समाचारबिहिबार, २ जेठ , २०७६

रारामा पहिलोपटक प्रदेशस्तरीय म्याराथन दौड हुने

हिमालखबर

–अच्युत राज भण्डारी

कर्णाली प्रदेशकै मुख्य पर्यटकीय स्थल रारा तालमा पहिलो पटक प्रदेशस्तरीय म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।

 तस्वीर : अच्युत राज भण्डारी

 रारा ट्राइल रन २०७६ नाम राखिएको उक्त दौड प्रतियोगिता आउँदो ८ जेठमा बिहान ७ बजे सञ्चालन गरिने भएको छ ।

खेलकुद मार्फत राष्ट्रिय प्रतिष्ठा र गौरव अभिवृद्धि हुने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडी वृद्धि गर्ने उद्देश्यका साथ नेपाली सेनाले रारामा प्रदेशस्तरीय दौड प्रतियोगिताको आयोजना गरेको हो ।

८ जेठ अर्थात विश्व जैविक विविधता दिवसको समारोहमा रारा ताल क्षेत्र संरक्षण, खेलाडीमा उत्साह थप्न र रारालाई खेलकुद पर्यटनमा विकास गर्न कार्यक्रमको आयोजना गरिएको श्रीदल गुल्म राराले जनायो ।

उक्त दौडमा सहभागी खेलाडीले रारा ताल वरिपरि एक फन्को लगाएर १५ किमी दूरी पार गर्नुपर्ने छ । दौड प्रतियोगितामा कर्णाली प्रदेशका १० वटा जिल्लाबाट १\१ जना रहने छन् । सेनाका पश्चिम पृतना हेटक्वार्टरका हरेक युनिटबाट २\३ जना, अन्य पृतनाका हरेक जिल्लाबाट २\३ जना रहने छन् ।

यसैगरी त्रिभुवन आर्मी क्लबबाट २\३ जना, अन्य सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट हरेक जिल्लाका २\२ जना खेलाडीको सहभागिता रहनेछ ।

 

रारा वरिपरि घुम्न नसक्नेलाई मनोरञ्जनका लागि ३ किलोमिटर दूरी दौडमा सहभागी गराइने छ । ताल क्षेत्रको १५ किमी पार गरेर प्रथम हुने खेलाडीलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार पुरस्कार र प्रमाणपत्र, मेडल र ट्रफीको समेत व्यवस्था गरिएको श्रीदल गुल्म राराका गुल्मपति सेनानी रवि केसीले जानकारी गराए ।

अन्य सहभागी खेलाडीलाई समेत प्रमाणपत्रको व्यवस्था गरिएको उनको भनाइ छ । खेलमा पुरुष खेलाडी मात्रै सहभागी हुनेछन् । भने खेलाडी संख्या १ सयजना हुने अनुमान गरिएको उनले बताए ।

खेलाडीलाई खान बस्ने व्यवस्था नेपाली सेना, पुलिस र सशस्त्र पुलिसका खेलाडीको श्रीदल गुल्म राराले गर्ने छ । भने अन्य खेलाडीका लागि जिल्ला खेलकुद विकास शाखा मुगुले गर्ने भएको छ ।

प्रतियोगितामा सहभागी हुने खेलाडी ४, ५ दिन अगाडि आइसक्नुपर्ने र ६ जेठमा श्रीदल गुल्मको कार्यालय रारामा सम्पर्क गर्नुपर्ने गुल्मपति केसीले बताए ।

सहभागी खेलाडीको स्वास्थ्य जाँच तथा औषधि उपचारका लागि २\३ ठाउँमा जिल्ला स्वास्थ्य र नेपाली सेनाका चिकित्सकको टोली र औषधिको व्यवस्था गरिएको सेनानी केसीले बताए ।

आउने वर्षमा हाफ म्याराथन २१.१ किमीको दौड सञ्चालन गरिने र महिला खेलाडी र विदेशी पर्यटकलाई समेत सहभागी गराउने उद्देश्य रहेको सेनाले बतायो ।

 



प्रतिकृया दिनुहोस