नेविसंघ महाधिवेशन स्थलमा झडप र नाराबाजी
विवादका बीच शुरु भएको नेविसंघको ११ महाधिवेशनको बन्द सत्र शुरु हुनुअघि अधिवेशनस्थलमा झडप भएको छ ।
विभिन्न जिल्ला र क्याम्पसहरुमा रहेको प्रतिनिधि विवादका कारण हिजो हुनुपर्ने महाधिवेशनको बन्द सत्र आज दुई बजेदेखि हुने भनिएको छ ।
यद्यपी विधिसम्मत ढंगबाट प्रतिनिधि विवाद टुंग्याएर मात्रै बन्द सत्र शुरु हुनुपर्ने भन्दै नेविसंघका कार्यकर्ताहरुको एक समूह अहिले महाधिवेशनस्थल भृकुटीमण्डप बाहिर नारबाजी गरिरहेका छन् ।
नेविसंघ नेता एवम् अध्यक्षका दावेदार कुन्दन काफ्लेको समूह अहिले प्रदर्शनीमार्गमा नाराबाजी गरिरहेको छ । उक्त समूह महाधिवेशन स्थल प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको छ ।
यसक्रममा केही बेर प्रहरीसँग झडप र ढुंगा हानाहान पनि भएको थियो ।
काफ्ले समूहले विधिसम्मत महाधिवेशनको माग गर्दै अनशन बसिरहेका नेविसंघ कार्यकर्ताहरुको माग सम्बोधन गरी सबै विवाद टुंग्याएर मात्रै महाधिवेशन गर्नुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् ।
कपिल भट्ट