टिप्पणीशनिबार, ४ जेठ , २०७६

बुद्ध बन्ने प्रचण्ड–चाहना

वसन्त महर्जन

हिंसात्मक राजनीतिबाट शान्तिपथमा आए पनि विगतबाट नसिकेका र साधारण बौद्ध स्वभाव नै नभएका पुष्पकमल दाहालले बुद्ध बन्ने मोह पाल्नु विरोधाभास मात्र हो । 

वसन्त महर्जन

पार्टी एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल फुर्सदिला देखिएका छन् । तर, उनी विभिन्न प्रकरण र आफ्नै अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन् ।

आवश्यक परे सबै कुरा त्यागेर गौतम बुद्ध जस्तै बन्ने भनेर उनले वैशाख अन्तिम साता एक कार्यक्रममा दिएको अभिव्यक्ति पनि चर्चामा आयो । आफ्नो कुरालाई ठट्टाको रूपमा नलिन उनले आग्रह गरेका थिए, तर त्यसप्रति सामाजिक सञ्जालमा हल्काफुल्का टीका–टिप्पणी भए ।

दाहालले बुद्ध हुन सक्छु भनेपछि प्रायःले सम्झेकाे कुरा हो, उनको नेतृत्वमा भएको दशक लामो सशस्त्र द्वन्द्व । त्यो संवेदनशील कालखण्ड कति औचित्यपूर्ण वा निरर्थक थियो भन्नेबारे वर्षौं वर्ष बहस र छलफल भइरहला । तर, धेरैको जीवन नाशिएको, हजारौंको साथी, सहारा खोसिएको, कैयौंलाई अंगभंग तुल्याएको युद्धको घाउबाट उनले पाठ सिकेको छनक कतै देखिएको छैन । 

हिंसा र आपराधिक पृष्ठभूमिका व्यक्ति बौद्ध धर्मदर्शनमा लाग्नै सक्दैनन् भन्ने होइन । हिंसाकै चरणबाट उदाएका मौर्य सम्राट अशोक अन्ततः बुद्धको शरणमा गएका थिए । डाँकु अंगुलीमाल बुद्धबाट दीक्षित भिक्षु थिए । तर, नेता दाहालले विगतमा बुद्ध र बौद्ध विषयवस्तुमा दिएका अभिव्यक्ति र अहिले बुद्ध हुन्छु भन्ने कुरामा कुनै संगति छैन । बुद्ध हुने ‘गफ’ ले उनको वाक्पटु व्यक्तित्व मात्र झ्ल्काएको छ । 

बुद्ध के हो ?
सामान्य रूपमा इसापूर्व ५६३ मा लुम्बिनीमा मायादेवीको कोखबाट जन्मेका सिद्धार्थलाई पछि बुद्ध भनियो भनेर बुझ्एिको पाइन्छ । तर, बुद्ध कुनै व्यक्तिविशेषको नाम नभएर बोधि (ज्ञान) प्राप्त गर्नेलाई सम्बोधन गरिने विशेषण हो । गौतम बुद्धभन्दा अघि पनि यसरी नै बुद्ध बनेका २७ जनाको नाम उपलब्ध छ भने भविष्यमा पनि बुद्धहरू बन्छन् नै ।

प्राणीहरू दुःखमा पर्नुको मुख्य कारण लोभ, मोह जस्ता क्लेश हो भन्ने दार्शनिक अवधारणा बौद्ध दर्शनको छ । क्लेश हटाउन सके जन्म र मृत्युको चक्रबाट मुक्त भइन्छ भन्ने दार्शनिक पृष्ठभूमिमा टेकेर बौद्धहरू साधना गर्छन् । कुनै व्यक्तिले चाहना र केही मिहिनेत गर्दैमा बुद्ध हुन सकिंदैन । बौद्ध धर्मले पूर्वजन्मको शृंखलालाई मान्छ । पूर्वजन्ममा बोधिसत्व भई बोधिचर्याका क्रममा गर्नुपर्ने सम्पूर्ण पारमिता पूरा गरेर मात्रै बुद्धत्व लाभ हुन्छ ।

