भारतीय समूहद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास
लागुपदार्थ ओसारपसार गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेपछि बाँकेको नरैनापुर क्षेत्र शुक्रबार रातभर तनावग्रस्त भएको छ । बाँकेको नरैनापुर क्षेत्र शुक्रबार रातभर तनावग्रस्त भएको छ ।
चौकी घेराउ गर्न आएको समूहबाट स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ६५ राउण्ड हवाई फायर गर्नुपरेको थियो ।
पाँच किलो चरेसहित पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाब दिँदै सो समूहले नरैनापुर गाउँपालिका ५ मा रहेको भगवानपुर प्रहरी चौकी घेराउ गरेको थियो । सो समूहले प्रदेश सांसद कृष्णा केसी ‘नमूना’सहितको टोलीमाथि पनि आक्रमण प्रयास गरेको थियो ।
भारतीय नागरिक देवीविन विश्वकर्मालाई सीमा क्षेत्र नरैनापुरबाट चरेससहित डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले साँझ पाँच बजेतिर पक्राउ गरेर ल्याएको थियो । विरोधमा भारतीय नागरिकको ठूलो समूह चौकी घेर्न आएको थियो ।
चौकी घेराउसँगै तोडफोड र ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ६५ राउण्ड हवाई फायर गर्नुपरेको थियो । प्रहरीले हवाई फायर गरेपछि सो समूह तितर–वितर भएको थियो ।
राति १२ बजेदेखि स्थिति नियन्त्रणमा आएको छ । यद्यपि थप घटना हुन सक्ने आशंकामा उच्च सतर्कता अपनाइएको छ ।
विश्वकर्मालाई नियन्त्रणमा लिएपछि मुचुल्का उठाउन गएको प्रहरी टोलीलाई भारतीय युवाको समूहले घेरा हालेको थियो । सो समूहले इलाका प्रहरी कार्यालय भगवानपुरको एउटा गाडी र मोटरसाइकल तोडफोड समेत गरेको छ ।
त्यहाँ प्रहरीको उपस्थिति कमजोर देखेपछि थप युवाको समूह बढ्दै गएर चौकी नै घेराउ गर्न आएको थियो । स्थिति गम्भीर बन्दै गएपछि नेपालगञ्जबाट सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीसमेत नरैनापुर प्रहरी चौकीलाई साथ दिन पुगेका थिए ।
गत साता भारतीय समूहले एक तस्करलाई नरैनापुर चौकीबाटै छुटाएर लगेका थिए । ‘शुक्रबार पनि त्यस्तै गर्ने उद्देश्यले सो समूह चौकी घेर्न आएको थियो ।
आफ्नो निर्वाचन क्षेत्रमा गएको बेला प्रदेश सांसद कृष्णा केसीको टोलीलाई समेत भारतीयको समूहले चार घण्टासम्म घेरा हालेर राखेको थियो । उनको गाडीमा आगजनीको प्रयाससमेत भएको थियो ।
सशस्त्र प्रहरीको सहयोगमा प्रहरीले कडा सुरक्षा दिएर सांसद केसीसहितको टोलीलाई उद्धार गरेको थियो ।