लुम्बिनी भ्रमण वर्ष शुरु, सबै बौद्धमार्गीलाई लुम्बिनी घुम्न राष्ट्रपतिको निम्तो
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार लुम्बिनीमा बुद्धपूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष २०७६ शुरु भएको घोषणा गरेकी छन् ।
उनले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन उक्त कार्यक्रमा निम्तोसमेत दिएकी छन् । लुम्बिनीको विकासले प्रदेश नं ५ लाई समृद्ध बनाउने उल्लेख गर्दै उनले लुम्बिनीलाई विश्वशान्ति केन्द्र बनाउन लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु आवश्यक रहेको बताइन् ।
राष्ट्रपति भण्डारीले गुरुयोजना छिटो पूरा गर्न लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराइन् । उनले बुद्धस्थललाई जोडेर आन्तरिक पर्यटकीय परिपथ र बाह्य मुलुकसँग जोडेर बृहत पर्यटकीय परिपथ निर्माण गर्न सकिने भएकाले सरकारलाई ध्यान दिन आग्रह गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।
चरणबद्ध रूपमा लुम्बिनीलाई ध्यान र ज्ञान क्षेत्रका रूपमा विकास गरिने बताउँदै उनले विश्व समुदायसँग अन्तर्राष्ट्रिय सम्मेलन गर्नेबारे छलफल भइरहेको पनि बताए । प्रम ओलीले लुम्बिनी क्षेत्रको तीव्रतर विकासका लागि अन्तर्राष्ट्रिय समुदायको साथको आवश्यकता रहेको उल्लेख गरे ।
ओलीले बुद्धस्थल कपिलवस्तुको तिलौराकोटलगायत स्थललाई समानढंगबाट विकास गर्दै लैजाने प्रतिबद्धता जनाए ।
तिलौराकोटले विश्वसामु नयाँ तथ्य उजागर गरेकाले त्यसको विकास र प्रवर्धनका लागि नयाँढंगले योजना बनाउने बताए ।
कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय र प्रदेश सरकार मिलेर लुम्बिनीको विकास र प्रवर्द्धन गरिने बताए । बुद्ध जन्मस्थल लुम्बिनीको काम तीव्र गतिमा हुनुपर्ने उल्लेख गर्दै उनले अन्य बुद्धस्थलको समेत उत्खनन् र तथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए ।
प्रदेशका पर्यटनमन्त्री लीला गिरीले प्रदेश नं ५ सरकारले लुम्बिनी क्षेत्रको प्रवर्द्धनका लागि भ्रमण वर्ष घोषणा गरेको र यसले प्रदेश समृद्ध बन्ने आधार तयार पार्न सहयोग पुग्ने बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले अबको तीन वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुने र त्यसपछि लुम्बिनीको मुहार परिवर्तन हुने बताए ।