कला/साहित्यआइतबार, ५ जेठ , २०७६

गलत ट्वीटले फसे फरहान

हिमालखबर

बलिउड अभिनेता, निर्देशक फरहान अख्तर यतिबेला एक ट्वीटलाई लिएर हाँसोका पात्र बनाइएका छन्।

फरहान अख्तर । तस्वीरः इण्डिया टिभी

अख्तरले आज बिहान ट्वीट गर्दै भोपालबाट भारतीय जनता पार्टीकी विवादस्पद उम्मेदवार साध्वी प्रज्ञा ठाकुरलाई मत नदिन नगरवासीलाई आग्रह गरेका थिए ।

महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेलाई राष्ट्रवादीलगायतका विभिन्न विवादले भरिएको अभिव्यक्ति दिदैं आएकी ठाकुर एक बम काण्डकी आरोपी समेत हुन् ।

अख्तरले तिनै ठाकुरलाई मत नदिन र भोपाललाई अर्को ग्यास काण्डबाट जोगाउन अनुरोध गरेका थिए । भारतमा सन् १८८४ मा भोपालस्थित एक ग्यास च्याम्बरमा भएको चुहावटका कारण कम्तिमा ३७८७ जनाको मृत्यु भएको थियो ।

तर, अख्तरको यो आग्रह एक सातापछि मात्र आएको छ । भोपालमा गत १२ मे मै निर्वाचन भइसकेको छ ।

आलोचकका दृष्टिमा अब्बल यी कलाकारबाटै लापरवाहीपूर्वक यस्तो ट्वीट आएपछि उनी ‘ट्रोल’को आक्रमणमा परेका छन् ।

एक जनाले त उनलाई २०२४ का लागि चाँडै ट्वीट गरेको भन्दैं जिस्क्याएका पनि छन् ।

दिउँसो ३ः३१ मा भने अख्तरले आफ्ना गीतकार बुबा जावेद अख्तरकै शैलीमा घुमाउरो हिसाबले गल्ती महशुस गरेका छन् । पुनः ट्वीट गर्दै अख्तरले लेखेका छन्–‘मैले तारिख गलत सम्झे, तपाईले घाँटी अठ्याउनुभयो । जसले इतिहास गलत सम्झे, तपाई अँगालो मारिरहनुभएको छ।’ – एजेन्सी

 

प्रतिकृया दिनुहोस