समाचारआइतबार, ५ जेठ , २०७६

भारतमा आज अन्तिम चरणको निर्वाचन, मतगणना २३ मे देखि

रासस

भारतमा भइरहेको लोकसभाको निर्वाचन अन्तर्गत आइतबार अन्तिम तथा सातौँ चरणको मतदान भइरहेको छ ।

तस्वीर : बीबीसी

देशभरका सात प्रदेशका ५९ निर्वाचन क्षेत्रमा मतदान भइरहेको निर्वाचन आयोगका अधिकारीहरूले जानकारी दिएका छन् ।

आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९१८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । प्रधानमन्त्री मोदी उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार बनेका छन् ।

उनलाई भारतीय राष्ट्रिय कांग्रेसका अजय राय र समाजवादी पार्टीका शालिनी यादवले चुनौती दिएका छन् । यस चरणको निर्वाचनमा उत्तर प्रदेश र पञ्जावमा १३–१३ सिटका लागि मतदान भइरहेको छ भने पश्चिम बंगालका नौ सिटका लागि मतदान भइरहेको छ ।

त्यसैगरी बिहार र मध्यप्रदेशका आठ–आठ सिट, हिमाञ्चलका सबै चार सिट, झारखण्डका तीन सिटका लागि तथा केन्द्र शासित चण्डीगढको एक सिटमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आइतबार निर्वाचन सकिए पनि मतपरिणाम भने यही मे २३ तारिखदेखि मात्रै सार्वजनिक हुने जनाएको छ । भारतमा गत अप्रिल ११ देखि चरणबद्ध रूपमा लोकसभाको निर्वाचन भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस