‘अब गोठमै मर्न नपर्ने भाे’
- अच्युतराज भण्डारी
सुरक्षित प्रसूति सेवाको व्यवस्था नहुँदा मुगुको सोरु गाउँपालिका– ७ सिप गाउँकी ५५ वर्षीया धौली कामीले गोठमै ११ सन्तान जन्माइन् । नौजनाको मृत्यु भयो, जम्मा दुई छोरा बाँचे ।
तर अहिले सिप गाउँमा प्रसूतिगृह स्थापना भएको देखेर उनी हर्षका आँसु बगाउँछिन् । “छोरी–बुहारीहरू सुरक्षित सुत्केरी हुन पाउने भए”, उनी भन्छिन्, “हाम्रा दिनमा यस्तै सेवा सुविधा भएको भए यति धेरै सन्तान गोठैमा मर्ने थिएनन् ।”
महीनावारी हुँदा महीनाको ७ दिन र सुत्केरी हुँदा ३० दिन गोठैमा बसेर दिन बिताएको धौली सम्झन्छिन् ।
सोही वडाको बुम्च गाउँकी ६२ वर्षीया पुनिकला बिष्टको पीडा पनि उस्तै छ । गोठमा ६ बच्चा जन्माएकी पुनिकलाका चारजनामात्र जीवित छन् । “अबका छोरी, बुहारी, नातिनीलाई अकालै मर्न नपर्ने भयोे,” उनले भनिन् ।
ब्याक टु लाइफ इबी नेपालको आर्थिक सहयोग र कर्णाली गरीबी न्यूनीकरण तथा विकास मञ्चको सहजीकरणमा सोरु गाउँपालिका– ७ को सिप गाउँमा प्रसूतिगृह सञ्चालनमा आएको हो ।
वर्षौंदेखि यस क्षेत्रका महिलाले प्रसव पीडा भोग्दै आएकोमा अब सुरक्षित सुत्केरी सेवा दैलोमै प्राप्त गर्ने भएकोमा महिलाहरू खुसी छन् ।
गोठमा १० सन्तान जन्माएर चारजनामात्र बाँचेको बताउने सिप गाउँकी धनसरा विष्टले आफ्नो पालाको दुःख सम्झँदा भक्कानिन्छिन् । “हाम्रो पालामा पनि अस्पताल भएको भए ६ सन्तान मर्दैनथे”, उनी भन्छिन्, “अबका गर्भवती आमा र जन्मेका बच्चाको मृत्यु नहुने भयो ।”
१३ गाउँका गर्भवतीले सेवा पाउने
मुगुको विकट गाउँका महिलाहरूलाई यसअघिसम्म गोठमै सुत्केरी हुनुपर्ने अवस्था थियो । त्यसबेला धेरै आमा र बच्चाले ज्यान गुमाए पनि अब त्यो अवस्था नआउने मुगु क्षेत्र नम्बर (ख) का प्रदेशसभा सदस्य चन्द्रबहादुर शाहीले बताए ।
“कैयौ आमा तथा बच्चाले गोठमै ज्यान गुमाएको आफूले देखेको छु, तर अब यहाँका करीब १३ गाउँका महिलाले सुरक्षित प्रसूति सेवा पाउने छन्।” उनले भने ।
सोरु गाउँपालिका अन्तरगत पुरुमुरु, जिमा, बन्जा, ख्याल्च, बुम्च, सिरूपाटा, गोयलपानी, बाडुङ्ग्री, सिप, गिलाहा, रुम, नुवाकोट, कालै, सिड्डी, खनाया लगायत १३ गाउँका गर्भवती आमाले यस प्रसूतिगृहबाट सेवा लिन सक्नेछन् ।
रु ५१ लाख १० हजार ३ सय लागतमा निर्माण भएको उक्त प्रसूती गृहमा ३६ लाख ७३ हजारमा नौ कोठे पक्की भवन, ७ लाख ४२ हजारको सोलार सिस्टम, १ लाख ५० हजारको खानेपानी धारा र शौचालय निर्माण भएका छन् ।
उक्त भवनमा ३ लाख २५ हजारको स्वास्थ्य सामग्री र २ लाख १९ हजारको फर्निचर जडान गरिएको कर्णाली गरीबी न्यूनीकरण तथा विकास मञ्चका कार्यकारी निर्देशक शिवचन्द्र कार्कीले बताए ।
मुगुमा ब्याक टु लाइफ इबीले कर्णाली गरीबी न्यूनीकरण तथा विकास मञ्चको सहकार्यमा २ वटा, हेरेन्डेक मुगुको सहकार्यमा ८ वटा प्रसूतिगृह निर्माण गरिसकेको छ । २ वटा निर्माणाधीन अवस्थामा रहेको हेरेन्डेक मुगुले जनायो ।