टिप्पणीशुक्रबार, ३ जेठ , २०७६

मदन भण्डारीः नेकपाका ‘भाष्यकार’

सन्दर्भः २६ औं मदन -आश्रित स्मृति दिवस

विष्णु रिजाल

छोटो सार्वजनिक जीवन व्यतित गरे पनि आमजनका मनमनमा आजसम्म मदन भण्डारी जीवित रहनुमा प्रखर वक्तृत्वकला एक कारण हुनसक्छ तर त्योभन्दा धेरै महत्वपूर्ण चाहिँ कम्युनिष्ट आन्दोलनलाई दिशाहीनता र जडताबाट बाहिर निकाल्ने उहाँको पहलकदमी नै हो ।

तस्वीर स्रोतः मदन भण्डारी स्मृति प्रतिष्ठान

देशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शासन छ । अधिकांश निर्वाचित निकाय नेकपाकै नेता–कार्यकर्ताले भरिएका छन् । भुल्न नहुने र नसकिने तथ्य के हो भने शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिका माध्यमबाट नेकपाले आर्जन गरेको यस अभूतपूर्व जनविश्वासका पछाडि मदन भण्डारी हुनुहुन्छ ।

दासढुंगामा रहस्यमय दुर्घटनामा निधन भएको २६ वर्षपछि पनि भण्डारी नेपालको कम्युनिष्ट आन्दोलनमा उत्तिकै सान्दर्भिक, आवश्यक र अनिवार्य नेताका रूपमा स्मरण भइरहनुभएको छ ।

खासगरी दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर एक वर्षअघि आजकै दिन नेपाल कम्युनिष्ट पार्टी बनेपछि भण्डारीको वैचारिक नेतृत्वको ग्राह्यता र सर्वस्वीकार्यता थप प्रमाणित भएको छ ।

सिद्धान्तको ऐंठन
तर, सत्य यो पनि हो कि आजको नेकपा सिद्धान्तको सन्दर्भमा ऐंठनमा छ । पार्टी मदन भण्डारीले नै देखाएको जनताको बहुदलीय जनवाद (जबज)कै पथमा हिँडिरहेको त छ तर खुलेर त्यही कुरा भन्न सकिरहेको छैन । यसो भन्दा पूर्व माओवादी पक्षले अप्ठेरो मान्लान् कि भन्ने संशय छ ।

वास्तवमा मदनको सिद्धान्तको कुनै एक वा दुई विचार वा वादमा सीमित थिएन न त कुनै शब्दजाल । त्यो त विश्वव्यापी कम्युनिष्ट आन्दोलनभित्रको बहसमा एउटा साहसिक हस्तक्षेप थियो ।

जनताका बीचमा राजनीति गर्ने र निर्वाचनमार्फत जनताद्वारा निर्धारित स्थानमा बस्ने जबजको घोषणा कतिका लागि घोर ‘दक्षिणपन्थी’, ‘संशोधनवादी’ र ‘अवसरवादी’ पनि थियो । तर, त्यसलाई पर्वाह नगरी मदनले जुन हिम्मतका साथ नेपालको कम्युनिस्ट आन्दोलनलाई दिशा दिनुभयो, त्यसैको प्रतिफल हो आजको नेकपाले पाएको जनमत ।

सैद्धान्तिक रूपमा नेकपा मदन भण्डारीका अवधारणाबाट टाढा छैन । गतवर्ष पार्टी एकता हुँदा तत्कालीन एमालेले अंगीकार गर्दै आएको जबज र तत्कालीन माओवादीले अंगीकार गर्दै आएको माओवाद तथा एक्काइसौँ शताब्दीको जनवादलाई स्थगनमा राखे पनि सारतः मदनको विचारबाट पार्टी टाढा जान सक्ने अवस्था छैन ।

पार्टी एकताको घोषणापत्रमै उल्लेख छ, ‘नेकपा (एमाले) ले अवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गरिआएको एक्काइसौँ शताब्दीमा जनवादसम्बन्धी सैद्धान्तिक एवम् राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रूपमा अगाडि बढाइनेछ ।

