जबज छाड्दैनौंः अध्यक्ष ओली
जननेता मदन भण्डारीले अगाडि सारेको विचारधारालाई एकीकृत पार्टीले छाड्न नमिल्ने प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
जननेता भण्डारीले अगाडि सारेको विचारधारालाई एकीकृत पार्टीले छाड्न नमिल्ने भण्डारीले हिजो भनेका कुरामात्र अन्तिम नभएको पनि उनले बताएका छन् ।
२६ औं मदन आश्रित स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित स्मृतिसभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीको विचारमात्र बोकेर बस्ने कि अघि बढ्ने भन्ने प्रश्न गरेका थिए ।
अर्का अध्यक्ष ओलीले भण्डारीको विचार छाड्न नमिल्ने जवाफ दिएका छन् । “अध्यक्ष कमरेड प्रचण्डले भने जस्तै जबजलाई सूत्रको रूपमा घोक्ने, कण्ठ गर्ने वा मदनले हिजो जे भन्नुभयो, त्यहीमात्र अन्तिम होइन । हामी उहाँको विचारलाई मार्गदर्शक सिद्धान्तका रूपमा समयानुकूल ढंगले सिर्जनात्मक प्रयोग गर्छौं”, अध्यक्ष ओलीले भने ।
ओलीले भने, “जननेता भण्डारीले अघि सारेको विचारधारालाई हाम्रो पार्टीले छाड्दैन र छाड्नै मिल्दैन ।”
दुवै अध्यक्षको बयानसँगै जबजबारे बहस फेरि शुरु भएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले गरेका कामबारे चर्चा गर्नमै धेरै समय खर्चिएका थिए । ओलीले पार्टी एकजुट भएर विपक्षीले समाजमा फैलाएको भ्रम हटाउन लाग्नुपर्ने बताएका थिए । उनले सरकारको विरोध गर्ने नाममा जनतामा निराशामा बाँड्ने र समाजमा अराजकता फैलाउने प्रयास भइरहेको बताए ।
ओलीले गणतान्त्रिक संस्था र पद्धति विरुद्धका प्रचारबाजी विरुद्ध पार्टी उभिनुपर्ने बताएका छन् । राष्ट्रपति, उपराष्ट्रपतिको विरोधलाई गणतान्त्रिक पद्धतिको विरोध भइरहेको हो भनेर बुझ्नुपर्ने ओलीले बताए ।
सरकारको नीति तथा कार्यक्रममा आलोचना गर्ने ठाउँ नभएपछि कांग्रेस र केही बुद्धिजीवीले ‘मेरो सरकार’ राष्ट्रपतिको भनाइलाई मुद्दा बनाएको बताए । संसारमा नै राष्ट्रपति वा राष्ट्रप्रमुखले आफ्नो सरकारको वक्तव्य पढ्दा ‘मेरो सरकार’ नै भन्ने गरेको बताए ।
“राष्ट्रपतिले आफ्नो सरकारको प्रतिवेदन नपढेर कसको प्रतिवेदन पढ्छ ? ‘मेरो सरकार’ को होइन भने कसको सरकारको नीति कार्यक्रम पढ्ने ? यस्ता स्याल हुइँयामा देशको जेठो भनिएको पार्टी कांग्रेस त लाग्यो, केही बुद्धिजीवीसमेत लागेको देख्दा अचम्म लाग्यो”, ओलीले भने ।
ओलीले पार्टी एकीकरणको प्रक्रिया लगभग सकिएको बताउँदै पार्टी सरकारको नीतिको रक्षामा उभिनुपर्ने बताए । नेकपाको बहुमत नपचेकाहरूले समाजमा स्वतन्त्रताको नाममा अराजकता सिर्जना गर्न खोजिरहेको बताए ।
प्रधानमन्त्री ओलीले अहिले दुई तिहाइ अलिकति नपुगेकाले अर्कोपटक नेकपाले एकल रूपमा दुई तिहाइ ल्याउने पनि बताए ।
उनले मिडिया र सामाजिक सञ्जालमा अराजकतालाई स्वतन्त्रताको परिभाषाभित्र पार्न जबर्जस्त प्रयास भइरहेको बताए । नागरिकका कर्तव्य संविधानले प्रष्ट पारेको पनि ओलीले उक्त अवसरमा बताएका थिए ।
२०४७ सालदेखि विभिन्न व्यक्तिले कब्जा गरेर राखेको बालुवाटारको जग्गा फिर्ता सरकारले फिर्ता ल्याउन खोज्दा सरकारकै आलोचना भएको भन्दै उनले दुःखसमेत व्यक्त गरेका थिए ।