नीति प्रतिष्ठानबाट मिश्रको राजीनामा, सामाजिक सञ्जालमा सरकारको आलोचना
सरकारको ‘थिङ्क ट्यांक’ नीति अनुसन्धान प्रतिष्ठानका संयोजक प्राध्यापक चैतन्य मिश्रले पदबाट राजीनामा दिएपछि सामाजिक सञ्जालमा सरकारको आलोचना भएको छ।
मुलुकको आर्थिक, राजनीतिक, सामाजिक र प्रशासनिक मामलामा नीतिगत सुधारको सुझाव दिन सात महीनाअघि नीति अनुसन्धान प्रतिष्ठान गठन गरिएको थियो ।
तीनवर्षे कार्यअवधि तोकेर गठन गरिएको प्रतिष्ठानमा लामो समयसम्म कर्मचारी र अनुसन्धाता नियुक्त गरिएको थिएन ।
गत फागुनबाट काम शुरु गरेको प्रतिष्ठानबाट आफ्नै कारणले राजीनामा दिएको मिश्रले बताएका छन्।
प्रतिष्ठानबाट मिश्रले राजीनामा दिएपछि सामाजिक सञ्जालमा सरकारप्रति असन्तुष्टि देखिएको छ । धेरैले सरकारकाे आलोचना गरेका छन् ।
राजनीतिक विश्लेषक एवं पूर्व मन्त्री देवेन्द्रराज पाण्डेले गतिला मान्छे यसरी पन्छिनुपर्ने बाध्यताबारे विचार गर्न प्रधानमन्त्रीलाई सुझाएका छन्।
ट्वीटरमा प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गरेर उनले लेखेका छन् “हाम्रो मुलुकको मूर्धन्य बौद्धिक, प्राज्ञिक चैतन्य मिश्रले नीति आयोगवाट राजीनामा गरेछन् । गतिला व्यक्ति यसरी पन्छनु पर्ने बाध्यता किन पर्याे, यसवारे विचार, उपचार गर्ने कि ‘हावाले बढ्यारो’ भनेर हाइसन्चो मान्ने ?”
पूर्वाधारविद् एवं साझा विवेकशील पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले प्रवुद्ध व्यक्तिलाई काम गर्न नदिने राजनीतिमा समृद्धिको नारा लगाएर जनतालाई भ्रममा पार्ने गरिएको टिप्पणी गरेका छन् ।
“गिरिजाको शासनमा कृष्ण खनाल टिकेनन्, डा. बाबुराम भट्टराईको शासनमा डा. पीताम्बर शर्मा टिकेनन् र केपी ओलीको शासनमा डा. चैतन्य मिश्र टिकेनन”, आचार्य भन्छन् “यस्ता विद्वान र प्रवुद्ध व्यक्तित्वलाई काम गर्न नदिने राजनीतिले अझैं समृद्धिको नाराले जनतालाई भ्रम पार्न छाडेको छैन ।”
मिश्रको राजीनामापछि यो सरकारले विज्ञहरुको कुरा सुन्दैन भन्ने कुराको पुष्टि भएको भन्दै कतिपयले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् ।
पूर्वराजदूत तथा राजनीतिक विश्लेषक प्राध्यापक विजयकान्त कर्णले सरकारसँग काम गर्न बुद्धिलाई बन्धकी राख्नुपर्ने टिप्पणी गरेका छन् । उनले लेखेका छन् “राजीनामा ठूलो कुरा होइन, उहाँले त्यो पद स्वीकार गरेकोमा आश्चर्य लागेको थियो । बुद्धिमाथि बिर्को लागेको सरकारसंग कसैले काम गर्न त बुद्धिलाई बन्धकी राख्नु पर्छ ।”
पत्रकार जनकराज सापकाेटाले विवेक भएकाहरुलाई मुलुकमा अडिएर काम गर्न सक्ने वातावरण नभएकाे धारणा राखेका छन्। "चैतन्य मिश्र सरको राजीनामाले दिने एउटै सन्देश हो, बिवेक, तर्क र बुद्धि भएकाहरूलाई यो मुलुकमा अडिएर काम गर्न सक्ने वातावरण छैन । विरक्तीको यो एउटा बलियो उदाहरण हो " उनले ट्वीटरमा लेखेका छन् ।
कोरियाबाट सन्तोष शर्माले लेखेका छन् “केपी ओली ज्यूको शासनमा विद्वान/प्रवुद्ध व्यक्तित्व प्रा.डा. चैतन्य मिश्र टिक्न नसक्नु अनि यस्ता व्यक्तिलाई काम गर्न नदिनु कस्तो विडम्बना ।”
पत्रकार कृष्ण शर्माले सरकारको ‘थिङ्क–ट्याङ्क’ गठनको ७ महिनामैं संयोजकले राजीनामा दिनु शुभ संकेत नभएको प्रतिक्रिया दिएका छन् ।
“गतिला मान्छे पनि टिक्न नसक्ने के भएको हो, दुःख लाग्यो”, उनले लेखेका छन् ।
यसलाई धेरैले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विज्ञका कुरा नसुन्ने प्रवृत्तिको पुर्नःपुष्टिका रुपमा लिएका छन् ।