‘दरबारको दुःखान्त’ यसै साता
१८ वर्षअघि भएको राजदरबार हत्याकाण्डका प्रत्यक्षदर्शी एक पूर्व सैन्य अधिकारीले आफ्नो वृत्तान्त सार्वजनिक गर्दै छन् ।
२०५८ जेठ १९ गते राति नारायणहिटीमा गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति रहेका तत्कालीन राजा वीरेन्द्रका प्रमुख शाही पार्श्ववर्ती (एडीसी) रहेका सुन्दरप्रताप रानाले उक्त हत्याकाण्ड र राजपरिवारसँग उनको सम्बन्धमा आधारित पुस्तक ‘दरबारको दुःखान्त’ यसै साता प्रकाशित गर्दैछन् ।
तत्कालीन राजा, रानी र युवराजका एडीसीका रूपमा दरबारमा १७ वर्ष बिताउँदाका अन्य थुप्रै अनुद्घाटित घटनाका साक्षी पनि हुन् राना । त्यससम्बन्धी हालसम्म बाहिर नआएका निकै महत्वपूर्ण र रोचक प्रसंगहरू यो पुस्तकमा पढ्ने उनले बताएका छन् ।
“राजदरबारमा अकल्पनीय हत्याकाण्ड भएयता १८ वर्ष मेरो जीवन एकखाले उकुसमुकुस र छटपटीबाट गुज्रियो,” एडीसी राना भन्छन्, “दरबारको दुःखान्त पुस्तक मेरो त्यही छटपटीको अवतरण हो ।”
कूल १९ अध्याय रहेको यो पुस्तकमा आफूले आँखैअगाडि देखेको जेठ १९ को घटना र त्यसपछिका दृश्यावलीको वर्णन उनले गरेका छन् ।
उनी भन्छन्, “बिलियर्ड हलको प्रलयकारी दृश्य, मेसिनगनको फायर हुँदाहुँदै राजालाई त्यहाँबाट निकाल्दाको क्षण, घाइते राजाको प्राण बचाउन दौडाउँदाको अवस्था र अस्पतालको कोलाहल मेरो आँखाभरि झलझली घुमिरहन्छ ।”
पुस्तक दरबार हत्याकाण्डको वरिपरि मात्र घुमेको छैन । तत्कालीन राजपरिवारका सदस्यको स्वभाव, शैली, राजा वीरेन्द्र, रानी ऐश्वर्य, छोरा दीपेन्द्र र राजाका भाइहरू ज्ञानेन्द्र–धीरेन्द्रसँगको सम्बन्धलगायत थुप्रै निजी प्रसंगहरू पनि पुस्तकमा समाविष्ट छन् ।
राजा वीरेन्द्रले महत्वपूर्ण राजनीतिक निर्णय लिंदाको मनोविज्ञान, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारीलगायत नेतासँगको व्यक्तिगत सम्बन्ध, भारतसँगको टकराव, चीनसँग हतियार विमानभेदी अस्त्र किन्दाको पृष्ठभूमि, राजदरबारको आन्तरिक समीकरण आदिबारे पनि पुस्तकमा पढ्न पाइनेछ ।
समग्रमा राजपरिवारको जीवन र अन्त्यको वृत्तान्त हो– ‘दरबारको दुःखान्त’, जसले नेपालको निकट इतिहास बुझ्न सघाउँछ । यो पुस्तक किताब पब्लिसर्सले प्रकाशन गरेको हो ।
–कल्पना ढकाल