‘लुम्बिनी भ्रमण वर्ष २०७६’ शुरु , बुद्धमय रुपन्देहीका सडक
आजदेखि लुम्बिनी भ्रमणवर्ष २०७६ शुरुवात भएको छ ।
राष्ट्रपती विद्यादेवी भण्डारीले बुद्धजन्मस्थल लुम्बिनी पुगेर भ्रमणवर्षको शुरुवात गरिन् ।
प्रदेश ५ सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित भ्रमण वर्ष मनाउने निर्णय गरेको थियो ।
भ्रमणवर्षको शुरुवात गर्दै राष्ट्रपति भण्डारीले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमी लुम्बिनी घुम्न आउन निम्तो गरिन्।
लुम्बिनीको विकासले प्रदेश ५ लाई मात्र नभएर सिंगो देशलाई नै समृद्ध बनाउनका लागि सकारात्मक भूमिका निर्वाह गर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।
राष्ट्रपति भण्डारीले विश्वशान्तिको केन्द्र लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताइन् ।
स्थानीयको सहयोग र सहकार्यलाई सँगै लिएर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना छिटो पूरा गर्न ध्यानाकर्षण गराईन् ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले चरणवद्ध रुपमा कार्यक्रम सञ्चालन गर्ने बताए । “यसको विकासका लागि सरकार गहन ढंगले लागिरहेको छ, लुम्बिनीको कायापलट हुन्छ”, उनले भने।
प्रधानमन्त्रीले लुम्बिनीलाई ध्यान र ज्ञान क्षेत्रको रुपमा विकास गर्दै विश्वसमुदायसँग अन्तरराष्ट्रिय सम्मेलन गर्नेबारे छलफल भइरहेको बताए ।
बुद्धस्थलहरु कपिलवस्तुको तिलौराकोटलगायतका स्थलहरुलाई समान ढंगलाई विकास गर्दै लैजाने प्रधानमन्त्री ओलीको प्रतिवद्धता छ ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल सरकार र प्रदेश सरकारको साथले लुम्बिनीको विकास र विश्वव्यापी प्रवर्द्धन गर्ने बताए ।
उनले बुद्ध जन्मस्थल लुम्बिनीको काम तीब्र गतिमा हुनुपर्ने बताउँदै अन्य बुद्धस्थलहरुको समेत उत्खनन् र तथ्यहरु बाहिर ल्याउनुपर्ने बताए ।
भ्रमणवर्षलाई प्रभावकारी बनाउन लुम्बिनी पुग्ने सडकमा बुद्धका मूर्तिहरु राखेर आकर्षक बनाइएकाे छ ।
स्थलमार्ग हुँदै आउनेहरुलाई लुम्बिनीबारे झल्को दिन सीमा क्षेत्र बेलहिया र बुटवलदेखि लुम्बिनीसम्म बुद्ध मूर्ति राख्न शुरु गरिएको हो ।
मूर्ति राख्नका लागि रुपन्देहीका स्थानीय सरकारहरुले समन्वय गरेका छन् ।
तिलोत्तमा नगरपालिकाले बुटवलको योगीकुटीदेखि मणिग्रामसम्म सडकमा बुद्धमूर्ति राखेको छ । दुईसय मिटरको अन्तरमा २२ वटा मूर्ति राखेको तिलोत्तमाले बाँकीमा पनि राख्नेकाम धमाधम भइरहेकाे नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले बताईन् ।
त्यस्तै स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक आउने नाका बेलहियादेखि लुम्बिनीसम्म सिद्धार्थनगर नगरपालिकाले मूर्तिराखेर बुद्धमय बनाउन शुरु गरेकाे छ ।
शुरुमा दुईवटा मूर्ति राखेकाे सिद्धार्थनगरले एक महीनाभित्रै १० वट मूर्ति राख्ने नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीले बताए । उनका अनुसार एउटा मूर्तिकाे लागत ३ लाख ७५ हजार रुपैयाँ छ ।
पित्तलको धातुबाट बनेका मूर्तिहरुमा सुनको लेपन लगाएर आकर्षक बनाइएको छ ।
प्रदेश पाँचका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले पर्यटन क्षेत्रको विकासमा स्थानिय सरकारको प्रयास प्रशंसनिय रहेको बताए।
–विक्रम खड्का, बुटवल