अनशनरत नर्सका माग पूरा गर : गोविन्द केसी
त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले अनशनरत नर्स जिता बराल र डिकी शेर्पाका माग पूरा गर्न सरकारसँग माग गरेका छन् ।
पेशागत सुधार र न्यायको माग गर्दै बराल र शेर्पा २७ वैशाखदेखि अनशनमा छन् ।
डा. केसीले आज एक विज्ञप्ति जारी गर्दै बिग्रंदो स्वास्थ्य अवस्था तथा सरकारले उनीहरुकाे मागप्रति देखाएको चरम असंवेदनशीलताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
“स्वास्थ्य सेवा प्रवाहमा अद्वितीय भूमिका हुने नर्सहरु चर्को श्रम शोषणमा पर्नु, पेशागत सुरक्षा नहुनु, पेशागत माग राख्दा अपमानित हुनु, बारम्बार जायज आवाजहरु उठाइरहँदा कतै पनि सुनुवाइ नहुनु तथा केही सीप नलागेर अनशनरत हुँदा समेत राज्य र सम्बन्धित निकाय संवेदनशील नहुनु हाम्रो समाजकै लागि लाजमर्दो कुरा हो ”, विज्ञप्तिमा भनिएको छ ।
हाल कायम स्वास्थ्यकर्मी र नर्ससँग जनसंख्या अनुपातलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम सुधार गर्दै लगेर स्वास्थ्य सेवामा भुई तहदेखि नै नागरिकहरुको पहुँच बढाउनु पर्ने उनको माग छ । डा. केसीले उत्पादित जनशक्तिको उपयुक्त रोजगारीका लागि राज्यले जिम्मेवारी लिनुपर्ने समेत बताएका छन् ।
“त्यसो गर्नुको सट्टा अहिले नै अन्यायमा परेका तथा चर्को बेथितिविरुद्ध आवाज उठाउने नर्सिङ अभियन्ताहरुको सुनुवाइ भइरहेको छैन”, उनले भनेका छन्, “स्वास्थ्य शिक्षाको अन्धाधुन्ध व्यापारीकरण रोकेर दीर्घकालीन योजनासहित आवश्यक मात्रामा गुणस्तरीय जनशक्ति उत्पादन गर्ने तथा स्वास्थ्य सेवालाई भुइँतहसम्म बिस्तार गर्दै उत्पादित जनशक्तिलाई आत्मसम्मानसहितको रोजगारीको व्यवस्था गर्न माग गर्दर्छौं ।”