उसो भए जो–कोही मानिस बुद्ध हुन सक्दैन त भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ । मुख्य कुरा, बुद्ध बन्न सबैभन्दा पहिला बोधिसत्व हुनुपर्छ, जसले समस्त प्राणीको हितमा आफ्नो जीवन समर्पण गर्छ । बोधिसत्व हुन विशेष खालको क्षमता विकास गर्नुपर्छ । साधारण बौद्धहरूले दैनिक जीवनमा हत्या–हिंसा लगायतका नकारात्मक कुराबाट टाढिएर अघि बढ्नु नै बौद्ध जीवन हो । बुद्ध बन्नेसम्मको यस्तो लामो र कठिन यात्रालाई हल्काफुल्का रूपमा लिनु बुद्ध र बौद्ध धर्मलाई पटक्कै नबुझनु हो ।

बुद्ध बन्ने मोह
विभिन्न धर्मदर्शनका आ–आफ्नै सर्वोच्च लक्ष्य र आदर्शका पात्र हुन्छन् । हिन्दू धर्मको उद्देश्य आफ्नो आत्मालाई परमात्मासँग साक्षात्कार गराउनु अर्थात् ब्रह्मत्वमा लीन हुनु हो भने ईसाइ धर्मको उद्देश्य परमेश्वरको छेउमा पुग्नु हो । हिन्दू धर्मको आदर्श ईश्वर हो, तर मान्छे ईश्वर बन्न सक्दैन । इस्लामको आदर्श अल्लाह र अल्लाहको दूत पैगम्बर हो ।

नेकपा अध्यक्ष दाहालमा नाम र सम्मानको असाध्यै तृष्णा रहेको कुरा सशस्त्र युद्धको बेला प्रचारित ‘प्रचण्डपथ’ बाट पनि थाहा हुन्छ । उनले केही समय अघि आफूलाई पृथ्वीनारायण शाहसँग पनि तुलना गरेका थिए । उनमा रहेको सम्मानको मोह कार्यक्रमहरूमा जाँदा अनुहार नै छोपिने गरी मालाको खात लगाउनुले पनि देखाउँछ ।

मान्छे अल्लाह र पैगम्बर दुवै हुन सक्दैन । यी पद वा स्थानमाथि कसैले दाबी गर्न सक्दैन । तर, बौद्ध धर्ममा आफ्नो साधनाको बलमा स्वयं बुद्ध हुनसक्ने अवधारणा छ । यो गहन विषयलाई जथाभावी दुरुपयोग गर्नेहरू पनि नभएका होइनन् । धर्म–दर्शनको दुनियाँमा आफूले बुद्धत्व प्राप्त गरेको दाबी गर्नेहरूको कमी छैन । ओशो नामबाट चिनिने आचार्य रजनीशले पनि एक पटक आफूलाई बुद्ध घोषणा गरेका थिए ।

आफ्नो नेताको गुणगान गर्ने क्रममा पराकाष्ठामै पुगेर विभिन्न महान् विशेषण भिराउने प्रवृत्ति जहाँतहीं छ । कुनै सत्कर्म गरेको, केही कुरा त्याग गरेको वा दुई–चार मीठा वचन बोलेकै आधारमा भावुक भएर ‘बुद्ध पुरुष’ भनी तारिफको शिखरमा पुर्‍याउने गरिन्छ । एक समय चीनका नेता माओ त्से तुंगलाई पनि उनका अनुयायीले बुद्ध भन्न थालेका थिए ।

नेकपा अध्यक्ष दाहालमा नाम र सम्मानको असाध्यै तृष्णा रहेको कुरा सशस्त्र युद्धको बेला प्रचारित ‘प्रचण्डपथ’ बाट पनि थाहा हुन्छ । उनले केही समय अघि आफूलाई पृथ्वीनारायण शाहसँग पनि तुलना गरेका थिए । उनमा रहेको सम्मानको मोह कार्यक्रमहरूमा जाँदा अनुहार नै छोपिने गरी मालाको खात लगाउनुले पनि देखाउँछ ।

दाहालका समर्थकले उनलाई महान् क्रान्तिकारी, जनयुद्धका नायक आदि थुप्रै शब्दले सम्बोधन गर्छन् । तर, आजसम्म कसैले बुद्ध नभनिदिएकाले अबका दिनमा त्यो पनि भनियोस् भन्ने लालसा उनको हुनुपर्छ । व्यवहारमा भने उनीसँग साधारण बौद्ध हुने स्वभाव समेत छैन । 

प्रतिकृया दिनुहोस