यिनै वैचारिक मान्यताहरू अनुरूप प्राप्त उपलब्धिहरूको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक–आर्थिक रूपान्तरणमार्फत नेपालको संविधानमा उल्लिखित समाजवाद उन्मुख व्यवस्थाको प्राप्तिको दिशामा हामी अग्रसर रहनेछौँ । साथै, नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्दादेखिको समाजवाद स्थापनाको महान् लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न हामीहरू दृढरूपले प्रतिबद्ध रहनेछौँ ।’

जनताको बहुदलीय जनवादले अंगीकार गरेका सारभूत कुरालाई घोषणामा यसरी स्वीकार गरिएको छ, ‘शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्थालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्ध छ ।’

कम्युनिष्ट आन्दोलनका ‘प्राण’
मदनले लामो सार्वजनिक जीवन बिताउन पाउनुभएन । भूमिगत जीवन त्यागेर ०४७ सालको मध्यतिर सार्वजनिक हुनुभएका उहाँ साढे दुई वर्षमै ३ जेठ २०५० सालमै मारिनुभयो । यति छोटो अवधिमा पार्टी कार्यकर्तादेखि आम मानिस र अन्तर्राष्ट्रिय समुदायमा समेत उहाँले जुन छाप निर्माण गर्नुभयो, त्यही कारण आज पनि संकटका बेला मानिस सहज रूपमा उहाँको नाम उच्चारण गर्दछन् ।

सार्वजनिक ओहदाको कुरा गर्दा मदन जम्माजम्मी एक पटक ०४८ सालमा संसद् सदस्य निर्वाचित हुनुभयो । सार्वजनिक छवि निर्माणमा त्यही घटना नै उहाँको जीवनको ‘कोसेढुंगा’ सावित भयो । किनभने, आफ्नै पार्टीसमेत संलग्न अन्तरिम सरकारका प्रधानमन्त्री र ठूलो दलका सभापति कृष्णप्रसाद भट्टराईसँग चुनाव लड्ने उहाँको जोखिमपूर्ण फैसलाले जति तरंग ल्याएको थियो, काठमाडौंका दुवै क्षेत्रको सानदार विजयले उहाँलाई बेग्लै उचाइमा पुर्‍याइदियो ।

फलस्वरूप, मदन भण्डारी बरालिन लागेको कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय निर्वाचनको मार्गमा ल्याउने प्रमुख अभियन्ता मात्र सावित हुनुभएन, कम्युनिष्ट पार्टीलाई मुलुकको वैकल्पिक लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्ने भाष्यकार समेत बन्नुभयो ।

नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारी एकजना ‘पानी ढलो’ मानकका रूपमा स्थापित हुनुभएको छ । आज नेपालको कम्युनिस्ट आन्दोलनमा जति पनि बहस र छलफल हुन्छन्, ती मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको पक्षमा वा विपक्षमा केन्द्रित हुन्छन् । पुष्पलालले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेर जुन ऐतिहासिक काम गर्नुभएको थियो, त्यसमा परिवर्तित परिस्थितिमा प्राण भरेर जनताका बीचमा लैजाने काम निःसन्देह मदनले गर्नुभएको हो ।

पूर्वी यूरोपमा एकपछि अर्को गरी समाजवादले धक्का खाइरहेको र विश्वव्यापी रूपमा समाजवाद प्रतिरक्षात्मक अवस्थामा पुगेको बेला नेपालमा त्यसलाई कसरी बचाइराख्ने भन्ने जोखिम उच्च थियो ।

त्यस्तो कम्युनिष्ट पार्टीलाई खोपीको देउता बनाउने र खुल्ला प्रतिस्पर्धा जस्तो उच्च राजनीतिक प्रणालीलाई बुर्जुवाहरूको पोल्टामा एकलौटी छोडिदिने कुराले कम्युनिष्ट पार्टीलाई जनताबाट त अलग गर्दथ्यो नै, परिवर्तित परिस्थिति अनुरूपमा असान्दर्भिक समेत सावित गर्दथ्यो । यही मूल मान्यताबाट प्रेरित भएर मदनले जोखिमपूर्ण कदम उठाउनुभएको थियो, जसले नेपालमा कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय आन्दोलनका रूपमा स्थापित गर्नमा भूमिका निर्वाह गरिरहेको छ ।

