सुविधा सम्पन्न नगर बसमा चढेर लुम्बिनी पुगे मुख्यमन्त्री
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सुविधा सम्पन्न नगर बस चढेर लुम्बिनी पुगेका छन् ।
रुपन्देहीमा नगरबसको रुपमा सुविधा सम्पन्न बससेवाको उद्घाटन गरेका मुख्यमन्त्री पोखरेल सोही बस चढेर लुम्बिनी पुगेका हुन् ।
भिजन लुम्बिनी लिमिटेडले लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर सुविधासम्पन्न बस सेवा सञ्चालन गरेको हो । एसी र वाइफाई जडित अपांगमैत्री बस ५२ सिट क्षमताका छन् । बसमा सीसीटीभी क्यामेरा समेत जडान गरिएको छ ।
दश करोड रुपैयाँको लगानीमा भित्र्याइएका १० वटा बस बुटवलबाट लुम्बिनी, भैरहवा, सुनौली, सेमलार, बर्दघाट लगायत क्षेत्रमा सञ्चालन हुनेछन् ।
रिबन काटेर बससेवा शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले यातायात क्षेत्र पर्यटकमैत्री बनाउन जरुरी रहेको बताए ।
उनले नेपालको पर्यटन क्षेत्रको विकासमा यातायातको महत्व धेरै भएको भन्दै नयाँ बसका कारण लुम्बिनी आउने पर्यटकलाई थप सहज हुने विश्वास व्यक्त गरे ।
गाडीमा मोबाइल रिचार्ज र टिकटको सेवा पनि उपलब्ध गराइने भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए । “यस क्षेत्रको ‘लोकल’ रूटमा यात्रा गर्ने यात्रुहरूले सानो माइक्रोमा खुट्टा खुम्च्याएर यात्रा गनुपर्ने छैन,” उनले भने ।
–विक्रम खड्का, बुटवल