आज गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति गरेको दिन
आज गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति गरेको तिथी वैशाख पूर्णिमा । बुद्ध पूर्णिमाको रुपमा गौतम बुद्धप्रति आस्था प्रकट गरि मनाइँदैछ ।
बाैद्ध धर्मावलम्वीले गाैतम बुद्धलाई भगवानका रुपमा पुजागरी बुद्धपूर्णिमा मनाउँदैछन् ।
२५६३ वर्ष अघि इशापूर्व ५६३ मा तिलौराकोटका राजा शुद्धोधन र रानी मायादेविको सुपुत्रको रुपमा सिद्धार्थ गौतमको जन्म भएको थियो । मायादेवी आफ्नो माइती देवदह जाने क्रममा लुम्बिनीमा बुद्ध जन्मेका थिए ।
२९ वर्षको उमेरमा घरबार त्यागेर ज्ञानको खोजीमा निस्किएका निस्केका सिद्धार्थलाई ६ वर्षको तपस्यापछि वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्त भएको थियो । इशापूर्व ५२८ मा ३५ वर्षका सिद्धार्थलाई बुद्धत्व प्राप्ति भएपछि उनी बुद्धका रुपमा प्रसिद्ध भए ।
बुद्धले ३६ वर्षको उमेरमा पञ्चशीलको उपदेश दिएका थिए । चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु भन्ने बुद्धको उपदेश पञ्चशीलको उपदेशको रुपमा प्रशिद्ध छ ।
उनले संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषयमा पनि उपदेश दिएका थिए ।
त्यस्तै बुद्धले उपदेशमा रहेको आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पनि प्रशिद्ध छ ।
भारतकाे बोधगयामा बुद्धत्व प्राप्त गरी सारनाथमा पाँचजना भिक्षुलाई उपदेश दिएपछि उपदेशका कारणले छुट्टै बौद्ध धर्म मान्न थालिएकाे थियाे । बुद्धलाई भगवानका रुपमा पुज्ने बाैद्ध धर्म अहिले विश्वका प्रमुख धर्महरूमध्ये एक भएको छ।
आफू अर्कै धर्मावलम्बी भए पनि बुद्ध र बौद्ध धर्म मन पराउने र कुनै धर्ममा खासै चासो नराख्नेहरू पनि बौद्ध धर्मको मध्यममार्गले विश्वमा शान्ति र भाइचारा बढाउने ठान्दछन्।
एसियाका ताराका रुपमा सम्मान गरिने बुद्धको जन्म, ज्ञानप्राप्ती र महापरिनिर्वाण प्राप्तिको त्रिसंयोग बुद्धपूर्णिमाको अवसरमा विश्वभर विभिन्न कार्यक्रम गरिन्छ ।
बुद्धजन्मस्थल लुम्बिनी नेपालमै पर्ने भएकोले यस अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम गरिन्छ । यसका साथै बुद्धको क्रिडास्थल तिलौराकोट, कपिलवस्तु, बुद्धको अस्तु धातु रहेको रामग्राम, मावली देवदहलगायतका क्षेत्रहरु र बौद्ध गुम्बा, विहारहरुमा पनि बुद्धपूर्णिमा मनाईँदैछ ।
सरकारले बुद्धपूर्णिमाको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रम गर्दैछ । बुद्ध जन्मिएको २६ सय ४३ वर्ष पुगेको अवसरमा त्यति नै संख्यामा लुम्बिनी क्षेत्रमा हुने बृक्षरोपणको शुरुवात आज गरिँदै छ ।
बुद्धपूर्णिमाको अबसरमा लुम्बिनीमा हुने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, संघीय सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मन्त्रीहरु, बौद्धधर्मगुरुहरु, लगायत सहभागी हुने कार्यक्रम छ ।