डब्लूडब्लूएफ नेपालद्वारा पुरस्कार तथा छात्रवृत्ति प्रदान
डब्लूडब्लूएफ नेपालले विभिन्न व्यक्ति तथा संस्थालाई संरक्षण पुरस्कार तथा स्मारक छात्रवृत्तिबाट सम्मान गरेको छ ।
आफ्नो २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा संरक्षणको क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई डब्लूडब्लूएफ नेपालले संरक्षण पुरस्कार तथा स्मारक छात्रवृत्तिबाट सम्मान गरेको हो ।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनीहरूलाई संरक्षण पुरस्कार तथा स्मारक छात्रवृत्तिबाट सम्मान गरिएको हो ।
जैविक विविधता संरक्षण सम्मानबाट सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल महोत्तरी र रानीबारी सामुदायिक वन उपभोक्ता समिति, तथा पाल्पाका माधवप्रसाद अर्याल, गोरखाका निमा लामा र दाङका उमाकान्त पन्तलाई डब्लूडब्लूएफ नेपाल संरक्षण पुरस्कार २०१९ प्रदान गरिएको छ ।
सोही कार्यक्रममा प्राकृतिक स्रोत व्यवस्थापन विषयमा उच्च तहमा अध्ययन गर्नका लागि सातजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरियो ।
मनोज न्यौपानेलाई चन्द्र गुरुङ स्मारक छात्रवृत्ति, प्रतिभा खत्रीलाई जिलियन बलिङ स्कलाइफर स्मारक छात्रवृत्ति, मनिषा कोइराला तथा सानु चौधरीलाई जेनिफर हेड्ली स्मारक छात्रवृत्ति, सञ्जु राउत, तथा तेम्बा गुरुङलाई नोर्बु शेर्पा स्मारक छात्रवृत्ति र सेनिवा नेम्बाङलाई डब्लूडब्लुएफ नेपाल संरक्षण स्मारक छात्रवृत्ति प्रदान गरिएको थियो ।
७ असोज २०६३ मा हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाउने २४ जना व्यक्तित्वलाई नेपालको प्राकृतिक सम्पदा संरक्षणप्रतिको प्रतिबद्धताको सम्मान स्वरूप सन् २००७ मा स्मारक छात्रवृत्ति स्थापना गरिएको थियो ।