डा.केसीको अवस्था गम्भीर, आज बिहान १० बजे वार्ता हुने
त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसी र सरकारी पक्षबीच आज फेरी वार्ता हुने भएको छ । १६ मंसिर राती शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षमा नपुगेपछि आज फेरी बस्ने गरी स्थगन गरिएको थियो ।
सरकारका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनीराम पौडेल, सचिवद्वय डा.सेनेन्द्रराज उप्रेती र शान्तबहादुर श्रेष्ठ लगायत तथा डा.केसीका तर्फबाट प्रा.डा. राजेन्द्रराज वाग्ले लगायत चिकित्सक वार्तामा रहेका थिए ।
आज बिहान १० बजे पुनः वार्तामा बस्ने जनाएको छ । डा.केसीतर्फका प्रा.डा. वाग्लेले प्रधानमन्त्री र अनशनरत डा.केसी दुवै जना अनशनस्थलमा आमनेसामने बसेर मात्र सम्झौता हुन सक्ने बताए । ।
त्रिविका उपकुलपति तीर्थराज खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन केशवप्रसाद सिंहको राजीनामाका विषयमा नै वार्ता केन्द्रित रहेको थियो ।
डा.केसी चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै दशौं पटक अनसलनमा बसेको आज २० औं दिन हो । यो अहिलेसम्मकै लामो अनसन हो । डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।