त्रिशूलीमा बस खस्दा पाँच जनाको मृत्यु, २५ घाइते
झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।
ना ७ ख ४३८७ नम्बरको को बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
मृतक कसैको पनि सनाखत हुन सकेको छैन । मृतकमध्ये चार जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाँदैगर्दा मृत्यु भएको हो ।
दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेको गजुरी, आदमघाट र गल्छीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेकाे उद्धार गरेका थिए ।
दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन ।