धेरैखाले मजदूरी गरेर उनले खाना, डेराभाडा र लत्ताकपडा जुटाए । भारी बोक्ने, भाँडा माझ्ने सबै काम गरे । र, अहिले पनि गरिरहेका छन् ।

जातीय दंगाले लुटेको जीवन
सोमालियाको सुड्डुर गाउँमा खाबोरका दाजुभाइ र दिदीबहिनी मात्र १२ जना थिए । आलु र जौ फल्ने खेत थियो । बाख्रा र गाईगोरु थिए । बाबुलाई पक्षघात भएकाले खेतबारीदेखि परिवारको भरणपोषणसम्मको हेरचाह आमा अनाव हासनले गर्थिन् ।

इथियोपियासँग सीमा जोडिएको गाउँमा जीवन भने सहज थिएन । एकातिर गुजाराकै समस्या, अर्कोतर्फ श्रमिक वर्गमाथि सत्तामा पहुँच हुनेहरूको अचाक्ली अत्याचार । किसानका छोराछोरी स्कूल जान पाउँदैनथे । कतिसम्म भने, माथिल्लो वर्गका केटाकेटीले खेलेको बल खाबोरको खुट्टामा पर्‍यो भने पिटाइ खाबोरले खानुपथ्र्यो । किनभने, उनी कथित तल्लो जात र वर्गका थिए ।

यस्तैमा एक दिन घरमा बन्दूकधारीको समूह आइपुग्यो र खेतको अन्न कब्जा गरेको घोषणा गर्‍यो । पक्षघातले थलिएका बाबुको टाउको उठ्दैनथ्यो, खाबोरका काकाले ‘किन ?’ भनेर सोधेलगत्तै गोली हानेर हत्या गरियो । खाबोरकी दिदी रुँदै भागिन् । तर, बन्दूकधारीले अरू सबैलाई घोप्टो परेर बस्न लगाए र दिदीलाई नजिकैको बारीमा पुर्‍याएर बलात्कार गरे ।

भोलिपल्ट १७ र १५ वर्षका भाइ र बहिनीसहित भागेर उनी राजधानी मोगादिसु गए । होटलमा भाँडा माझ्न थाले । झिसमिसेमै निस्केर राति मात्र फर्कने खाबोरले केही महीनापछि बहिनी झोक्राउन थालेको देखेपछि बुझ्दा थाहा पाए– माथिल्लो जातको एक युवकले बिहे गर्छु भन्दै लगातार यौनशोषण गरेर गर्भवती बनाएको रहेछ ।

बहिनीका लागि खाबोरले एक दिन ती युवकका अभिभावकसँग भेटेर बिहेको कुरा उठाए । तर, त्यो धनाढ्य घरका सबैले उनलाई सीधै धम्क्याए– ‘फेरि यस्तो कुरा गरे तिमीहरू तीनै जनालाई मारिदिन्छौं ।’

केही सातापछि, २०१० अप्रिलमा मोगादिसुमा जातीय दंगा भयो । खाबोर भाँडा माझिरहेको होटलबाट निस्कन सकेनन् । साँझ गोलाबारी सकिएपछि डेरामा पुग्दा भाइ र बहिनी थिएनन् । वरपरका धेरै जना हताहत भएका थिए । अवस्था यस्तो थियो कि उनले रुने फुर्सद पनि पाएनन् ।

रातारात भागेर छिमेकी देश केन्या हुँदै युगाण्डा पसे । “बाबु, आमा, दाजुभाइ र दिदीबहिनी सहित १३ जना शायद अब कोही पनि जिउँदै छैनन्” २८ वैशाख साँझ महाराजगञ्जको सडकमा काम गरेर फर्किरहेका यी सोमालियाली युवकले भने, “यहाँका मानिसहरू परिवारमा मिलेर बसेको देख्दा आफ्नो बाल्यकाल, आमाले पकाएको जौको रोटी, तात्तातो दाल र खेल्ने आँगन सम्झँदै रुन्छु ।”

काठमाडौं आएपछि खाबोरले आफूजस्तै केही सोमालियालीलाई भेटे । तीमध्ये आफ्नै आँखा अगाडि श्रीमान् र बाबुको हत्या भएपछि भागेर युगाण्डा पुगेकी र नेपल्स जान मानव तस्कारलाई १० हजार डलर बुझाएकी मरियान अब्दुल्ही पनि थिइन् ।

चार वर्षीया छोरी साथमै रहेकी अब्दुल्हीसँग खाबोरले बिहे गरे । “रुन र दुःख मान्न पनि फुर्सद चाहिन्छ, जुन हामीसँग छैन” खाबोर भन्छन्, “त्यसैले शहरका मान्छेहरू सुतेपछि हामी रुँदै रात विताउँछौं ।”

अब्दी रसिद (२७) को कथा पनि खाबोर अब्दुल्हीभन्दा कम कहालीलाग्दो छैन । सोमालियाको राजधानी मोगादिसुमा उनका तीन दिदीभाइ खेलेरै दिन बिताउँथे । स्कूल जान नपाए पनि पसलको कमाइले परिवार चलिरहेको थियो ।

जातीय दंगा फैलिएको एक बिहान तीन जना बन्दूकधारी आए । पसलमा भएका बुबालाई घाँटी रेटेर हत्या गरे, अनि आमा, दिदी र दाजुलाई आँगनमा पालैपालो गोली हानेर मारे ।

त्यो त्रासदको साक्षी बनेर ज्यान जोगाउन भाग्दै गरेका अब्दीलाई अलि पर बुबाका एक साथीले देखेर लुकाए र भोलिपल्ट अर्कै गाउँमा पुर्‍याए । २५ दिनपछि बुबाका तिनै पुस्तैनी घर र पसल सस्तैमा बेचिदिएर अब्दीलाई अष्ट्रेलिया लैजान्छु भन्ने एक मानव तस्करको साथ लगाए ।

तर, मोगादिसु अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका उनी दुबई हुँदै ३ मे २०१६ मा काठमाडौं आइपुगे । “त्यसले मलाई अष्ट्रेलिया यही हो भनेको थियो” अब्दी सम्झन्छन्, “अब होटलमा काम गर्नुपर्छ भन्दै होटलमा छिरायो ।” भोलिपल्ट होटलले निकालेपछि गल्लीमा रात काटेका उनले काठमाडौंमा युएनएचसीआरबाट शरणार्थी परिचयपत्र पाएका छन् ।

आफूभन्दा एक वर्ष पहिले नेपाल पसेकी सोमालियाकै सुदी अब्दी अमिनासँग बिहे गरेका उनको गुजारा गर्ने दैनिकी पनि कष्टकर छ ।

कहाँ जाने, के गर्ने
जातीय हिंसाले आक्रान्त अफ्रिकी मुलुक सोमालियाबाट ज्यान जोगाएर भागेका र मानव तस्करको जालोमा परेर नेपाल आइपुगेकाहरूको दुःखको कथा यतिमै रोकिने देखिन्न । नेपाल सरकारले उनीहरूलाई भिसाको विलम्ब शुल्क मिनाह गरेर नेपालबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

उनीहरू गृहयुद्ध कायमै रहेको मातृभूमि फर्कन चाहँदैनन् । अब्दी भन्छन्, “मैले आँखै अगाडि आमाबुबा, दाजु र दिदीहरू मारिएको देखें, अब यो बच्चालाई लिएर त्यही देशमा कसरी जाउँ !”

अब्दीका एकवर्षे छोराको एउटा मिर्गौला खराब भएपछि शल्यक्रिया गरेर फालिएको छ । थप उपचार र नियमित औषधिको लागि खर्च जुटाउन धौ–धौ छ ।

सरकारले गत फागुनमा अब्दी, खाबोर लगायत सबै सोमालियालीहरू नेपाल बस्दा भिसाको म्याद गुजारेर लागेको जरिवाना शुल्क मिनाहा गर्ने निर्णय गरेकाले तेस्रो देश जाने बाटो खुलेको छ । तर, उनीहरू कहाँ जाने, के गर्ने अन्योलमा छन् ।

सन् २०१० यता नेपाल आएका सोमालियालीको संख्या २७ पुगेको छ । नेपालले अवैध आप्रवासी मान्ने उनीहरूलाई कुनै राष्ट्रिय/अन्तर्राष्ट्रिय संस्थाले सहयोग गरेका छैनन् । अब्दी भन्छन्, “यहाँ मात्र होइन, हाम्रोबारे सोच्ने मान्छे कहीं पनि छ जस्तो लाग्दैन ।”

प्रतिकृया दिनुहोस