सशस्त्र संघर्ष र अवैधानिक बाटोको कार्यनीतिमा हिंडिरहेको कम्युनिस्ट आन्दोलनलाई त्यसबाट बाहिर निकालेर जनताका बीचमा आफ्नो लोकप्रियता नाप्न लगाउने नेता मदन भण्डारी नै हुनुहुन्थ्यो । उहाँले त्यसलाई जबज नाम दिएर तात्कालिक कार्यक्रमका रूपमा सूत्रीकृत नगरेको भए अरु कैयौं मुलुकमा झैँ नेपालमा पनि कम्युनिष्ट आन्दोलन छिन्नभिन्न हुने खतरा थियो ।

जनताका बीचमा जाने, उनीहरूले विश्वास गरेमा नेतृत्व गर्ने, हारेमा प्रतिपक्षमा बस्ने जुन कार्यनीति उहाँले अघि सार्नुभयो, त्यसले ०४८ सालमा एमालेलाई प्रमुख प्रतिपक्ष अर्थात् वैकल्पिक शक्तिका रूपमा स्थापित ग¥यो भने ०५१ सालमा सरकारको नेतृत्व नै गर्ने अवस्थामा पु¥यायो ।

त्यसो त मदनले संसारमै कतै नभएको, बहस नै नभएको विचार अघि सार्नुभएको भने होइन । स्वयम् हाम्रो छिमेकी भारतको पश्चिम बंगालमा कम्युनिष्टहरूले निर्वाचन उपयोग गरेर सरकार बनाइसकेका थिए भने यूरोपेली मुलुकहरूमा पनि कम्युनिस्टहरूले संसद्को उपयोग गर्न थालिसकेका थिए ।

तर, त्यसले नेपालमा केही फरक पर्नेवाला थिएन । किनभने, कम्युनिष्ट आन्दोलनमा बहसका नाममा रहेका प्रशस्त जडता कायम थिए । अहिले पनि स्टालिनका कति प्रतिशत गल्ती थिए भन्नेबारेमा कतिपय कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीमा बहस हुने गर्दछन् ।

यस्तो बेलामा सशस्त्र संघर्ष भन्दै व्यक्ति हत्याको पृष्ठभूमिबाट अघि आएको कम्युनिष्ट पार्टीलाई एकैपटक प्रतिस्पर्धाको मैदानमा लैजानु चानचुने कुरा थिएन । त्यही गरेवापत नेपालको एकथरी कम्युनिष्ट धाराले उहाँमाथि संशोधनवादीदेखि प्रतिक्रियावादीसम्मका आरोप लगाउन बाँकी राखेन ।

नेकपा (माओवादी) ले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई ‘कुनै नीति, सिद्धान्त र विचार नभई कम्युनिष्ट आन्दोलनको पतनको सिद्धान्त भएको’ निष्कर्ष निकालेर ‘जनयुद्ध’को थालनी गरेको थियो । तर, १० वर्ष सशस्त्र युद्धपछि संसदीय अभ्यासमा सहभागी हुँदा मदन भण्डारीबाहेक माओवादीसँग अर्को आदर्श थिएन ।

राज्यसत्ता प्रतिक्रियावादी भयो, राजनीतिक दलहरूमाथि प्रतिबन्ध लाग्यो, जनतालाई कुनै अधिकार दिइएन र कम्युनिष्ट पार्टीले वैधानिक बाटोबाट काम गर्न पाएन भने त्यस्तो अवस्थामा हतियार उठाउने कुरालाई मदनले पनि अस्वीकार गर्नुभएको थिएन ।

तर, माओवादी जनयुद्ध त्यस्तो बेलामा शुरु भएको थियो, जतिबेला नेपालमा कम्युनिस्ट आन्दोलनप्रति ठूलो आकर्षण थियो र संसद्मा सबभन्दा ठूलो दलका रूपमा एमाले उपस्थित थियो । लोकप्रिय र जनमुखी काम गर्दागर्दै एमाले सरकारबाट हठात् हटाइएको थियो ।

तत्काल निर्वाचन भएमा एमालेले सहजताका साथ बहुमत ल्याउने पक्कापक्की भएपछि संविधानको अपव्याख्या गरेर तोकिएको निर्वाचन रोकिएको थियो । मुलुकमा सबैले आफ्ना विचार निर्वाध रूपमा राख्न पाउने, संघसंगठन गर्न पाउने संवैधानिक व्यवस्थासहित बहुदलीय व्यवस्था स्थापना भएको पाँच वर्ष मात्रै भएको थियो ।

