त्रिशूली नदीमा भएकाे दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो
आइतबार बिहान धादिङको गजुरी गाउँपालिका–६ को बन्छेटारमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँँदै गरेको ना७ख ४३८७ नम्बरको यात्रुबाहक बस गजुरी गाउँपालिका–६ स्थित बन्छेटारमा आइतबार बिहान सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको हो ।
इलाकाप्रहरी कार्यालय गुजुरीका अनुसार मृत्यु हुनेमा काठमाडौंको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरिका ३६ वर्षीय सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय विशाल गिरी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य रहेका छन् ।
मृत्यु भएका मध्ये प्रकाश श्रेष्ठ, शेखर मगर र उज्ज्वल पाण्डेको परिचय खुले पनि ठेगाना भने खुल्न सकेको छैन । यसैगरी अन्य एकजनाको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा २९ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएका २३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाइतेको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर आएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना, राजमार्ग उद्धारकर्मी, रेडक्रसकर्मी र स्थानीय वासीले घाइतेको उद्धार शुरु गरेका थिए ।
बस त्रिशूली नदीमा डुबेका कारण उद्धारमा कठिनाइ भएको थियो । दुर्घटना कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।
–सानुबाबु तिमिल्सिना