आज नेकपा जहाँ छ, त्यसको बाटो मुलुकमा बहुदलीय व्यवस्था आउनुभन्दा अघि भदौ ०४६ मा आयोजित तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनमै मदनले खन्नुभएको हो ।

जडता र विरोधाभाषविरुद्ध
छोटो सार्वजनिक जीवन व्यतित गरे पनि मदन भण्डारी आम मानिसका मनमनमा जीवित रहनुमा उहाँको प्रभावकारी वक्तृत्वकला एउटा कारण होला तर प्रमुख कारण चाँहि उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई दिशाहीनता र जडताबाट बाहिर निकाल्नु नै हो ।

चीनपन्थी कि रुसपन्थी भन्दै आफैँभित्र अनावश्यक विवादमा रुमल्लिन बानी परेका अनि दस्तावेजमा सीमित रहेको कम्युनिष्ट आन्दोलनलाई जनताको भरपर्दो शक्ति बनाउने कुरा यत्तिकै सम्भव थिएन । त्यसका लागि २४–२५ वर्ष उमेर समूहका युवाले खोलेको नेकपा (माले) मात्रै पर्याप्त थिएन ।

मदन कतिसम्म दूरदर्शी हुनुहुन्थ्यो भन्ने कुरा त नेकपा (माक्र्सवादी) सँगको एकीकरणले पनि बताउँछ । मालेसँग संगठन थियो तर सार्वजनिक छवि भएका नेता थिएनन्, अनि माक्र्सवादीसँग मनमोहन अधिकारी, साहना प्रधान, भरतमोहन अधिकारी जस्ता सार्वजनिक छवि भएका नेता थिए, तर संगठन थिएन ।

कत्ति पनि अप्ठेरो नमानेर मदन भण्डारीले मनमोहन अधिकारीलाई आफ्नो औपचारिक नेता मात्र बनाउनुभएन, कहिल्यै पनि हामी फरक पार्टीबाट आएका मानिस हौँ भन्ने अनुभूति हुन दिनुभएन । फलस्वरूप त्यो पार्टी एकताको ऊर्जाले एमालेलाई बेग्लै आकर्षणको केन्द्र बनाउन सफल भयो ।

जनताका कान ठाडा हुने गरी मदन भण्डारीको तिख्खर आवाजमा गुञ्जिएको राष्ट्रियताको गुञ्जन सायदै कुनै नेपालीले भुल्न सक्ला । टनकपुर सम्झौताका नाममा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको सन्धिका विरुद्ध सम्झौताहीन रूपमा उभिएर मदन भण्डारीले नेपाली जनतामा अभूतपूर्व राष्ट्रिय भावना जागृत गराउनुभएको थियो ।

जे गर्ने हो, बिना हिच्किचाहट र प्रष्टसँग भन्ने स्वभाव नै वास्तवमा उहाँप्रति अरु नेता–कार्यकर्ताको विश्वास र आकर्षणको कारण बनेको पाइन्छ ।

कम्युनिष्ट आन्दोलनभित्र ‘संसद्वाद’ वा ‘संसद्मुखी’ भन्ने शब्दलाई नकारात्मक र ‘जातच्युत’ भएको रूपमा बुझिन्छ । एकपटक कुनै पत्रकारले उहाँलाई ‘तपाईं संसद्‌मुखी हुनुभयो नि ?’ भनेर सोध्दा उहाँको स्पष्ट जवाफ थियो, ‘हो हाम्रो मुख संसद्तिर फर्केको छ । संसद्बाट जनताको समस्या समाधान हुन्छन् भन्ने ठानेर हामी संसद्‌मा गइरहेका छौँ । अनि संसद्तिर हिँड्दा मुख पछाडि फर्काउने कुरा भएन ।’  

थाहा छैन, आजका नेताले जे गरिरहेका छन्, हिम्मतका साथ त्यो कुरा रक्षा गर्न सक्छन् कि सक्दैनन् !

युगद्रष्टा जननेता मदन भण्डारीमा हार्दिक श्रद्धाञ्जलि !

 

प्रतिकृया दिनुहोस